विष्णु पौडेलले बीमा प्राधिकरणको अध्यक्ष छानेका सिलवालको बदनियत, तीन नागरिकता, तीन वटै जन्ममिती
काठमाडौँ : बीमा प्राधिकरणको अध्यक्ष भएदेखि निरन्तर विवादमा आएका सूर्य प्रसाद सिलवाल पदावधि सकिन दुई महिना बाँकी रहँदा जन्ममिती ढाँटेर पदावधि लम्ब्याएको अभियोगमा निलम्बनमा परे।
वर्तमान अर्थमन्त्री विष्णु पौडेलले निकै शङ्कास्पद ढङ्गले अध्यक्ष नियुक्त गरेका सिलवालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार मुद्दा नलगेको भए उनी माघ १० सम्म प्राधिकरणको अध्यक्ष कायम रहने थिए।
मन्त्रीपरिषद् बैठकले २०७७ माघ ११ मा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेका सिलवालविरुद्ध जन्ममिती ढाँटेर अध्यक्षको पदावधि बढाएर करिब ३६ लाख सरकारी कोषबाट लिएको भन्दै अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दायर गरे लगत्तै उनी निलम्बनमा परेका छन्।
कानुन अनुसार अध्यक्षको पदावधि चार वर्षको हुने भएकाले उनको नागरिकताको जन्ममितीको पोल नखुलेको भए उनी माघ १० सम्म प्राधिकरणको अध्यक्ष पदमा बहाल रहने थिए। उजुरी पुरानै भए पनि अख्तियारले दुई महिना अगाडि मात्र उनको अनुसन्धान सकाएर विशेष अदालतमा मुद्दा दायर गर्यो।
सिलवाललाई जुन अर्थमन्त्रीले प्राधिकरणको अध्यक्षमा नियुक्त गरेका थिए उनी पुन अर्थमन्त्री रहेकै बेलामा उनी निलम्बनमा परे। सिलवाल प्राधिकरणको अध्यक्षको प्रतिस्पर्धामा हुँदा नै उनलाई बिमाको नियामक निकायमा लगेर फाइदा लिन निश्चित घरानाका व्यक्तिहरू सक्रिय रहेको दाबीहरू आएका थिए। उनले आफ्नो कार्यकालमा गरेका विवादित निर्णयले ती दाबी सत्यनिकट रहेको पुष्टि गरेका थिए।
कागजातपिच्छे फरक जन्ममिती
सोमबार विशेष अदालतमा दायर भएको अख्तियारको अभियोग पत्र अनुसार सिलवालले तीन प्रकारको जन्ममिती प्रयोग गर्ने गरेका थिए। उनले जिल्ला प्रशासन कार्यालय, पर्साबाट २०३२ फागुन २४ मा उमेर १६ वर्ष उल्लेख गरेर पहिलो नागरिकताको प्रमाण पत्र लिएका थिए। यसको आधारमा उनको जन्ममिती २०१६ देखियो।
उनले २०६६ वैशाख १७ मा जिल्ला प्रशासन कार्यालय काठमाडौवाट नेपाली नागरिकताको प्रतिलिपि लिए। प्रतिलिपिमा उनको जन्ममिती कायम भयो २०१६ कात्तिक २२। पहिलो नागरिकतामा लेखिएको वर्ष मात्र अनि प्रतिलिपिमा खुलाइएको मितिको अन्तर मिल्छ नै।
त्रिभुवन विश्वविद्यालयबाट उनको नाममा जारी भएको डिप्लोमा तहको ट्रान्सक्रिप्टमा भने जन्म मिति २०१५ साउन १५ उल्लेख छ। उनले भरेको नोकरी तथा वैयक्तिक विवरण(सिटरोल) मा पनि ट्रान्सक्रिप्ट समान जन्म मिति २०१५ साउन १५ नै उल्लेख छ। उनले त्यही जन्ममिती राखेर २०४३ साउन १ गते राज पत्रांकित तृतीय श्रेणीको रूपमा सरकारी जागिरमा प्रवेश गरेको अख्तियारको अभियोग पत्रमा उल्लेख छ।
त्यही २०१५ साउन १५ को जन्ममितीको आधारमा ५८ वर्षको उमेर हदका आधारमा उनी २०७३ साउन १५ मा सचिवको रूपमा अवकाश पाए। अवकाश पाएको चार वर्षमा बीमा सम्बन्धी कामको कुनै अनुभव नभए पनि उनले नियमनकारी निकायको नेतृत्वको मौका पाए।
यहीबिचमा उनको उमेर सम्बन्धमा अख्तियारमा उजुरी पर्यो। उजुरीको अनुसन्धानमा उनी सरकारी जागिरमा रहँदा कूटनीतिक राहदानी र विशेष राहदानी बनाएको र त्यसमा जन्ममिती अर्कै प्रयोग भएको देखियो। ती दुवै राहदानीमा उनको नयाँ जन्म मिति थियो, २०१८ कात्तिक २४।
अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ को दफा ५ को प्रतिबन्धात्मक वाक्यांशमा ‘पदावधि समाप्त हुनु अगावै नियुक्त वा मनोनयन भएका पदाधिकारी तथा सदस्यको उमेर ६५ वर्ष पूरा भएमा स्वतः अवकाश हुने’ उल्लेख छ। पुरानो जन्ममिती कायम भएको भए उनले एक वर्ष अगाडि नै अवकाश पाइसक्थे।
तर उनले २०१६ सालको जन्ममिती राखेर प्राधिकरणको अध्यक्ष भएकाले उमेर हदका कारण नभई पदावधिका आधारमा उनी अवकाशमा जाने थिए। उनको तयारी पनि त्यही देखिन्थ्यो। पुरानै जन्ममितीका आधारमा उनले २०८० साउन १५ मा ६५ वर्ष उमेर हदका कारण अनिवार्य अवकाश पाउँथे। तर उनी पदमै बसिरहे। माघ ११ गते चार वर्षीय पदावधिका आधारमा अवकाश लिने तयारीकै क्रममा उनी सोमबार निलम्बनमा परे।
संयोग के भने, जसरी बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको बेलामा अर्थमन्त्री विष्णु पौडेलदेखि प्रधानमन्त्रीसम्म निश्चित घरानालाई फाइदा हुने निर्णय गराउन सिलवालको नियुक्ति गराएको आरोपमा घेरिएका थिए नेपाल धितो पत्र बोर्डको अध्यक्ष चयनको क्रममा पनि यस्तै शङ्काहरू बढेका थिए।
पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री अनि वर्षमान पुन अर्थमन्त्री रहेको बेलामा सेबोनको अध्यक्ष चयनै हुन सकेन। जब सरकार बदलिएर केपी शर्मा ओली प्रधानमन्त्री अनि उनै विष्णु पौडेल अर्थमन्त्री भए शङ्काको घेरामा रहेका सन्तोष नारायण श्रेष्ठ अध्यक्ष नियुक्त भए।
उनको नियुक्ति सर्तहरूमध्ये पहिलो सर्त निजी क्षेत्रलाई स्टकको अनुमतिमा चलखेलको आशङ्का व्याप्त छ। उनले अध्यक्ष भएसँगै निजी क्षेत्रलाई स्टकको अनुमति दिने बताइसकेका छन्। उनको नियुक्तिको उद्देश्य शङ्कामै रोकिन्छ या सिलवाल झैँ उनले पनि निर्णयबाट पुष्टि गर्छन् त्यो भोली पक्का देखिने छ नै।
मंसिर २४, २०८१ सोमबार १९:५९:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।