स्वास्थ्य व्यवसायी महासंघको १९औं महाधिवेशन सम्पन्न
काठमाडौं : वैदेशिक रोजगारीमा जाने श्रमिकको गुणस्तरीय बायोमेडिकल स्वास्थ्य परीक्षण गर्न स्थापित स्वास्थ्य संस्थाहरूको छाता संगठन नेपाल स्वास्थ्य व्यवसायी महासंघको १९औं महाधिवेशन सोमबार काठमाडौंमा सम्पन्न भयो।
महाधिवेशनले कैलाश खड्काको अध्यक्षतामा सर्वसम्मत रुपमा १४ सदस्यीय कार्यसमिति चयन गर्यो। कार्यसमितिको वरिष्ठ उपाध्यक्ष महेशराज श्रेष्ठ, प्रथम उपाध्यक्ष गायत्री जिसी, द्धितीय उपाध्यक्ष धनबहादुर गिरी, महासचिव दाताराम काफ्ले, सचिव लिलाम्वर झा, कोषाध्यक्ष रामपुकार तिवारी रहेका छन्।
त्यस्तै केन्द्रीय सदस्यहरुमा चन्द्रमा राई, प्रवेश रोक्का क्षेत्री, दीपककुमार कार्की, वेलबहादुर श्रेष्ठ, केशर थापा, रोजिना शाक्य र रामप्रसाद लम्साल रहेका छन्।
महाधिवेशनको वन्द सत्रमा पेश गरिएको प्रगति र आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित भयो। महाधिवेशनले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परिक्षणको गुणस्तरीयलाई सुनिश्चित गर्न गन्तब्य देश मलेसिया र नेपाल सरकारले स्वास्थ्य परिक्षण सम्बन्धी लिइएको नीति, ऐन, नियमवाली र कार्यबिधिलाई पुर्ण रुपमा पालना गर्ने निर्णय गरेको छ।
वन्द सत्रले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्धारा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहको नेतृत्वमा गठित वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण कार्यको सुधारका लागि बिशेषज्ञ अध्ययन कार्यदलको प्रतिवेदनलाई स्वागत गर्दै यसको कार्यान्वयन गर्न सरकारलाई सुझाब दिएको छ।
महाधिवेशनको उद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा गएका श्रमिकलाई हिट स्ट्रेस, मृगौला फेल लगायत रोगबाट जोगाउन सरकारले प्रभावकारी स्वास्थ्य परिक्षणमा ध्यान दिइएको बताए।
‘श्रमिकको गुणस्तरीय स्वास्थ्य परिक्षणलाई सुनिश्चित गर्दै श्रमिकको स्वास्थ विवरणलाई डिजिटलाइज गर्ने योजनामा सरकार छ,’ उनले भने, ‘सरकारबाट सुचीकृत भएका स्वास्थ्य संस्थाहरूलाई अन्तर्राष्ट्रिय स्तरको मापदण्ड अनुसार स्तरीकृत गरि सबै देशको लागि एकरुपता वनाउन सरकारले एकद्धार प्रणाली बनाइनेछ।’
नवनिर्वाचित अध्यक्ष खड्काले मलेसिया जाने श्रमिकको मेडिकल फिट सम्बन्धी रिपोर्ट शतप्रतिशत गुणस्तरीय बनाउने अभियान जारी रहेको बताए।
‘महासंघको सदस्य बन्नुभएको सबै स्वास्थ्य संस्थाहरूले अन्तर्राष्ट्रिय स्तरको मापदण्डलाई पूर्ण रूपमा अनुसरण गर्दै आइरहेको विदितै छ। समय समयमा सरकारी निकायबाट भइरहेको अनुगमनबाट पनि यसको पुष्टि हुदै आएको हो,’ उनले भने, ‘कोही कसैलाई श्रमिकको स्वास्थ्यमा खेलवाड गर्ने छुट छैन। हामी हाम्रो व्यावसायिक आचारसंहितालाई उच्च मनोवलका साथ प्रर्दशन गर्न कुनै कसुर वाँकी राख्दैनौं।’
मंसिर २५, २०८१ मंगलबार ११:४१:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।