प्रधानमन्त्री ओलीको प्रचण्ड लक्षित टिप्पणी 'देशको समस्या समाधान भएको देख्न नसक्ने व्यक्ति'
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगरपालिका वडा नम्बर ४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरणको आज शुभारम्भ गरेका छन्।
साबिक महारानीझोडा गाविसमा चार हजार घरघुरीका करिब आठ हजार कित्ताको नापी प्रमाणित नभएका कारण स्थानीयबासीले लामो समयदेखि समस्या भोग्दै आएकोमा सरकारले गठन आदेशबाट समिति बनाइ समाधानको पहल गरेपछि प्रमाणपूर्जा वितरण सुरू हुन सकेको हो।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संकेत गर्दै प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि अवस्थामा परिवर्तन भएन भन्नेहरूका लागि जवाफ मिल्ने गरी अहिलेको संयुक्त सरकारले काम गरिरहेको बताए।
उनले प्रचण्डलाई अस्थिरता चाहने र समस्या समाधान भएको हेर्न नसक्ने पात्रका रूपमासमेत संज्ञा दिएका छन्।
मुलुकमा अस्थिरता मच्चाउने र देशको समस्या समाधान भएको देख्न नसक्नेहरूले सरकार ढल्न लाग्यो भनेर हल्ला फैलाएपनि नेपाली कांग्रेस र एमालेबीचको सहमति अनुसार अबको १८ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने पुनः स्मरण गराए।
प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका प्रचण्डले पछिल्लो समय कांग्रेस-एमाले गठबन्धनबाट बनेको सरकारको आयु लामो नभएको दाबी गर्दै आएका छन्।
मंसिर २४, २०८१ सोमबार १५:३६:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।