खुला रूपमा फोहोर बालेर वायु प्रदूषण गरे कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी

खुला रूपमा फोहोर बालेर वायु प्रदूषण गरे कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी

काठमाडौं : काठमाडौं महानगरपालिकाले खुला रूपमा फोहोर मैला बालेर वायु प्रदूषण गरेमा कारबाही गर्ने जनाइएको छ। 

सोमबार महानगरपालिकाले एक सूचना जारी गर्दै यदि कसैले खुला रूपमा फोहरमैला बालेर वायु प्रदूषण गरे वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन तथा आर्थिक ऐन बमोजिम कारबाही हुने जनाइएको छ। 

महानगरपालिका क्षेत्रमा खुला रूपमा प्लास्टिकजन्य फोहोर मैला तथा अन्य फोहोर जलाउने जस्ता कार्यले वायु प्रदूषण वृद्धि हुने तथा जनस्वास्थ्यमा समेत प्रतिकूल असर पर्नेहुँदा यस्ता कार्यलाई प्रतिबन्ध लगाइएको महानगरपालिकाले जानकारी दिएको छ। 

सूचनामा लेखिएको छ, ‘...यस्ता कार्यहरू कहीँकतै कसैले गरेमा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ तथा आर्थिक ऐन. २०८१ बमोजिम कारबाही हुने ब्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।’

पछिल्लो समय काठमाडौं महानगर सडकमा फोहोर फ्याँक्ने, बाल्ने र सफा नगर्नेहरूमाथि कडा अनुगमन गरी जरिवाना गराउँदै आएको छ। 

यसअघि दरबारमार्गमा जागरण सभा गर्ने क्रममा फोहोर गरेको भन्दै सत्तारुढ दल एमालेलाई पनि एक लाख रूपैयाँ जरिवाना तिर्नुपर्ने पत्र पठाएको थियो। तर, एमालेले भने अहिलेसम्म त्यो जरिवाना रकम तिरेको छैन।  

मंसिर २४, २०८१ सोमबार १५:०६:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।