इजरायलको दाबी 'विपिन जोशी जीवितै छन्, छिट्टै काठमाडौं फर्किनेछन्'
काठमाडौं : नेपालका लागि नवनियुक्त इजरायली राजदूत शमुलिक ए. वासले प्यालेस्टाइनी विद्राेही समूह हमासले १४ महिनादेखि बन्धक बनाएका कञ्चनपुरको महेन्द्रनगरका विपिन जोशी जीवितै रहेको सूचना पाएको बताएका छन्।
उनका अनुसार अरब स्रोतहरूले विपिन जोशी जीवित रहेको बताएका छन्। तर, उनलाई कहाँ राखिएको छ र अहिले कुन अवस्थामा छन् भनेर इजरायल बेखबर छ।
उनले पत्रकारहरूसँग भने, ‘हाम्रा लागि विपिन निकै महत्त्वपूर्ण छन्। उनी छिट्टै काठमाडौं फर्किनेछन्।’
सन् २०२३ अक्टोबर ७ मा नोभा म्युजिक फेस्टिभलमा सहभागी सबैलाई र वरपरका क्षेत्रमा बस्नेहरूमाथि हमास लडाकुहरूले आक्रमण गर्दा इजरायलमा ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत रहेका १० नेपाली विद्यार्थीको क्रुर हत्या भएको थियो। ११औं विद्यार्थी विपिन जोशीलाई हमासले अपहरण गरेका थिए।
त्यसयता उनको अवस्था अज्ञात छ। राजदूत वासले विपिनलाई राखिएको ठाउँ भने अझै पहिचान भइनसकेको बताए।
उनका अनुसार हमासको कब्जामा अझै पनि १०० भन्दा बढी इजरायली र विदेशी नागरिक छन्।
नेपालले विपिनको रिहाइका लागि लामो समयदेखि कूटनीतिक पहल गरिरहेको छ। इजरायलसँगको सम्झाैताअनुसार हमासले केही बन्धकहरूको रिहाइ गरे पनि त्यो सूचीमा विपिन परेका थिएनन्।
केही समयअघि गाजाको एक अस्पतालमा विपिन देखिएको दाबीसहितका समाचार सञ्चारमाध्यमहरूमा आएका थिए।
मंसिर २४, २०८१ सोमबार १९:४७:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।