युनियन-चौतारीको प्यानल घोषणा सभामा सूचना आयोगका प्रमुख आयुक्त, युनियनका विष्टको अलग्गै प्यानल
काठमाडौँ : पत्रकार महासंघको नयाँ नेतृत्वमा नेपाली कांग्रेस निकट प्रेस युनियन र एमाले निकट प्रेस चौतारीको संयुक्त प्यानल घोषणा कार्यक्रममा मञ्चमा देखिए सूचना आयोगका प्रमुख आयुक्त सुरेश आचार्य। नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष समेत रहेका उनलाई मन्त्रिपरिषद्ले सूचना आयोगको प्रमुख आयुक्तमा नियुक्तिको निर्णय गरेको थियो।
आचार्य महासङ्घमा प्रेस युनियनकोतर्फबाट लामो समयदेखि उम्मेदवार गृहकार्यमा संलग्न हुँदै आएका थिए। उनी यस पटक पनि युनियनको उम्मेदवार चयनमा संलग्न थिए। उनले पद बहाली गरिसकेका छैनन्। तर संवैधानिक आयोगको प्रमुखमा नियुक्त भइसकेका उनी राजनीतिक दलका भातृ संगठनको कार्यक्रममा सहभागी भए।
आइतबार आयोजित घोषणा सभामा मञ्चमा महासंघको निर्वाचन गर्न नसकेर राजीनामा दिएर हिँडेका महासंघका तत्कालीन अध्यक्ष विपुल पोखरेल, प्रेस युनियनका अध्यक्ष शिव लम्साल, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत र महासंघका पूर्व अध्यक्ष महेन्द्र विष्ट थिए।
प्रेस युनियन र प्रेस चौतारीले संयुक्त रूपमा गरेको कार्यक्रममा उपस्थिति निकै पातलो थियो। कार्यक्रममा युनियन र चौतारीको तर्फबाट महासंघको नयाँ नेतृत्वका लागि प्रेस चौतारीको तर्फबाट निर्मला शर्माको नेतृत्वमा प्यानल घोषणा गरिएको थियो।
५२ सदस्यीय केन्द्रीय समितिका लागि हुने निर्वाचनमा शर्माको प्यानलमा युनियनका दीपक आचार्य वरिष्ठ उपाध्यक्षमा छन्। महिला उपाध्यक्षमा चौतारीकी नितु पण्डित छिन्। समावेशी उपाध्यक्षमा उमिद प्रसाद वागचन्द र महासचिवमा युनियनका रामप्रसाद दाहाल छन्।
सचिवमा रमेश खतिवडा, महिला सचिवमा सोनी शर्मा, आदिवासी जनजाति सचिवमा सविन प्रियासन, मधेसी सचिवमा अशोक कुमार तिवारी, दलित सचिवमा प्रकाश धौलाकोटी, एसोसिएट सचिवमा वैकुण्ठराज पराजुली र कोषाध्यक्ष रामकृष्ण ज्ञवालीको नाम घोषणा गरियो।
महासंघको नयाँ नेतृत्वका लागि नेपाल प्रेस युनियनका रमेश विष्टले प्रेस सेन्टरसहितका सङ्गठनहरूसँग मिलेर अर्को प्यानल घोषणा गरेका छन्। प्रेस सेन्टरले समेत अध्यक्षमा उम्मेदवारी दिएकोमा विष्टको प्यानललाई समर्थन गर्दै कमल गिरीले आइतबार उम्मेदवारी फिर्ता लिएका थिए।
विष्ट यस अगाडिको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष थिए। विपुल पोखरेलले राजीनामा दिएपछि निर्वाचन गराउने जिम्मेवारी उनले पाएकोमा उनी पनि राजीनामा दिएर हिँडेका थिए। दुबैले राजीनामा दिएपछि महिला उपाध्यक्ष बाला अधिकारीको नेतृत्वमा महासंघको निर्वाचन हुँदैछ।
विष्टको प्यानलमा युनियनको उम्मेदवारीबाट असन्तुष्ट समूहसँगै माओवादी केन्द्रको प्रेस सेन्टर, एकीकृत समाजवादीको समाजवादी पत्रकार सङ्गठन लगायत ६ वटा संस्थाको समर्थन रहेको दाबी गरेका छन्।
विष्टको प्यानलमा वरिष्ठ उपाध्यक्षमा प्रेस सेन्टरका रोशन पुरी छन्। उनी यस अगाडि युनियन-सेन्टर प्यानलबाट महासचिवमा जितेका थिए। महिला उपाध्यक्षमा गङ्गा पौडेल (बराल), समावेशी उपाध्यक्षमा सुभाष प्रसाद साह र महासचिवमा प्रेस सेन्टरका लेखनाथ न्यौपाने छन्।
खुला सचिवमा उत्तरसिंह विष्ट, मधेसी सचिवमा श्रीजन झा, महिला सचिवमा सरिता बराइली, दलित सचिवमा वसन्त विक, आदिवासी जनजाति सचिवमा भीषण राई, एशोसिएट सचिवमा विकास कार्की र कोषाध्यक्षमा रामकृष्ण अधिकारीले उम्मेदवारी दिएका छन्।
यी दुई प्यानल बाहेकका उम्मेदवार पनि मैदानमा छन्। जन्मदेव जैसीले महासचिवमा उम्मेदवारी दिएका छन्। प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारीले खुल्ला सचिवमा उम्मेदवारी दिएका छन्।
युनियनको निर्णयबाट असन्तुष्ट झाले छाडे सल्लाहकार पद
युनियनले महासंघको निर्वाचनमा कोसँग सहकार्य गर्ने भन्ने विषयमा सल्लाह नै नगरेको भन्दै धर्मेन्द्र झाले सल्लाहकार पदबाट राजीनामाको घोषणा गरे। उनी महासंघको पूर्व अध्यक्ष समेत हुन्।
झाले सामाजिक सञ्जालमा लेख्दै आफूसँग निर्वाचनको विषयमा कुनै सल्लाह नगरिएको र सल्लाह नलिने, सल्लाह नमान्ने र सल्लाह नै आवश्यक नपर्ने ठाउँमा सल्लाहकार भन्दै बसिरहनुको तुक नभएको भन्दै उनले सल्लाहकार पद त्यागेको घोषणा गरेका छन् ।
मंसिर २३, २०८१ आइतबार १६:०१:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।