एनपीएलमा आज चितवन र लुम्बिनी तथा कर्णाली र पोखरा भिड्दै

एनपीएलमा आज चितवन र लुम्बिनी तथा कर्णाली र पोखरा भिड्दै

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुने भएका छन्।

पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुनेछ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पहिलो खेल बिहान नौ बजेदेखि सुरू हुनेछ भने दोस्रो खेल दिउँसो एक बजे आरम्भ हुनेछ।

चार खेलमा तीनमा जित र एकमा हार बेहोरेको चितवन राइनोज ६ अंकसहित तालिकाको तेस्रो स्थानमा छ।

पहिलो खेलमा काठमाडौं गुर्खाजलाई पाँच विकेटले तथा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको चितवन तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले पराजित भएको थियो भने चौथो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको थियो।

यस्तै लुम्बिनी लायन्स चारवटै हेलमा हार बेहोर्दै तालिकाको पुच्छारमा छ। पहिलो खेलमा विराटनगरसँग दुई विकेटले, दोस्रो खेलमा पोखरासँग १० विकेटले पराजित लुम्बिनी तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले तथा चौथो खेलमा जनकपुरसँग एक रनले पराजित भएको थियो।

कर्णाली याक्सले मध्यम प्रदर्शन गरेको छ। चार खेलमा दुईमा जित र दुईमा हार बेहोर्दै टोलीको चार अंकसहित चौथो स्थानमा छ।

कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेटले र दोस्रो खेलमा काठमाडौं गुर्खाजसँग तीन विकेटले हारेको थियो। तेस्रो खेलमा चितवनलाई ६ विकेटले हराएको उसले चौथोमा विराटनगरलाई सात रनले हराएको थियो।

यसैगरी पोखरा एभेन्जर्स दुई अङ्कसहित पाँचौं स्थानमा छ। उसले तीन खेलमा एकमा जित दुईमा हार बेहोरेको छ।

पोखरा पहिलो खेलमा चितवनसँग ८७ रनले र दोस्रो खेलमा जनकपुरसँग सात विकेटले पराजित भएको थियो। तेस्रो खेलमा पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको थियो।

आइतबारसम्म १५ खेल सम्पन्न भएका छन्। यही मंसिर १५ गतेदेखि सुरू भएको एनपीएलमा जनकपुर बोल्ट्स आफ्ना सबै खेलमा विजयी हुँदै तालिकामा शीर्ष स्थानमा छ।

एनपीएलमा चार खेल खेलेको सुदूरपश्चिम रोयल्स तीनमा जित तथा एउटा खेलमा हारका साथ दोस्रो स्थानमा छ। काठमाडौं गुर्खाज दुई अङ्कसहित छैटौँ स्थानमा छ। विराटनगर किङ्ग्स दुई अङ्कका साथ सातौं स्थानमा छ।

मंसिर २५, २०८१ मंगलबार ०७:१८:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।