सवारी ज्यान मुद्दामा झाँक्री प्रकाश भुजेल जेल गए, अदालतले धरौटीमा छाड्न मानेन
काठमाडौँ : सवारी ज्यान मुद्दामा झाँक्री प्रकाश भुजेल पुर्पक्षका लागि थुनामा गएका छन्। जिल्ला अदालत काठमाडौँले आइतबार थुनछेकको बहस सकिएपछि भुजेललाई धरौटीमा छाड्न अस्वीकार गर्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।
जिल्लाको आदेश कायम रहेसम्म अब भुजेलले थुनामा रहेर मुद्दाको बाँकी प्रक्रियामा सहभागी हुनेछन्।
कार्तिक २८ गते काठमाडौँको शंखरापुर नगरपालिका–९ मा रहेको ब्रम्हखेलमा झाँक्रीले चलाएको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा कागेश्वरी मनोहरा–२ घर भएका नारायण नगरकोटी र उनकी पत्नी सानुमायाको मृत्यु भएको थियो।
तीव्र गतिमा आएको गाडीले दुवै जनालाई ठक्कर दिएपछि झाँक्री भागेका थिए। पछि उनले प्रहरी वृत्त बौद्धमा आएर आत्मसमर्पण गरेका थिए।
झाँक्रीले लापरबाहीपूर्ण रूपमा तीव्र गतिमा चलाएको बा.१९ च २६९५ नम्बरको गाडीले बागमती प्रदेश–०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार नारायण नगरकोटी दम्पतीको मृत्यु भएको सरकारी पक्षले दाबी गरेको थियो।
झाँक्रीका पक्षकाले उनलाई धरौटीमा छाड्न माग गरे पनि अदालतले भने मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म हिरासतमा राख्न आदेश दियो।
मंसिर २३, २०८१ आइतबार १८:५३:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।