सातगाउँले जात्रामा मंगलबार कीर्तिपुरमा सार्वजनिक बिदा
काठमाडौँ : कीर्तिपुर नगरपालिकाले सातगाउँले (न्हेगाँ) जात्रामा मङ्गलबार कीर्तिपुर नगरपालिका क्षेत्रमा सार्वजनिक बिदा दिएको छ।
कीर्तिपुर नगरपालिका नगर कार्यपालिकाको आइतबारको बैठकले बिदाको निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले बताए।
सातगाउँले जात्रा कीर्तिपुरको इन्द्रायणी रथ यात्राबाट सुरु हुन्छ। यस क्रममा पाँगाको बालकुमारी र विष्णु देवीको रथ यात्रा गराइन्छ। चन्द्रागिरि नगरपालिका–१५ स्थित बल्खु किनारमा रहेको विष्णुदेवी मन्दिर परिसरमा वरपरका गाउँका शक्ति पीठबाट समेत रथयात्रा गराउने परम्परा छ।
काठमाडौँको पश्चिमी भेगका सातगाउँका शक्ति पीठमध्ये बल्खुकी विष्णुदेवीलाई आमा र मच्छेगाउँ, बोसीगाउँ, सतुङ्गलका शक्तिपीठ र भैरवलाई सन्तान मानिन्छ।
सातगाउँले जात्रा स्थानीय नेवार समुदायको प्रमुख पर्व भएकाले सातै गाउँमा घरको सरसफाइ, पाहुना पासाको आगमन र पूजाको तयारी सुरु भइसकेको छ।
मंसिर २३, २०८१ आइतबार २१:४१:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।