खरिदमा बदनाम डा. मरासिनी र चौरासियालाई मन्त्री पौडेलले हटाए

खरिदमा बदनाम डा. मरासिनी र चौरासियालाई मन्त्री पौडेलले हटाए

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले खरिद विवादमा बदनाम राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा. रुद्रप्रसाद मरासिनी र स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको आपूर्ति व्यवस्थापन शाखा (खरिद इकाई)का प्रमुख डा. सुरेन्द्र चौरासियालाई हटाएका छन्।

सोमबार मन्त्री पौडेलले डा. मरासिनीलाई हटाउँदै ट्रमा सेन्टरको प्रमुखको जिम्मेवारी डा. बद्री रिजाललाई दिएका छन्। डा. रिजाल दोस्रो पटक ट्रमा सेन्टरको प्रमुख बनेका हुन्। डा. मरासिनीलाई निर्देशकबाट मात्रै हटाएर ट्रमामा नै कार्यस्थल तोकिएको छ।

चौरासियालाई हटाउँदै विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको आपूर्ति व्यवस्थापन शाखा (खरिद इकाई)को प्रमुखको जिम्मेवारी दयाकृष्ण पन्तलाई दिइएको छ। पन्त स्वास्थ्य मन्त्रालयमा नै कार्यरत थिए। चौरासियालाई विभाग अन्तर्गतकै नर्सिङ महाशाखामा सरुवा गरिएको मन्त्रालय स्रोतले जनाएको छ।

यस्तै, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको नर्सिङ प्रमुखबाट बन्दना थापालाई हटाउँदै मन्त्री पौडेलले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत रोशनी देवी तुइतुईलाई नर्सिङ प्रमुखको जिम्मेवारी दिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ।

डा. मरासिनी र चौरासिया दुवै खरिद सेटिङ किङको रूपमा परिचित बदनाम कर्मचारी हुन्। डा. मरासिनी स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको निर्देशक हुँदा चरम खरिद सेटिङ विवादमा मुछिएका कर्मचारी हुन्। डा. मरासिनी ट्रमा सेन्टरको दुई पटक निर्देशक हुँदा समेत एमआरआई, मोडुलर ओटी लगायतका खरिदमा चरम विवादित भएका चिकित्सक हुन्।

डा. चौरासिया लामो समयदेखि स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको आपूर्ति व्यवस्थापन शाखा (खरिद इकाई)को प्रमुखमा दरबन्दी विपरीत टिकिरहन सफल थिए।

सङ्गठन संरचना (अर्गानोग्राम) अनुसार स्वास्थ्य सेवाको हेई, नवौं–दशौं तहको वरिष्ठ जनस्वास्थ्य प्रशासक आपूर्ति व्यवस्थापन शाखाको प्रमुख बन्ने नियम छ। तर, उनी दरबन्दी नै नभएको ठाउँमा लामो समयदेखि बसिरहेका थिए।

व्यवस्थापन महाशाखाकै आपूर्ति व्यवस्थापन शाखामा दिपक अधिकारी समेत लामो समयदेखि सेटिङ अनुसारको टेण्डर कागजात बनाउन माहिर कर्मचारीका रूपमा चिनिँदै आएका छन्।

विभागका स्थायी बायोमेडिकल इन्जिनियर आशिस चौहान र करारकी बायोमेडिकल इन्जिनियर पद्मा मिश्रा सेटिङ अनुसारको प्राविधिक स्पेशिफिकेशन लक्ड गरेर चाहेकै सप्लायर्सलाई टेण्डर पारिदिन सहजीकरण गरिदिने माहिर र बदनाम खेलाडी हुन्।

उता कान्ति बाल अस्पतालमा रि–एजेन्ट खरिदमा सेटिङमा मुछिएका निर्देशक डा. पंकज रायलाई भने मन्त्री पौडेलले हटाएनन्। कान्ति बाल अस्पतालका निर्देशक डा. राय सहितको संलग्नतामा मेलेमतोमा खरिद प्रक्रिया अगाडी बढाएको बारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा समेत उजुरी समेत परेको छ।

तर, मन्त्री पौडेलले निर्देशक डा. रायललाई पुरस्कार स्वरूप कान्तिको निर्देशकको जिम्मेवारीमा नै टिकाइरहेका छन्। कान्तिको खरिदमा मन्त्री पौडेलले केही सोधखोज गरेपनि छानबिनको प्रक्रिया भने अगाडि बढाएको देखिँदैन।

खरिद विवादमा मुझिएका भरतपुर अस्पतालका प्रमुख डा. कृष्ण प्रसाद पौडेललाई भने मन्त्री पौडेलले हटाएनन्। जुनियर दशौं तहका अर्थोपेडिक सर्जन डा. पौडेलनै यसअघि निर्देशक भएको समयमा भरतपुर अस्पतालले २९ करोड ५८ लाख ६५ हजारमा मेसिन उत्पादक कम्पनी सिमेन्सको नेपाली सप्लायर्स इष्ट वेस्ट कन्सर्न प्रालिसँग ‘थ्री टेस्ला एमआरआई मेसिन’ किनेको थियो।

स्वास्थ्य सचिव डा. रोशन पोख्रेल समेतको इन्ट्रेष्टमा स्पेशिफिकेशन लक गरेर मिलेमतोमा महँगोमा किनिएको एआरआई मेसिनको उद्घाटन गरिदिएर मन्त्री पौडेलले समेत मिलेमतोमा किनेको मेसिनलाई लालमोहोर लगाइदिएका थिए।

मंसिर २५, २०८१ मंगलबार ११:२१:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।