एनपिएल : चितवनसँग सुदूरपश्चिमको पहिलो हार, जनकपुरको जितको यात्रा जारी, लुम्बनी चौथो खेलमा पनि हार्यो
काठमाडौँ : नेपाल प्रिमियर लिग(एनपिएल) को आइतबारको खेलमा सुदूरपश्चिम रोयल्स चितवन राइनोज्सँग पराजित भयो। आइतबारको दोस्रो खेलमा सुदूरपश्चिम चितवन राइनोजसँग ३३ रनले पराजित भएको हो। सुदूरपश्चिमले आइतबार चितवनसँग चौथो खेल खेलेको थियो।
उसले यस अगाडिको तीनवटै खेल जितेको थियो। यस अगाडि सुदूरपश्चिमले विराटनगर, काठमाडौँ गुर्खाज र लुम्बिनीलाई हराएको थियो।
चितवनले ब्याटिङ गर्दै सुदुरश्चिमलाई जितका लागि १ सय ६५ रनको लक्ष्य दिएको थियो। तर सुदूरपश्चिम रोयल्स १८.२ ओभरमा १ सय ३१ रनमै अल आउट भयो। सुदूरपश्चिमका इशान पाण्डेले सर्वाधिक ३५ रन बनाएका थिए। उनले १९ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए।
सेफ जेब १८, विनोद भण्डारीले १०, दिलप्रित बाज्वाले १२ र नरेन साउदले १० रन बनाएका थिए। चितवनका लागि कप्तान कुशल मल्ल, जान निकोल लफ्टी इटन, अमरसिंह राउटेलाले २-२ विकेट लिए भने रिजन ढकाल र रञ्जित कुमालले समान १-१ विकेट लिए।
टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो। चितवनका ओपनर हसन इसाखिलले सर्वाधिक ६५ रन बनाए।
रवि बोपाराले ३६, कप्तान कुशलले १३, विपिन रावलले १७ रन बनाएका थिए। सुदूरपश्चिमका स्कट कुगेलेनले २ र सेफ जेब, दीपेन्द्रसिंह ऐरी र ब्रेन्डन मक्मलनले १-१ विकेट लिएका थिए।
आइतबार चौथो खेल खेलेको चितवनको यो तेस्रो जित हो। चितवनले यस अगाडि काठमाडौँ र पोखरालाई हराएको थियो भने कर्णालीसँग हारेको थियो।
जनकपुरको जित यात्रा जारी, लुम्बिनी चारै खेलमा पराजित
आइतबारको पहिलो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई रोमाञ्चक रूपमा १ रनले पराजित गरेको थियो। जनकपुरले यो सँगै लगातार ४ खेल जितेको छ। लुम्बिनी लगातार चौथो खेल पनि हारेको छ।
आइतबारको पहिलो खेलमा जनकपुरले १ सय ३६ को मध्यम लक्ष्य दिए पनि लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३५ रन मात्र बनायो।
लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३५ रन जोडेका थिए। अन्तिम बलमा जितका लागि १ रन आवश्यक रहेकोमा हर्ष ठाकरले सन्दीप जोरालाई आउट गराएपछि जनकपुरले लगातार चौथो जित निकाल्यो।
टम मुर्सले ३१ रन जोडेका थिए। आशुतोष घिरैयाले ८ रन जोडे। अर्जुन साउद २३ बलमा २० रन बनाउँदै आउट भएका थिए।जनकपुरका लागि हर्षले ५ तथा किशोर महतो, शेर मल्ल र ललित राजवंशीले समान १ विकेट लिएका थिए।
टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो। जनकपुरका कप्तान अनिल शाहले सर्वाधिक ४५ रन जोडेका थिए।
लाहिरु मिलन्थाले २४ रन बनाए। शुभ कसांकरले २४ बलमा नट आउट रहेर २२ रन जोडेका थिए। लुम्बिनीका अभिशेषले ३ विकेट लिए । कप्तान रोहित र साद विन जाफरले समान २-२ र सन्दीपले १ विकेट लिएका थिए।
मंसिर २३, २०८१ आइतबार १७:१३:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।