उकेरा टप फाइभ : बीमा प्राधिकरणमा विष्णु पौडेलले छानेका सिलवालको बदनियतदेखि एनपिएलको सम्भावित प्लेअफसम्म

उकेरा टप फाइभ : बीमा प्राधिकरणमा विष्णु पौडेलले छानेका सिलवालको बदनियतदेखि एनपिएलको सम्भावित प्लेअफसम्म

काठमाडौँ : नेपाली कांग्रेसले चीनसँग बीआरआई अन्तर्गत ऋण नभई अनुदान लिनुपर्ने पार्टीको धारणा अहिले पनि कायमै रहेको दाबी गरेको छ। केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा भएको सम्झौताले अनुदान लिने बाटो बन्द नगरेको तर्क गरे।

नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज कुनै पनि खेल भएनन्। एक सातादेखि खेल खेलिरहेका टोलीहरूलाई आरामका लागि आज खेल तालिका नराखिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। भोलि मंगलबार भने दुई खेल राखिएको छन्। जस अन्तर्गत बिहान नौ बजे चितवन राइनोज र लुम्बिनी लायन्स भिड्ने छन्।

नेपाल प्रिमियर लिगको मैदानमा एक सातादेखि अनलाइन जुवा खेलाउने र सट्टा गराउने जुवा कम्पनीको प्रचार भइरहेको समेत नदेख्ने गृह प्रशासनका प्रमुख गृहमन्त्री रमेश लेखकले सुर्खेत पुगेर अपराध गर्ने जोसुकैलाई पनि कानुनको दायराभित्र ल्याउने दाबी गरेका छन्। नेपाल क्रिकेट एसोसिएसनको आयोजनामा भइरहेको एनपिएलमा वुल्फत्रिपलसेभेन लगायतका तीन वटा अनलाइन जुवा खेलाउने कम्पनीको विज्ञापन प्राथमिकतामा राखिएको छ। कानुन उलङ्घन भएको अवस्थामा नियन्त्रणका लागि तत्काल हस्तक्षेपको साटो गृह प्रशासनले पत्र काटेर औपचारिकता निभाएर बसेको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सरकारले अमानवीय व्यवहार गरेको भनेका छन्। प्रचण्डले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत रविमाथि निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरिएको दाबी गरे। 

नाबालिकालाई बलात्कार गरेको आरोपमा बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन्। पीडित शिवाकोटीको बिर्तामोड ५ मा रहेको घरमा करिब ८ वर्ष अघिदेखि घरेलु कामदारका रुपमा काम गर्दै आएकी थिइन्। उनी अहिले १७ वर्षकी भएकी छिन्। उनी स्थानीय विद्यालयको कक्षा ११ मा पढ्छिन्। 

सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवनबाट मध्यरात कास्की लैजाने क्रममा अमानवीय व्यवहार भएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई सोधपुछमा बोलाए पनि उनी गएनन्। सोमबार आयोगले छलफलका लागि प्रहरी महानिरीक्षक कुँवरलाई कार्यालयमा बोलाए पनि उनको सट्टा एआइजी टेकबहादुर तामाङ गएका थिए। 

नेपालका व्यवसायीहरूलाई भारतको जेलमा रहेका भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाममा धम्क्याएको आरोपमा पक्राउ परेका हरिचन्द्र फुयाँल मेडिकल व्यवसायी दुर्गा प्रसाईंबाट परिचालित रहेको पाइएको छ। दुर्गा प्रसाईंले हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको हिरासतमा रहेका झापाकै हरिचन्द्र फुयाललाई धम्क्याउनका लागि ५ लाख रुपैयाँ दिएको खुलेको छ। 

अब उकेरामा सोमबार प्रकाशित टप फाइभ समाचार

चौकुने गाउँपालिका-५, रेक्चास्थित जनकल्याण आधारभूत विद्यालयमा शौचालयको अभाव छ। विद्यालयमा शौचालय नभएपछि विद्यार्थीहरू शौच गर्न घर जानुपर्ने बाध्यता छ। विद्यालयमा खानेपानी नहुँदा शौचालय प्रयोगविहीन भएको विद्यालयका प्रधानाध्यापक लोकराज देवकोटाले बताए।
पूरा समाचार: सुर्खेतका विद्यार्थीका सकस : पढ्न विद्यालय आउँछन्, शौचालय जान परे घरतिर कुद्छन्

