एनपिएलको मैदानमा जुवाको प्रचार नदेखेका गृहमन्त्री लेखकको दाबी ‘अपराध गर्ने जोसुकै कानुनको दायराभित्र आउँछन्’

एनपिएलको मैदानमा जुवाको प्रचार नदेखेका गृहमन्त्री लेखकको दाबी ‘अपराध गर्ने जोसुकै कानुनको दायराभित्र आउँछन्’

एनपिएलको मैदानमा जुवाको प्रचार नदेखेका गृहमन्त्री लेखकको दाबी ‘अपराध गर्ने जोसुकै कानुनको दायराभित्र आउँछन्’

काठमाडौँ : नेपाल प्रिमियर लिगको मैदानमा एक सातादेखि अनलाइन जुवा खेलाउने र सट्टा गराउने जुवा कम्पनीको प्रचार भइरहेको समेत नदेख्ने गृह प्रशासनका प्रमुख गृहमन्त्री रमेश लेखकले सुर्खेत पुगेर अपराध गर्ने जोसुकैलाई पनि कानुनको दायराभित्र ल्याउने दाबी गरेका छन्।

नेपाल क्रिकेट एसोसिएसनको आयोजनामा भइरहेको एनपिएलमा वुल्फत्रिपलसेभेन लगायतका तीन वट अनलाइन जुवा खेलाउने कम्पनीको विज्ञापन प्राथमिकतामा राखिएको छ। कानुन उलङ्घन भएको अवस्थामा नियन्त्रणका लागि तत्काल हस्तक्षेपको साटो गृह प्रशासनले पत्र काटेर औपचारिकता निभाएर बसेको छ।

उता सुर्खेतको वीरेन्द्रनगरमा सुरक्षा गोष्ठीको उद्घाटन गर्दै मन्त्री लेखकले विशेषलाई उन्मुक्ति दिने, सानो ठुलो भनेर विभेद गर्ने काम नगर्न प्रहरीलाई निर्देशन दिए। एनपिएलको आयोजकलाई निर्बाध जुवाको प्रचार गर्न छुट दिइरहँदा उनले अपराध गर्ने जोसुकैलाई पनि कानुनको दायराभित्र ल्याउनुपर्ने बताए।

उनले कार्यक्रममा शान्ति सुरक्षा,लोकतन्त्र प्रवाह हुनुपर्ने सेवाको स्थिति सुदृढ गर्न कुनै पनि सम्झौता नहुने र सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने दाबी समेत गरेका थिए।  लोकतन्त्र भनेको अनुशासनको परिवर्तन समेत रहेको दाबी गर्दै उनले व्यक्तिको चरित्र हत्या गर्ने, जाति धर्म र क्षेत्रको बिचमा दोष लगाउने खालको गतिविधि नियन्त्रणमा केन्द्रित हुन प्रहरीलाई निर्देशन दिएका थिए। 

पारस खड्कालाई उन्मुक्ति

एनपिएलको उद्घाटनको दिनदेखि नै क्यानको एनपिएल आयोजक समितीले टीयू क्रिकेट मैदानमा जुवा खेलाउने कम्पनीको सरोगेट कम्पनीको नाम स्पोन्सरको रुपमा प्रचार गरिरहेको छ। 

नेपालको कानुन अनुसार जुवा, खेल्ने, खेलाउने र प्रवर्धन गर्ने तीनै काम गैर कानुनी हो। आयोजक समितीका अध्यक्ष पारस खड्कालाई प्रहरीले जुवाको प्रचार नगर्न आग्रह गरे पनि उनले अटेर गरेका छन्। तर घरभित्र तास खेल्दा भित्रै छिरेर पक्राउ गर्ने प्रहरी भने पत्र पठाएका छौँ भन्ने बहाना बनाएर जुवाको प्रचारप्रति मौन देखिन्छ।

पारस र क्यानका पदाधिकारीहरुले जे काम गरिरहेका छन् त्यो कानुन अनुसार सजाय योग्य व्यवहार हो।नेपालको ‘जुवा ऐन २०२०’ अनुसार जुवा भन्नाले सम्पत्ति हार्ने वा जित्ने गरी कुनै संयोग आधारमा बाजी थापी खेलेको कुनै खेल सम्झनुपर्ने भनिएको छ।

पारसले एनपिएलको मैदानमा प्रचार गरिरहेको वुल्फत्रिपलसेभेनन्युजको मुल कम्पनी वुल्फत्रिपलसेभेनले एनपिएल लक्षित गरेर पैसा हारजित हुने जुवा र सट्टा खेलाइरहेको छ। वुल्फत्रिपलसेभेनन्युजलाई क्यानले मिडियाको रुपमा अपब्याख्या गर्ने गरेको छ। सो साइटमा गएर हेर्ने हो भने एनपिएलको कुनै पनि समाचार छैन। जवकी जुवा खेलाउने वुल्फत्रिपलसेभेनमा भने एनपिएलको ब्यानर सहित जुवा खेल्न प्रोत्साहित गरिरहेको छ।

वुल्फत्रिपलसेभेनले नेपालमा आफ्नो एजेन्टहरु परिचालन गरेर जुवा खेल्ने पैसा नेपालकै बैंकमा जम्मा गराइरहेकोबारे उकेराले प्रमाणसहित समाचार प्रकाशित गरिसकेको छ। तर प्रहरी प्रशासन कार्वाहीप्रति निस्क्रिय छ।

‘मुलुकी अपराध संहिता २०७४’को दफा १२५ मा समेत ‘जुवा खेल्न नहुने वा सट्टाबाजी गर्न नहुने’ प्रावधान छ। जसको उपदफा ४ मा सट्टाबाजी गर्नु वा गराउन नहुने भनिएको छ।

त्यसलाई थप प्रस्ट पार्दै उपदफा ५ मा ‘कसैले कानुन बमोजिम खेल्न खेलाउन नहुने कुनै खेल वा प्रक्रियामा खास पक्षले हारेमा वा जितेमा कुनै चल अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने गरी बाजी थापेमा सट्टाबाजीको कसुर गरेको मानिने’ उल्लेख छ।

एनपिएलको मैदानमा बसेर जुवा खेलाएको आरोपमा प्रहरीले सात जनाबढीलाई पक्राउ गरिसकेको छ। तर अन्तराष्ट्रिय क्रिकेट मैदानबाट जुवाको खुल्ला प्रचारमा संलग्न खड्कालाई भने उन्मुक्ती दिइरहेको छ।

यो पनि:-

मंसिर २४, २०८१ सोमबार १५:२१:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।