उकेरा टप फाइभ : सूचना आयोगका प्रमुख आयुक्तको असुहाउँदो व्यवहारदेखि एनपिएलको मैदानमा फैलिएको जुवाको जालोसम्म
काठमाडौँ : आइतबार प्रधानमन्त्री केपी शर्मा ओली झापा पुगेर दमक व्यापारिक कम्प्लेक्स(दमक भ्यु टावरको उद्घाटन गरे। एक अर्ब ६३ करोड ५४ लाख खर्चमा बनेको भ्यु टावर व्यापारिक प्रयोगमा आएको छैन।
निर्माण सम्पन्न भएको एक वर्षपछि प्रधानमन्त्री ओलीले टावर उद्घाटन गरेर यो विकासको नमुना भएको दाबी गरेका थिए। तत्काल व्यापारिक रूपमा प्रयोगमा ल्याउने रणनीतिको अभावमा भ्यु टावरमा प्रयोगमा आउने सम्भावना समेत देखिन्न।
आइतबारै न्यायिक क्षेत्रमा दुई आदेश आए। पहिलो थियो मानव तस्करीमा जोडिएका कोशिका एमाले प्रदेश सांसद लिलाबल्लभ अधिकारीबारे।
अवैध रूपमा तीन जनालाई जापान लैजाने प्रयास गरेकोमा अनुसन्धानको दायरामा तानिए पनि उनलाई मुद्दा नचलाउने जिल्ला सरकारी वकिलको कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट दरपिठ अर्थात् अस्वीकार भएको थियो। दरपिठ गर्ने निर्णयको विरुद्धमा रिट पर्यो। तर सो रिट स्वीकार गरेन। अब घिमिरेले सो मुद्दाबाट कानुनी रूपमै उन्मुक्ति पाएका छन्।
आइतबारै सवारी ज्यानको अभियोगमा प्रहरी हिरासतमा रहेका भाइरल झाँक्री प्रकाश भुजेल पुर्पक्षका लागि कारागार गए। उनले चलाएको गाडीले मोटरसाइकललाई हान्दा त्यसमा सवार दुई जनाको ज्यान गएको थियो।
अब उकेरामा आइतबार प्रकाशित टप फाइभ समाचार
एनपिएलमा जुवा खेलाउने कम्पनीको प्रचार गरेकोबारे क्यानलाई राखेपको पत्र, गृह प्रशासन रमिते
टीयू क्रिकेट मैदानमा भइरहेको एनपिएलले खेल क्षेत्रमा अलग्गै माहौल बनाइरहेको छ। तर यही माहौल क्यास गर्दै खेल क्षेत्रबाट नेपालमा जुवा फैलाउन रणनीतिमा लागेका अन्तर्राष्ट्रिय अनलाइन जुवा कम्पनी पनि उत्तिकै सक्रिय छन्। र नेपालको कानुनले प्रतिबन्ध लगाएको गतिविधीलाई क्यानले नै साथ दिइरहेको छ।
यस विषयमा उकेराले निरन्तर समाचार प्रकाशित गरिरहेको छ। आइतबार यसैको खोजीकाक्रममा एनपिएलको मैदानमा क्यानले जुवाको प्रचार गरिरहेको विषयमा राष्ट्रिय खेलकुद परिषद्ले पत्र पठाएको र जुवाको सञ्जाल फैलँदा पनि नेपाल प्रहरी मूकदर्शक भएकोबारे उकेराले समाचार प्रकाशित गर्यो।
पुरा समाचार : एनपिएलमा जुवा खेलाउने कम्पनीको प्रचार गरेकोबारे क्यानलाई राखेको पत्र, गृह प्रशासन रमिते
समाजसेवी बिनिताको प्रसव पीडा र खुसी : बच्चा जन्माउने बेला मर्छु होला’ भनेर खुब रोएँ
उकेराले महिलाको प्रसव पीडा र खुसी सम्बन्धी अनुभव तीन वर्षदेखि निरन्तर प्रकाशित गर्दै आएको छ। आइतबार प्रकाशित हुने यही कोलम अन्तर्गत आइतबार समाजसेवी बिनिताको प्रसव पीडा र खुसी प्रकाशित भयो।
उनले भनिन् ‘ हस्पिटल जाँदा त पानी धेरै बगेको कारण बच्चालाई अक्सिजनको कमी भएछ। अनि तुरुन्त अप्रेसन गर्नुपर्छ भन्ने कुरा आयो। मलाई निकै डर लागेको थियो।
