एनपिएलमा जुवा खेलाउने कम्पनीको प्रचार गरेकोबारे क्यानलाई राखेपको पत्र, अध्यक्ष भन्छन् ‘पारसलाई दिएको छु’

एनपिएलमा जुवा खेलाउने कम्पनीको प्रचार गरेकोबारे क्यानलाई राखेपको पत्र, अध्यक्ष भन्छन् ‘पारसलाई दिएको छु’

काठमाडौँ : नेपाल प्रिमियर लिगको आयोजक क्रिकेट एशोसियन अफ नेपाल (क्यान) र तीन फ्रेन्चाइज टिमले त्रिवि क्रिकेट मैदानमा गरिरहेको अनलाइन जुवा र सट्टा खेलाउने कम्पनीको प्रचारबारे राष्ट्रिय खेलकुद परिषद्ले पत्र पठाएको छ।

प्रहरी, गृह मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालय, र राखेपमा एनपिएलको मैदानमा अनलाइन जुवा खेलाउने कम्पनीको प्रचार सामाग्री राखेकोबारे पत्र पुगेको हो।

टियू मैदानमा भइरहेको एनपिएलको प्रायोजकमध्येको वुल्फत्रिपलसेभेनन्यूज अनलाइन जुवा खेलाउने र सट्टा गराउने वुल्फत्रिपलसेभेनको सरोगेट कम्पनी रहेको प्रमाणित भइसकेको छ। तर एनपिएल आयोजक समितिका अध्यक्ष पारस खड्का भने जुवाको प्रवर्धनमै केन्द्रित देखिएका छन्।

एनपिएलको मैदानमा नेपालको कानुनले प्रतिबन्ध लगाएको अनलाइन जुवाको प्रचार भएकोबारे नेपाल क्रिकेट सङ्घ (क्यान) लाई पत्र पठाएको तर त्यताबाट जवाफ नआएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बताए।

‘हामीले क्यानलाई पत्र पठाइसकेका छौँ। नेपाल प्रहरीले यो विषयमा अध्ययन थालेको छ। अनुसन्धानको गहिराइमा पुग्ने क्षेत्राधिकार निकाय प्रहरी हो’ उनले भने, ‘तर हाम्रो मातहतको हिसाबले नेपालको कानुन विपरीत गरेको कुरालाई ध्यानाकर्षण गराउने, जवाफ माग गर्ने, कानुन विपरीत नगर्न निर्देशन गर्ने काम हाम्रो तर्फबाट भएको छ। कानुन विपरीत गएको छ, त्यो कसलाई छुट होला र?’ 

लिगको मैदानदेखि स्कोर बोर्ड सम्म क्यानले वुल्फत्रिपलसेभेनको सरोगेट कम्पनी र सहभागी आठ टिम मध्ये लुम्बिनी लायन्स, विराटनगर र सुदूरपश्चिमले समेत जर्सीमा जुवा खेलाउने कम्पनीको सरोगेट नामको प्रयोग भइरहेको छ।

पत्रको विषयमा क्यानसँग बुझ्दा पत्र आएको र सचिव पारस खड्कालाई पत्रको जिम्मेवारी दिएको क्यान अध्यक्ष चतुर बहादुर चन्दले बताए।

‘पत्र आएको छ तर जवाफ पठाएको छैन। मैले क्यान सचिव पारस खड्कालाई पठाएको थिए। उतै बुझ्नु न। म अहिले काठमाडौँ बाहिर आएको छु’ उनले भने।

क्यान अध्यक्ष चन्दले वुल्फत्रिपलसेभेनन्युज अनलाइन जुवा खेलाउने वुल्फत्रिपलसेभेनको सरोगेट कम्पनी भएकोबारे आफूलाई जानकारी नभएको तर्क गरे।

उकेराकर्मीले एनपिएलको मैदानबाट जुवा खेलाउने कम्पनीको सरोगेट कम्पनीको प्रचार किन गरेको भनेर क्यानका अध्यक्ष चन्दलाई प्रश्न गरेको थियो।

उनले भने ‘वुल्फत्रिपलसेभेन जुवा खेलाउने कम्पनी हो र? वुल्फत्रिपलसेभेनले जुवा पो खेलाउँछ?’।

पत्रबारे जानकारी लिन एनपिएल आयोजक समितिका प्रमुख तथा क्यानका सचिव खड्कालाई पटक-पटक फोन गर्दा उनले फोन उठाएनन्।

एनपिएलको स्पन्सरको रूपमा नेपालमा प्रतिबन्धित अनलाइन जुवा र सट्टा खेलाउने कम्पनी भित्र्याएर खड्काले मैदानमा प्रचार गराएकोबारे उकेराले एनपिएल सुरु भएदेखि नै निरन्तर प्रमाणसहित समाचार प्रकाशित गरिरहेको छ।