एक सातादेखि जारी एनपीएलमा आइतबारसम्म आउँदा १५ वटा खेलहरू भइसके। प्रतियोगितामा आठ टोलीमध्ये काठमाडौँ गुर्खाज र पोखरा एभेन्जर्सले तीन–तीन खेल खेल्दा बाँकी छ टोलीले समान चार–चार खेल खेलिसके। पछिल्ला आठ दिनमा भएका खेलको नतिजा हेर्दा एक हदसम्म प्लेअफ खेल्ने टोलीको आकार प्रकार देखिन थालेको छ। लिगमा हरेक टोलीले एक अर्काविरुद्ध एक–एक खेल खेल्नेछन्। यसरी हेर्दा काठमाडौँ र पोखरा बाहेकका टोलीको अब तीन खेल मात्र बाँकी छ।
पूरा समाचार : एनपिएलको सम्भावित प्लेअफ : शीर्ष स्थानको जनकपुर बोल्ट्सलाई सहज, लुम्बिनी लायन्सलाई अन्य टिमको भर

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले नागरिकतामा पटक-पटक जन्म मिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले आइतबार दायर गरेको अभियोग पत्रमा नेपाल बीमा प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्षको उमेरको हदबाट अनिवार्य अवकाश हुनु पर्नेमा २०८० साउन १६ बाट ६६ औँ वर्षमा प्रवेश गर्दासमेत पदमा बहाल रही पछिल्लो ९ महिनादेखि राष्ट्रसेवक पदको दुरुपयोग गरी लाभ, सुविधा र अधिकारको प्रयोग गरेको अभियोग लगाएको छ।
पूरा समाचार: बीमा प्राधिकरणका अध्यक्ष सिलवालमाथि भ्रष्टाचारको अभियोग, जन्ममिती ढाँटेर ३६ लाख भ्रष्टाचार गरेको अख्तियारको दाबी

बीमा प्राधिकरणको अध्यक्ष भएदेखि निरन्तर विवादमा आएका सूर्य प्रसाद सिलवाल पदावधि सकिन दुई महिना बाँकी रहँदा जन्ममिती ढाँटेर पदावधि लम्ब्याएको अभियोगमा निलम्बनमा परे। वर्तमान अर्थमन्त्री विष्णु पौडेलले निकै शङ्कास्पद ढङ्गले अध्यक्ष नियुक्त गरेका सिलवालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार मुद्दा नलगेको भए उनी माघ १० सम्म प्राधिकरणको अध्यक्ष कायम रहने थिए।
पूरा समाचार: विष्णु पौडेलले बीमा प्राधिकरणको अध्यक्ष छानेका सिलवालको बदनियत, तीन नागरिकता, तीन वटै जन्ममिती

दक्षिण कोरियाली राष्ट्रपतिमाथि सोमबार यात्रा प्रतिबन्ध लगाइएको छ। दक्षिण कोरियाको न्याय मन्त्रालयले राष्ट्रपति युन सुक योललाई सैनिक शासनको घोषणा गरेको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको भन्दै यात्रा प्रतिबन्ध लगाएको जनाएको हो। घोषणाको जिम्मेवारी लिँदै रक्षामन्त्री किम योन ह्युनले पदबाट राजीनामा दिएका थिए भने उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको छ। अभियोजनकर्ताहरूको विशेष अनुसन्धान टोलीले आइतबार किमलाई समातेर उनको फोन पनि जफत गरेको छ।
पूरा समाचार: दक्षिण कोरियामा ‘मार्शल ल’ लगाएका राष्ट्रपतिलाई यात्रा प्रतिबन्ध, रक्षामन्त्री पक्राउ

मंसिर २४, २०८१ सोमबार २१:५८:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।