प्रधानमन्त्री ओलीले दुर्गा प्रसाईंलाई भने 'कम्बोडियामा मेरो ३२ अर्ब छ भनेर देखाउन नक्कली चिर्कटो निकालेछ'
काठमाडौं : बिर्तामोडमा एमाले झापा जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बदनाम गर्न कम्बोडियामा पैसा राखेको भ्रम फैल्याइएको बताए।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले ४/५ वर्ष अगाडिदेखि कम्बोडियामा केपी ओलीको ३२.५ अर्ब रुपैयाँ छ भनेर भ्रम फैल्याइएको अनि अहिले त्यसको लागि नक्कली चिर्कटो बनाएर आफूलाई बदनाम गरेको बताए।
उनले आफ्नो विभिन्न देशका बैंकमा पैसा राखेको भ्रम फिँजाउनेहरूलाई समातेर पुष्टि गर भन्दा बदनामको लागि बोलेको स्वीकार गर्ने गरेको बताए।
उनले भने, ‘४/५ वर्ष अगाडिदेखि कम्बोडियामा केपी ओलीको ३२.५ अर्ब रुपैयाँ छ भनेर हल्ला चलेको छ। अहिले त्यो एउटा नक्कली चिर्कटो पनि निकालेछ। त्यो नक्कली चिर्कटो एक करोड, ११ लाख तिरेर बल्ल पाएको भनेर कराउनेहरू पनि छन्। कहाँको बैंकमा कति लाख डलर, कति मिलियन डलर केपी ओलीको बैंक खातामा छ भनेर हल्ला गर्नेहरू पनि देखिन्छन्।’
कम्बोडियाको टेलिकममा ओलीको ३२ अर्ब लगानी छ भन्ने भ्रम फैल्याइएको आरोपमा प्रसाईंमाथि अहिले साइबर क्राइम मुद्दामा अनुसन्धान भइरहेको छ।
मंसिर २४, २०८१ सोमबार २०:४६:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।