'बेकामे' दमक भ्यू-टावरको उद्घाटन गर्न जाँदै छन् प्रधानमन्त्री ओली

'बेकामे' दमक भ्यू-टावरको उद्घाटन गर्न जाँदै छन् प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज दमकमा १८ तले भवन (भ्यू-टावर) को उद्घाटन गर्ने भएका छन्। 

झापाको दमक नगरपालिका-३ दापगाछीमा एक अर्ब ४५ करोडको लागतमा निर्मित भवनको प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

'दमक बिजनेस कम्प्लेक्स' नामकरण गरिएको उक्त भवन चिनियाँ निर्माण कम्पनी जेडसिजीआइआइसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन्। प्रधानमन्त्री ओलीले नै पाँच वर्षअघि भवन निर्माणको शिलान्यास गरेका थिए।

नेपालकै राष्ट्रिय गौरवको परियोजनाका रुपमा दमक भ्यू टावरको निर्माण दमक बजारभन्दा तीन किलोमिटर टाढा ढुकुरपानी गाउँमा २०७६ को असार २७ मा सुरू भएको थियो।

करिब ५ वर्षमा निर्माण सम्पन्न भएको ५ बिघा क्षेत्रमा फैलिएको भ्यू टावर अहिले प्रयोगविहीन भइ थन्किएको छ। कसले के चलाउने भन्ने बारे स्थानीयमात्र हैन, स्थानीय सरकार पनि बेखबर छ। दमक नगरपालिकाका प्रमुख राम थापाका अनुसार अर्बौं लगानीमा भ्यू टावर बनेपछि त्यहाँसम्म पुग्ने सडकको पनि बेहाल छ।

प्रधानमन्त्री ओलीको गृहनगर दमकको वडा नम्बर ३ दापगाछीमा बनेको भ्यू टावरबाट माथिका कुनै पनि दृश्य देख्न सकिँदैन। तराईको समथर भूभागमा निर्माण भइरहेको भ्यू टावरबाट पर्यटकले छेउछाउको फाँटबाहेक अन्य दृश्य देख्न सक्ने छैनन्। पर्यटन प्रवर्द्धन गर्ने मुख्य लक्ष्य लिएर भ्यू टावर निर्माण गरिए पनि भौगोलिक अवस्थाका कारण अपेक्षित लक्ष्य हासिल गर्न सक्ने अवस्था नरहेको स्थानीय बताउँछन्।

दमक क्षेत्रमा कैयन् बाटाघाटा कालोपत्रे गर्न बाँकी नै छ। कतिपय सरकारी विद्यालयको भौतिक संरचनासमेत लथालिङ्ग छन्। यति धेरै विकासका कामहरु बाँकी छँदै भ्यू टावरमा यति ठूलो लगानी हुनुमा केही फरक स्वार्थ रहेको स्थानीयकै गुनासो छ। अझ कत्तिले त यसलाई बेकामे योजना समेत भनेका छन्। 

धरहराभन्दा अग्लो ‘दमक भ्यू टावर’
नेस्ट, पिकासो र नेपाल आर्किटेक्चर कम्पनीले नक्साङ्कन गरेको दमक भ्यू टावरको अग्लाइअनुसार १८ तलाको भवन निर्माण भएको छ। आयोजनाका इन्जिनियर भूपेन्द्र यादवका अनुसार १८ तलाको क्रङ्क्रिट ढलान कार्य सकिएर त्यहाँभन्दा माथिको २८ मिटर अग्लो स्टिल टावर निर्माण भएको छ।  

भ्यू टावरको पूरै भवनको संरचना एक सय मिटर अग्लो हुनेछ। यो काठमाडौको पुनःनिर्माण भएको धरहराभन्दा १६ मिटर अग्लो हो। हालसम्म १८ तलाको भवन निर्माणसँगै परिसरको टिकट काउन्टर, कोसेली घर, चिल्ड्रेन पार्क, सार्वजनिक शौचालय र खुला ठाउँ थिएटरको निर्माण सम्पन्न भइसकेको छ। टावरको हरेक तला चार मिटर उचाइको छ।

भूकम्प, चट्याङ र आगलागी प्रतिरोधी प्रविधि प्रयोग गरेर निर्माण गरिएको हुँदा यो भ्यू टावर सबै जोखिमका दृष्टिले सुरक्षित र अत्याधुनिक रहेको छ। चट्याङ नलागोस् भनेर ‘लाइटिङ एरेस्टर’ उपकरण र आगलागी रोक्न स्वचालित ‘स्प्रिङ्कल सिस्टम’ समेत भवनमा जडान गरिएको छ। स्प्रिङ्कल सिस्टम भनेको आगलागी भएको आफैं थाहा पाउने र आफैं पानी हालेर निभाउने प्रविधि हो। 

विस्तृत परियोजना प्रस्ताव (डिपिआर) अनुसार निर्माणाधीन यस भ्यू टावरको भुइँतलामा ४० वटा चारचक्के र दुई सय वटा दुईचक्के सवारीसाधन अट्ने क्षमताको पार्किङस्थल रहनेछ। चारवटा तलामा व्यापारिक प्रयोजनका पसलहरु, पाँचौँ तलामा सेमिनार हल, छैटौँदेखि नवौँ तलासम्म बैंक, वित्तीय संस्थालगायत व्यापारिक केन्द्र, दशौँदेखि चौधौैँ तलासम्म कृषि तथा औद्योगिक सामानको प्रदर्शनी हल, पन्ध्रौँ र सोह्रौँ तलामा रेस्टुरेन्ट र लज बन्नेछन् भने सत्रौँ र अठारौँ तलामा दृश्यावलोकन उपकरणसहितको कक्ष रहनेछ। 

मंसिर २३, २०८१ आइतबार ०९:३८:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।