सुर्खेतका विद्यार्थीका सकस : पढ्न विद्यालय आउँछन्, शौचालय जान परे घरतिर कुद्छन्
सुर्खेत : चौकुने गाउँपालिका-५, रेक्चास्थित जनकल्याण आधारभुत विद्यालयमा शौचालयको अभाव छ।
विद्यालयमा शौचालय नभएपछि विद्यार्थीहरू शौच गर्न घर जानुपर्ने बाध्यता छ। विद्यालयमा खानेपानी नहुँदा शौचालय प्रयोगविहीन भएको विद्यालयका प्रधानाध्यापक लोकराज देवकोटालले बताए।
‘विद्यार्थीलाई खानेपानी त हुँदैन। शौचालयको त कुरै छोडौँ,’ उनले भने, ‘पिउने पानी घरबाटै ल्याउने शौचालय पनि घरमै जानुपर्छ।’
त्यस्तै प्रदेशको राजधानी सुर्खेतमा समेत विद्यालयमा शौचालयको अवस्था त्यस्तै छ। त्रिपुरेश्वर माध्यमिक विद्यालय ढोडेखालीमा कक्षा ९ अध्ययनरत कुशल उपाध्यायले विद्यालयको शौचालय बालमैत्री र वातावरणमैत्री नहुँदा समस्या भएको बताए।
‘प्रयाप्त शौचालय छैनन्। चाहेको बेला शौचालय जान सकिँदैन,’ उनले भने, ‘धेरै भिडभाड हुन्छ। त्यसमा पनि दुर्गन्धित हुन्छ। जसका कारण धेरै विद्यार्थीहरू शौचालय प्रयोग नगरी बस्न बाध्य छन्।’
शौचालयकै कारण छात्राहरुको पढाईमा समेत प्रभाव परेको छ। कृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालयकी रोशनी गुरुङले आफ्नो विद्यालयमा किशोरीमैत्री शौचालय नभएको भन्दै गुनासो गरिन्।
‘छात्र र छात्राको शौचालय एकैपट्टी नजिकै जोडिएकोले अप्ठारो महसुस हुन्छ,’ उनले भनिन्, ‘महिनावारीको समयमा स्यानिटरी प्याड फेर्न पनि समस्या हुन्छ। शौचालय आउन जान समेत टाढा छ। कैयौं दिन त आफू शौचालय जाँदा कक्षामा शिक्षकले पढाइरहेका हुन्छन्।’
शौचालयमा साबुन पानी नहुँदा त्यसले झनै समस्या पारेको प्रभात माध्यमिक विद्यालय कोलडाँडाका कक्षा १० मा अध्ययनरत गणेश खड्का बताउँछन्।
‘शौचालयमा प्राप्त मात्रामा पानी छैन। त्यसैमा पनि प्लास्टिकजन्य फोहोरले हैरानी हुन्छ,’ उनले भने, ‘शौचालय गइसकेपछि साबुन पानीले हात धुनुपर्छ भन्ने यही विद्यालयमा सिकाइन्छ। तर, विद्यालयमा नै साबुन छैनन्।’
राम्रो शौचालय र बालबालिकामैत्री वातावरण नहुँदा सिकाईमा समस्या भएको उनको भनाई छ।
कृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय इत्रामका सहायक प्रधानध्यापक डिल्लीराम चपाईंले विभिन्न समस्याका बावजुत शौचालय व्यवस्थापन गर्न समस्या भइरहेको बताए।
‘विद्यालयमा विद्यार्थीको चाप धेरै छ। संरचना कम छन् त्यसैले समस्या भइरहेको छ,’ उनले भने, ‘शौचालय व्यवस्थापनका विषयमा विभिन्न निकायसँग समन्वय भइरहेको छ।’
विद्यालयले बनाइदिएको नियम विद्यार्थीले पालना नगरेका कारण उक्त समस्या आएको उनले बताए। नगरबाट यस्ता समस्या समाधान गर्नका लागि आवश्यक पहल भइरहेको वीरेन्दनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख धिरेन्दप्रसाद शर्माले बताए।
‘विद्यालयमा व्यवस्थित शौचालय हुन आवश्यक छ। तर, सीमित स्रोत र साधनका कारण व्यवस्थित गराउन सकिएको छैन,’ प्रमुख शर्माले भने, ‘यस विषयमा नगर कार्यपालिकाको समेत ध्यानाकर्षण भएको छ। छिट्टै यो समस्या समाधान हुन्छ।’
कर्णाली प्रदेशका विद्यालयहरूमा शौचालय अभावले छात्रछात्राको पढाईमा प्रभाव पारेको छ। विशेषगरी, ग्रामीण क्षेत्रका विद्यालयहरूमा यो समस्या अझै बढी देखिन्छ।
मंसिर २४, २०८१ सोमबार ०७:३१:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।