लरेन्स बिश्नोईको नाममा व्यवसायीलाई धम्क्याउन दुर्गा प्रसाईंले हरिचन्द्रलाई दिएका थिए पाँच लाख
काठमाडौं : नेपालका व्यवसायीहरूलाई भारतको जेलमा रहेका भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाममा धम्क्याएको आरोपमा पक्राउ परेका हरिचन्द्र फुयाँल मेडिकल व्यवसायी दुर्गा प्रसाईंबाट परिचालित रहेको पाइएको छ।
दुर्गा प्रसाईंले हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको हिरासतमा रहेका झापाकै हरिचन्द्र फुयाललाई धम्क्याउनका लागि ५ लाख रुपैयाँ दिएको खुलेको छ।
सीआईबीले मंसिर १४ मा झापा मेचीनगर–१३ का फुयाँललाई पक्राउ गरेर विज्ञप्तिमै उनी दुर्गा प्रसाईँबाट परिचालित रहेको दाबी गरेको थियो। केही नेपाली ब्यवसायीहरुलाई भारतीय कुख्यात अपराधी लरेन्स बिश्नोईको नाम लिएर फोन आएको र फोनमा धम्की दिइएको भन्दै प्रहरीमा उजुरी परेपछि अनुसन्धान सुरू भएको थियो।
सीआईबीको विज्ञप्तिमा पनि ‘भारतीय आपराधिक समूहको नामबाट व्यवसायीहरूलाई धम्की दिने कार्य दुर्गा प्रसाईँको निर्देशनमा गरेको देखिन्छ’ उल्लेख गरेको छ।
अनुसन्धानका क्रममा अहिले प्रसाईंले व्यवसायीलाई धम्काउन फुयाँललाई 'सुपारी' दिएको खुलेको सीआईबीका एसपी होविन्द्र बोगटीले पुष्टि गरे।
'प्रसाईं र फुयाँलबीच वाट्सएपमार्फत कुरा हुने गरेको देखिएको छ। भारतमा बस्दै आएका फुयाँललाई व्यवसायी धम्क्याउन आठ लाख दिन्छु भनेको पनि देखिएको छ, एसपी बोगटीले भने, त्यसमध्ये पाँच लाख रुपैयाँ फुयाँललाई दिन अर्को व्यक्तिको नाममा जम्मा गरेको देखिएको छ।
उनका अनुसार ती अर्का व्यक्तिको समेत पहिचान भइसकेको छ।
दुर्गा प्रसाईंमाथि संगठित अपराध मुद्दामा पनि अनुसन्धान
प्रहरीले साइबर कसुरमा हिरासतमा राखेर अनुसन्धान गरिरहेका प्रसाईंलाई संगठित अपराध मुद्दामा पनि अनुसन्धान थालेको छ। सीआईबीले सोमबारदेखि प्रसाईंमाथि संगठित अपराध कसुरमा अनुसन्धान थालेको सीआईबीका एसपी बोगटीले बताए।
लरेन्स बिश्नोईको नामबाट नेपाली व्यवसायीलाई धम्की दिएको आरोपमा पक्राउ परेका फुयाँलसँग प्रसाईंको कनेक्सन देखिएपछि सीआईबीले उनीमाथि संगठित अपराध मुद्दामा अनुसन्धान थालेको हो।
सोमबार नै सरकारी वकिल कार्यालय लगेर बयान लिन सुरू गरेपछि सरकारी वकिल कार्यालयको रायअनुसार उनीमाथि संगठित अपराधको कसुरमा पनि अनुसन्धान अघि बढाइएको छ।
प्रसाईंलाई मंसिर ४ मा भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेर साइबर ब्यूरोलाई बुझाएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा ३२ अर्ब लगानी भन्ने आरोप लगाएपछि उनी पक्राउ परेका थिए। त्यसपछि उनलाई साइबर क्राइम अन्तर्गतको कसूरमा अनुसन्धान भइरहेको छ।
मंसिर २४, २०८१ सोमबार १८:०७:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।