मानव तस्करीको मुद्दामा लिलाबल्लभलाई सर्वोच्चबाट समेत राहत, रिट दरपिठको निर्णय सदर

मानव तस्करीको मुद्दामा लिलाबल्लभलाई सर्वोच्चबाट समेत राहत, रिट दरपिठको निर्णय सदर

काठमाडौँ : अवैध मानव तस्करीको मुद्दामा अनुसन्धानका लागि पक्राउ परे पनि कोशिका सांसद लिलाबल्लभ अधिकारीलाई प्रतिवादी नबनाउने जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले गरेको निर्णय सर्वोच्चले सदर गरेको छ।

अधिकारीलाई प्रतिवादी नबनाउने सरकारी वकिलको कार्यालयको निर्णयविरुद्ध परेको रिट दरपिठ भएकोमा दरपिठ विरुद्ध परेको रिटमा सो कानुन सम्मतै रहेको आदेश दिएको हो।

आइतबार सर्वोच्चका न्यायाधीश कुमार चुडालको एकल इजलासले सर्वोच्च प्रशासनबाट रिट निवेदन दरपिठ गर्ने निर्णय कानुन सम्मत नै भएको आदेश गरेको हो। सर्वोच्चको आइतबारको आदेशसँगै अधिकारी प्रतिवादी हुनबाट पूर्ण रूपमा जोगिएका छन्।

तीन जना व्यक्तिसँगै जापानका लागि गएका अधिकारीसहित सबै जापानको विमानस्थलबाट डिपोर्ट भएर नेपाल फर्किएको घटनाबारे जिल्ला प्रहरी कार्यालय काठमाडौँले अनुसन्धान गर्दै अधिकारीसहितलाई प्रतिवादी बनाउन प्रस्तावित राय र सुझाव दिए पनि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले अधिकारीको हकमा प्रतिवादी बनाउन नपर्ने निर्णय गरेको थियो।

सो निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट पेस गरे पनि मङ्सिर १६ मा अदालतका रजिस्ट्रार भद्रकाली पोखरेलले रिट दर्ता गर्न अस्वीकार गरेका थिए।

रिट दरपिठ भएपछि त्रिपाठीले गत शुक्रवार सर्वोच्चमा रिट पेस गरेका थिए। दरपिठविरुद्धको रिटमा आइतबार सुनुवाईहुँदै सर्वोच्च प्रशासनको निर्णय सदर गर्यो।

मंसिर २३, २०८१ आइतबार १८:३९:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।