क्यान प्रवक्ता लामाको कुतर्क- ‘हामीले बेटिङ हाेइन समाचार साइटको प्रचार गरेका हौँ’
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले त्रिवि क्रिकेट मैदानमा भइरहेको नेपाल प्रिमियर लिग (एपीएल)मा बेटिङ कम्पनीको सरोगेट कम्पनीको प्रचार गरेको स्वीकार गरेको छ।
एक युट्युब च्यानलमा दिएको अन्तर्वार्तामा नेपाल क्रिकेट संघका प्रवक्ता छुम्बी लामाले आफूहरूले बेटिङ एपको सरोगेट कम्पनीको प्रचार गरिरहेको स्वीकार्दै यसलाई यसअघिको निरन्तरता भएको कुतर्क गरेका छन्।
उनले भने, ‘नेपाल क्रिकेट संघले बेटिङको प्रोमोसन गर्दैन कहिल्यै पनि। बेटिङ एप प्रचार गरिएको छ भनेर भ्रम छर्ने कामहरू भएको छ। एनपीएलमा हामीले वुल्भत्रिपलसेभेनन्यूज भनेर प्रोमोट गरिएको छ, जुन सरोगेट कम्पनी हो।’
एनपीएलको नाममा त्रिवि क्रिकेट मैदानलाई क्यानका पदाधिकारीले जुवाको अड्डा बनाएको विषयमा उकेराले निरन्तर समाचार प्रकाशित गर्दै आएको छ।
आफूहरूले वुल्भत्रिपलसेभनको प्रचार नभई वुल्भत्रिपलसेभेन डट न्यूजको प्रचार गरेको उनको तर्क छ।
उनले थपे, ‘हामीले वुल्भत्रिपलसेभेन डट न्यूज भनेर प्रचार गरेको हौँ। टिमहरूले पनि त्यसैगरी सरोगेट कम्पनीको प्रमोट गरिरहेका छन्। तर बेटिङ एपको प्रोमोट गर्यो भनेर भ्रम फैलाइएको छ। यो आफैँमा मिल्दो कुरा होइन।’
नेपाल क्रिकेट संघ क्रिकेटको गभर्निङ बडी भएकाले आफैँमा संवेदनशील भएको बताउँदै उनले संघले कहिल्यै पनि गैरकानूनी काम नगर्ने दाबी गरे।
आईसीसी र एसीसीले पनि सरोगेट कम्पनीहरूको प्रचार विश्वव्यापी रुपमा गरिहेको भन्दै आफूहरूले यसअघि पनि सरोगेट कम्पनीको प्रचार गरेको विषय सगौरव बताए।
‘आईसीसी र एसीसीले पनि सरोगट कम्पनीहरूको बारेमा ग्लोबली प्रोमोट गर्छ। हामीले यसअघिको इभेन्टमा पनि डाफान्यूजको प्रोमोट गरेका थियौं। त्यसको निरन्तरतामा हामीले वुल्भत्रिपलसेभेन डट न्यूज प्रोमोट गरेका हौँ।’
यो पनि:-
मंसिर २५, २०८१ मंगलबार ०८:१६:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।