राष्ट्रपति बसर अल असदको सत्ताच्युतपछि १२ वर्षपछि लेबनान र जोर्डनबाट देश फर्कँदै सिरियाली नागरिक

राष्ट्रपति बसर अल असदको सत्ताच्युतपछि १२ वर्षपछि लेबनान र जोर्डनबाट देश फर्कँदै सिरियाली नागरिक

एजेन्सी : सिरियाका पूर्व राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गरेको केही घण्टापछि छिमेकी देश लेबनान र जोर्डनबाट सिरियाली नागरिक फर्किन थालेका छन्।

आइतबार यस्ता धेरै तस्बिरहरू बाहिर आएका छन्, जसमा सिरियाली नागरिकहरु यी दुई देशबाट सिरियाको सीमामा प्रवेश गरेको देखिन्छ।

समाचार एजेन्सी एएफपीका एक संवाददाताले लेबनान-सिरिया सीमामा मस्ना क्रसिङमा दर्जनौं कारहरू लाइनमा उभिएका र भीडले बसर अल-असदको विरुद्धमा नारा लगाएको देखे।

अर्कोतर्फ, जोर्डन पक्षबाट जाबेर क्रसिङमा एक व्यक्तिले समाचार एजेन्सी रोयटर्सलाई भने, ‘म जोर्डनमा १२ वर्षदेखि छु। जब हामीले बसर अल-असदको सरकार पतन भएको खबर सुन्यौँ, तब हामी आफ्नो देश फर्किन लागेका छौँ।’

विद्रोहीहरूले सिरियाका शहरहरू द्रुत रूपमा कब्जा गरेसँगै तत्कालीन सिरियाली राष्ट्रपति बसर अल-असदले देश छोड्नु परेको थियो।

यसैबीच रुसी सञ्चारमाध्यमले मस्को पुगेका बसर अल असद र उनको परिवारले राजनीतिक शरण लिन सक्ने बताएका छन्।

मंसिर २४, २०८१ सोमबार ०९:१४:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।