देउवा-गगन नजिकिए, शेखर-गगन टाढिए
काठमाडौं : नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा तपाईंको प्यानलबाट तपाईं उम्मेदवार होकी महामन्त्री गगन थापा हुन्? शनिबार भरतपुर विमानस्थलमा कांग्रेस नेता डा शेखर कोइरालालाई सञ्चारकर्मीले सोधेका प्रश्न हो यो। जवाफमा शेखरले भनेका थिए, ‘महाधिवेशन प्रतिनिधि, केन्द्रीय सदस्य उठ्ने अधिकार छ। म उठ्दैछु क्लिएर छ। गगनजी उठ्नु हुन्छ हुन्न उहाँलाई सोध्नुस्।’
सभापतिको उम्मेदवारमा तयारी गरेका शेखरसँगै उनकै समूहबाट गगनको पनि तयारी छ। यही विषयमा अहिले शेखर-गगनबीच खटपट छ। जुन सतहमै देखिने गरेको छ। जसको पछिल्लो उदाहरण हो, कांग्रेसको पहिलो कोशी प्रदेश भेलालाई शेखरले बहिष्कार गर्नु र महामन्त्री गगन उपस्थित हुनु।
शनिबार विराटनगरमा भएको कोशी भेलामा सभापति शेरबहादुर देउवापछिको वरीयता नपाएपछि शेखरले आफ्नै प्रदेशमा भएको भेला बहिष्कार गरे। तर, सभापति देउवाले उद्घाटन गरेको भेलामा उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखकसँगै गगन पनि सहभागी भए। कार्यक्रमलाई सम्बोधन गर्दै उनले सभापति देउवालाई पार्टीभित्र असहमति भए त्यसलाई मिलाएर लैजान आग्रह गरे।
भेलालाई नेताहरूले १५औं महाधिवेशनलाई लक्षित गरेर गतिविधि अघि बढाएको बुझ्न कठिन छैन। तर, बिडम्बना! भेलाले कांग्रेसभित्रको गुट झन् सतहमा छरपस्ट गराइदियो। महाधिवेशन नजिकिएकै कारण पनि शेखर र गगनबीच समन्वय हुन छाडेको छ। उनीहरूले १५औं महाधिवेशनलक्षित गतिविधि बढाइरहेका छन्। शेखर व्यक्तिगत रूपमा व्यक्तिहरू जोडेर आफ्नो माहौल बढाउन चाहन्छन् भने गगन मूल नेतृत्व ल्याएर ढिक्का संगठन नै आफ्नो पक्षमा पार्न चाहन्छन्। त्यसका लागि सभापति देउवालाई खुसी पार्नु गगनको पछिल्लो उद्देश्य हो। किनकी देउवाले जसलाई समर्थन गर्छन्, उही कांग्रेसको भावी सभापति हुने निश्चितप्राय: छ।
गगनले मात्र नभएर शेखरले पनि देउवालाई खुसी पार्न नखोजेका भने हैनन्। अलि अगाडि शेखरले संस्थापन बन्ने प्रयास गरे। तर, देउवाले 'ग्रीन सिग्नल' नदिएपछि उनी आफ्नै तवरले जिल्ला दौडाहामा निस्किएका छन्। उनी विभिन्न जिल्ला पुगेर त्यहाँको अवस्था बुझिरहेका छन्। १४औं महाधिवेशन दोस्रो चरणमा गएर सभापति हारेका उनी १५औं महाधिवेशनमा निर्वाचित हुन चाहन्छन्। तर, १४औं महाधिवेशनमा सँगै रहेका गगन छुटिँदा उनलाई सकस हुनेछ।
...त्यसपछि गगनसँग शेखरको मन दुखेको थियो
आगामी महाधिवेशनमा को सभापति उठ्ने भन्ने विषयले मात्र शेखर-गगन दूरी बढेको हैन, त्यसअघि कोशी प्रदेशमा कांग्रेसका केदार कार्कीलाई एमालेको समर्थनमा मुख्यमन्त्री बनाउँदै गर्दा शेखरले गगनको साथ नपाएपछि मन दुखाएका थिए। त्यस प्रकरणमा शेखरले आफ्नो समूहसँग भर्खरै नजिकिदै गरेका महामन्त्री विश्वप्रकाश शर्मा र आफ्नै समूहका महामन्त्री गगनको सहयोगको अपेक्षा गरेका थिए। तर, उनले सहयोग पाएनन्। किनकी शेखरले कोशीमा केदार कार्कीलाई मुख्यमन्त्री बनाउने निर्णय पार्टीबाटै गराउन चाहेका थिए।
‘दुईवटा महामन्त्री सभापतिसँग मिलेर कांग्रेसको भागमा परेको मुख्यमन्त्री माओवादीलाई दिने हामीले कस्तो पार्टी बनायौं?, त्यसबेला शेखरले भनेका थिए।
उता, गगनले पनि कोशीका मुख्यमन्त्री केदार कार्कीलाई सार्वजनिक बधाइसमेत दिएनन्। लामो समय शेखरसँग असन्तुष्ट हुँदै बोलचालसमेत गरेनन्। शेखरले बोलाएको गुट भेलामा उपस्थित समेत भएनन्।
देउवाको मन जितेर सभापति बन्ने दाउमा गगन
