भुटानी शरणार्थीको समाचार लेखेका दाहाललाई अमेरिकी सरकारले दियो ‘एन्टी करप्सन च्याम्पियन अवार्ड’
काठमाडौं : अमेरिकी सरकारले स्थापना गरेको भ्रष्टाचार विरुद्धको ‘एन्टी करप्सन च्याम्पियन अवार्ड’ पत्रकार मातृका दाहालले प्राप्त गरेका छन्।
अमेरिकी विदेश मन्त्रालयमा आयोजित एक कार्यक्रममा विदेश मन्त्री एन्टोनी जे व्लिन्कनले पत्रकार दाहाललाई ‘एन्टी करप्सन च्याम्पियन अवार्ड’ प्रदान गरेका हुन्।
अमेरिकी राष्ट्रपतिमा निर्वाचित भइसकेपछि सन् २०२१ मा जो वाइडेन प्रशासनले विश्वभर च्रष्टाचार विरुद्धको अभियानलाई सशक्त पार्न र संसारभर सुशासन कायम गर्ने लक्ष्यका साथ विभिन्न पेसा व्यवसायमा रहेर उत्कृष्ट काम गर्नेलाई सम्मान गर्न यो अवार्ड विदेश मन्त्रालय मार्फत प्रदान गर्ने गरी स्थापना गरेका थिए।
सोही अन्तर्गत सन् २०२४ का लागि अमेरिकी विदेश मन्त्रालयले कान्तिपुर दैनिकका पत्रकार दाहाललाई यो अवार्ड प्रदान गरेको हो।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको अपराधसहित भ्रष्टाचारका समाचार सम्प्रेषण गरेका पत्रकार दाहालले भ्रष्टाचार विरुद्ध साहसिक काम गरेको अवार्डमा उल्लेख छ।
दाहालसहित सन् २०२४ का लागि यो अवार्ड अन्य मुलुकका ९ जनालाई पनि प्रदान गरिएको छ।
मंसिर २५, २०८१ मंगलबार ११:२८:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।