प्रहरीले स्थलगत अनुगमन गरी एनपिएलको मैदानबाट अनलाइन जुवाको प्रचार भएको प्रतिवेदन समेत बुझाइसकेको छ। उपत्यकामा हुने गम्भीर प्रकृतिको अपराधको अनुसन्धान गर्ने निकाय काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गत सोमबार र मङ्गलवार टीयू क्रिकेट मैदानमा गएर क्यानले अनलाइन जुवाको प्रवर्धन गरेको निष्कर्ष निकाल्दै क्यान पदाधिकारीहरूसँग छलफल समेत गरेको थियो। तर सचिव खड्का भने मैदानमा जुवा खेलाउने कम्पनीको विज्ञापन राख्न अडिग देखिएका छन्।

प्रहरीले नेपालको कानुनले प्रतिबन्ध लगाएको विषय नेपालमा भएको खेलमा प्रयोग हुन नसक्ने भन्दै तत्काल मैदानबाट वुल्फत्रिपलसेभेनको विज्ञापन हटाउन आग्रह गर्दा क्यान सचिव खड्काले ‘प्रहरी प्रधान कार्यालयबाट पत्र आए हटाउँला’ भन्ने जवाफ दिएका थिए।

क्यानले एनपिएलको मैदानमा गैर कानुनी काम गरिरहेकोबारे प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पत्र पठाएको थियो। गृहले सोही अनुसार जिल्ला प्रशासन कार्यालय, खेलकुद मन्त्रालयमा पत्र पठाएको थियो।

क्यानले एनपिएलमा ल्याउनु भन्दा अघि नै २०८१ असार २३ मा नेपालमा वुल्फत्रिपलसेभेनका एजेन्टहरू पक्राउ परेका थिए। वुल्फत्रिपलसेभेनको एजेन्ट बनेर जुवा खेलाएको आरोपमा नेपाली र भारतीय नागरिक पक्राउ परेका थिए।

जसमा नितेश हरिजन, आकाश मिश्र, प्रतीक बस्याल, रामु गिरी, सजल श्रेष्ठ र अभिषेक जैसवाललाई पक्राउ गरेको थियो। तर अनुसन्धान सकिँदासम्म विजय जैसवाल,रविन प्रसाद कानु र दुर्गाराज क्षेष्ठ पक्राउ परेका थिएनन्। उनीहरूलाई फरार प्रतिवादीको रूपमा असार २२ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। तर पक्राउ आरोपीहरू असार २५ मा धरौटीमा मुक्त भएका थिए।

जुवा सम्बन्धी के छ कानुनी व्यवस्था

नेपालको ‘जुवा ऐन २०२०’ अनुसार जुवा भन्नाले सम्पत्ति हार्ने वा जित्ने गरी कुनै संयोग आधारमा बाजी थापी खेलेको कुनै खेल सम्झनुपर्ने भनिएको छ। तर, नेपाल सरकारको अनुमति लिई आयोजना गरिएको कुनै सार्वजनिक चिट्ठा र मनोरञ्जनको लागि कुनै सार्वजनिक मेला वा प्रदर्शनीमा खेलिएको खेललाई नजनाउने उल्लेख गरिएको छ।

‘मुलुकी अपराध संहिता २०७४’को दफा १२५ मा पनि ‘जुवा खेल्न नहुने वा सट्टाबाजी गर्न नहुने’ प्रावधान छ। जसको उपदफा ४ मा सट्टाबाजी गर्नु वा गराउन नहुने भनिएको छ। त्यसलाई थप प्रस्ट पार्दै उपदफा ५ मा ‘कसैले कानुन बमोजिम खेल्न खेलाउन नहुने कुनै खेल वा प्रक्रियामा खास पक्षले हारेमा वा जितेमा कुनै चल अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने गरी बाजी थापेमा सट्टाबाजीको कसुर गरेको मानिने’ उल्लेख छ।

वुल्फत्रिपलसेभेनन्यूजले नेपालमा जुवा प्रचार गर्न वास्तविक कम्पनीको नाम प्रयोग नगरी सरोगेट कम्पनीको प्रयोग गरेर गैर कानुनी काम गरिरहेको पुष्टि हुन्छ। अनि क्यानदेखि सहभागी टिमले पनि सरोगेट कम्पनी त हो नि भनेर जुवा प्रवर्धन गरिरहेको देखिन्छ।

यो पनि:-

मंसिर २३, २०८१ आइतबार १९:४२:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।