१५ औं महाधिवेशनलाई लिएर अहिले संस्थापन समूहमा भावी सभापतिको उम्मेदवारको खडेरी छ। त्यसो त देउवा क्याम्पमा विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का सभापति बन्ने आकांक्षामा छन्। तर, देउवाले भने उनीहरू कसैलाई पनि ग्रीन सिग्नल दिएका छैनन्। मौन बस्नेमा देउवा मात्र हैन, गगन पनि यो विषयमा मौन छन्, यो पनि अर्थपूर्ण मानिन्छ। यसको संकेत आगामी महाधिवेशनमा देउवाले गगनलाई समर्थन गर्न सक्छन् भन्नेमा हो। त्यसैको कसरतमा पछिल्लो समय देउवासँगको दूरी घटाइरहेका छन् गगन।
पछिल्लो समय देउवा-गगन दूरी घटेको बलियो आधार भनेको आफूले गर्ने हरेकजसो निर्णयहरूमा देउवाले गगनलाई सोध्नु र सुझाव लिनु पनि हो। सरकारमा मन्त्री पठाउनेदेखि रास्वपा सभापति रवि लामिछाने पक्राउसम्म देउवा र गगन नजिक छन्। सँगैमा गगनले पनि आजभोलि शेखरका कार्यक्रमहरूमा त्यतिधेरै चासो लिएर गएको देखिंदैन।
देउवा-गगन नजिकिनुमा सहकारी प्रकरण मूख्य हो। गत असोज २ मा नेपाली कांग्रेसले सानेपास्थित पार्टी मुख्यालयमा आयोजित एक महिने विशेष अभियानको शुभारम्भ कार्यक्रममा सहकारी ठगी प्रकरणमा गगनलाई सभापति देउवाले दिएको धन्यवाद र गगनले देउवालाई दुई वर्षपछि प्रधानमन्त्री बन्ने विषय स्वीकार गरे।
त्यसबेला गगनले दुई वर्ष सरकारको नेतृत्व एमाले अध्यक्ष केपी ओलीले गरेपछि देउवा प्रधानमन्त्री बन्ने स्वीकार गरे। जबकी उनकै समूहमा रहेका नेता शेखरले यही दुई वर्षको अवधिमा दलको नेता बदल्नुपर्ने बताउँदै आएका छन्।
सभापतिले देउवाले सार्वजनिक रूपमा आफ्ना बिरलै कार्यकर्ताहरूको प्रशंसा गर्छन्। तर, त्यही कार्यक्रममा भने गगनलाई हाँसेरै धन्यवाद दिए। सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने पनि दोषी रहेको भन्दै संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेपछि कांग्रेसले उठाएको मुद्दा स्थापित भएको र त्यसको धन्यवादको पात्र गगन भएको देउवाको बुझाइ छ।
त्यसो त पछिल्लो समय कोशी प्रदेशमा आफ्नो समूहको तर्फबाट एक जना पनि मन्त्री नबन्दासमेत गगनले त्यसको विरोध गरेनन्। राजदूत लगायतका नियुक्तिहरूमा आफ्नो समूहको भाग माग्न पहिला जति उग्र हुन्थे गगन, पछिल्लो समय नरम हुन थालेका छन्। यसले पनि उनी देउवासँग नजिक हुन चाहेको बुझिन्छ।
त्यसै पनि आगामी महाधिवेशनमा देउवा समूहबाट सभापति बन्ने उम्मेदवारको खडेरी नै छ। यदाकदा देउवाले शशाङ्क कोइरालालाई सभापतिमा समर्थन गर्ने चर्चा भएपनि त्यो त्यति सजिलो भने छैन। यही सत्यलाई बुझेका गगनले देउवालाई रिझाउन कोसिस गरिरहेका छन्। त्यसको पछिल्लो उदाहरण हो, गगनले आगामी चुनावमा एक्लै लड्ने भनेर राखेको प्रस्ताव देउवाले समर्थन गर्नु।
देउवाले मात्र हैन, गगनले पनि देउवाको समर्थन गरेका पछिल्ला घटनामध्ये नयाँ कांग्रेस-एमाले गठबन्धनलाई सहजै स्वीकार गर्नु एक उदाहरण हो। एक पछिल्लो एमाले-माओवादी गठबन्धन हुँदा कांग्रेस प्रतिपक्षीमा थियो, त्यसबेला ८४ सम्म कांग्रेस सरकारमा जान नहुनेमा थिए गगन तर, देउवा र उनकी पत्नी आरजुले रातारात ओलीसँग मिलेर कांग्रेस-एमाले नयाँ गठबन्धन बनाएपछि गगनले सहज स्वीकार गरे।
अर्कोतिर पछिल्लो समय शेखर सरकारको कामप्रति त्यति सन्तुष्ट देखिँदैनन्। उनले सार्वजनिक रूपमै पटक-पटक सरकारको काम चित्तबुझ्दो नभएको बताइरहेका छन्। तर, सरकारको कटुआलोचक मानिने गगन भने सरकारको गतिविधिबारे खुलेर बोलेका छैनन्। किनभने सभापति देउवाले सरकारले राम्रो काम गरिरहेको भन्दै खुलेर कयौंपटक प्रशंसा गरेका छन्।
१५औं महाधिवेशनमा सभापतिको तयारी गरिरहेकाले पनि गगनका पछिल्ला अभिव्यक्तिहरू हेर्दा उनी सभापति देउवालाई चिढ्याउने पक्षमा देखिँदैनन्। देउवा पक्षका ८४ प्रतिशत सदस्यलाई खुसी पार्दै अर्कोपटक सभापतिमा निर्वाचित हुने उनको दाउ छ।
मंसिर २३, २०८१ आइतबार १२:४४:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।