सिरियाको राजधानीमा इजरायली हवाई आक्रमण
एजेन्सी : इजरायलले सिरियाको राजधानी दमास्कसलगायत देशका विभिन्न क्षेत्रमा अवस्थित धेरै सैन्य अखडाहरूमा दर्जनौं हवाई आक्रमण गरेको छ।
बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स (एसओएचआर)ले सिरियाली सैन्य लक्ष्यमा सयभन्दा बढी आक्रमण भएको जनाएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार इजरायलले रासायनिक हतियार उत्पादन गर्ने संदिग्ध अनुसन्धान केन्द्रमा पनि आक्रमण गरेको थियो।
इजरायलले असद सरकारको पतन पछि ‘हतियारहरू अतिवादीहरूको हातमा पर्न नदिन’ आक्रमणहरू गरिरहेको बताएको छ।
एसओएचआरले पछिल्लो दुई दिनमा सिरियामा इजरायलले सयौं हवाई आक्रमण गरेको जनाएको छ।
यसमा दमास्कसको सैन्य आधारलाई पनि निशाना बनाइएको छ, जसलाई इरानी वैज्ञानिकहरूले रकेट बनाउन प्रयोग गरेको बताइएको छ।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को सोमबार बसेको बैठकमा सिरियाको वर्तमान अवस्थाबारे छलफल भएको थियो।
रुसले सिरियाको अवस्थाबारे छलफल गर्न सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएको थियो।
सिरियाको बदलिँदो अवस्थाबीच गोलान हाइट्समा इजरायलको अस्थायी कब्जालाई लिएर रुस चिन्तित रहेको बताइएको छ।
मंसिर २५, २०८१ मंगलबार १०:०६:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।