डरले रोएर म त अप्रेसन कक्षमा समेत जान मानिरहेको थिइन। मेरो यति धेरै बच्चाहरू छ, सबलाई छोडेर कसरी जानु होला भन्ने दिमागमा आयो। अनि मैले डाक्टरलाई पनि प्लिज मलाई बचाइदिनु होला भनेछु।
त्यही बेला हो मैले जन्म दिनुभन्दा अगाडि नै मातृत्व अनुभव गरेछु भन्ने लागेको। रुँदै अप्रेसन कक्षमा गएँ। एनेस्थेसिया पछि के भयो भन्ने याद समेत छैन।‘
पुरा समाचार : समाजसेवी बिनिताको प्रसव पीडा र खुसी : बच्चा जन्माउने बेला मर्छु होला’ भनेर खुब रोएँ
देउवा-गगन नजिकिए, शेखर-गगन टाढिए
नेपाली कांग्रेसको महाधिवेशन नजिक आएसँगै पार्टी भित्रको आन्तरिक समीकरणमा फेरबदल भइरहेको छ। मुख्य त आगामी महाधिवेशनबाट शेरबहादुर देउवाले नेतृत्व छाड्ने भएकाले त्यसपछि नेतृत्वमा आउन नेताहरुबीच समूह हेरफेरकोक्रम सुरु भइसकेको छ।
आगामी महाधिवेशनमा पार्टी सभापतिमा एकै समूहमा रहेका शेखर कोइराला र गगन थापा दुवै इच्छुक देखिएका छन्। यसले यी दुवै आगामी अधिवेशनमा एकै समूहमा नरहने निश्चित समान देखिन्छ।
यी दुबैबीचको सम्बन्ध कस्तो छ? उकेराले पहिल्याउने प्रयास गर्यो आइतबार।
पुरा समाचार : देउवा-गगन नजिकिए, शेखर-गगन टाढिए
युनियन-चौतारीको प्यानल घोषणा सभामा सूचना आयोगका प्रमुख आयुक्त
नेपाल पत्रकार महासङ्घको आगामी नेतृत्वका लागि अलग अलग दुई प्यानल घोषणा भए। यस पटक नेपाली कांग्रेसको नेपाल प्रेस युनियन विभाजित भएको छ।
युनियनको एक समूहले एमालेको प्रेस चौतारी नेपालसँग सहकार्य गरेर संयुक्त प्यानल घोषणा गरेको छ। यो प्यानलको अध्यक्षमा चौतारीकी निर्मला शर्मा छिन्। शर्माको उम्मेदवारीले युनियनमा विद्रोह निम्त्यायो नै उता चौतारीभित्र समेत मतभेद देखिएको छ।
अर्को समूहले युनियनका रमेश विष्टको नेतृत्वमा प्यानल घोषणा गर्यो। यसमा माओवादी निकट प्रेस सेन्टर र एकीकृत समाजवादी निकट सङ्गठनसहित सहभागी छन्।
यी त भए पत्रकारिताको आवरणमा राजनीति गर्नेहरूको समूहका कुरा। आइतबार युनियन र चौतारीको उम्मेदवार घोषणा कार्यक्रममा संवैधानिक निकाय राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त नै सहभागी भए। उनी मञ्चमै बसेका थिए।
प्रधानमन्त्री ओलीसँग सम्बन्ध नबिग्रिएको दाबी गर्दै अर्थमन्त्रीले भने ‘मनको लड्डु घिउसँग खानुहोस्’
पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलको सम्बन्ध चिसिएको समाचार बाहिरिएका छन्। त्यसको असर शेयर बजारमा समेत देखिन थालेको छ।
तर अर्थमन्त्री पौडेलले भने प्रधानमन्त्री ओलीसँग आफ्नो सम्बन्ध नबिग्रिएको दाबी गरिरहेका छन्। उनले आइतबार यसैबारे प्रस्टीकरण दिँदै एक कार्यक्रममा भने ‘मनको लड्डु घ्युसँग खानु।’
मंसिर २३, २०८१ आइतबार २२:१५:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।