एघार वर्षपछि आँखा देख्न पाएपछि दंग छन् घिसिङ दिदी-भाइ

एघार वर्षपछि आँखा देख्न पाएपछि दंग छन् घिसिङ दिदी-भाइ

धुलिखेल : दुवै आँखा नदेखेका कारण आफन्त र छरछिमेक चिन्न नसक्ने प्रकाश घिसिङ अहिले राम्रोसँग आँखा देख्ने भएपछि दङ्ग छन्। काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका-३ सानोपोखराका उनले १३ वर्षपछि आँखा देख्न पाएको बताए।

नजिकको मात्रै अलिअलि देख्ने उनको नजिक आएर बोलेपछि बोलीबाट मात्रै मान्छे चिन्ने गरेका थिए। उनले यसरी नै ११ वर्ष बिताएपछि गाउँमा सञ्चालित आँखा शिविरमा शल्यक्रियापश्चात छ्याङ्गै आँखा देखेपछि खुसीले उनी दङ्ग भएका छन्।

'जन्मेको दुई वर्षदेखि आँखा देख्न छाडेपछि घिसङगाउँमा नै सञ्चालन भएको आँखा शिविरबाट नयाँ जीवन पाएकामा धेरै खुसी छु, उन भने, आँखा देख्ने भएपछि अहिले गाउँघर, छरछिमेक, साथीभाइ र डाँडापाखा सबै देख्न र हेर्न पाएकामा खुसी छु।'

प्रकाशमात्र होइन, दिदी सुस्मिता घिसिङको पनि अवस्था उस्तै थियो। गाउँकै कक्षा ६ मा अध्ययनरत उनले धेरै नजिकको मात्रै देख्ने र टाढाको कुनै पनि वस्तु देख्न नसक्ने अवस्थामा रहेको बेला आँखा शिविरबाट नयाँ जीवन पाएको बताइन्। 

दिउँसो जसोतसो हिँडडुल गरे पनि राति अरूको सहारामा हिँड्नुपर्ने बाध्यता रहेको उनले शल्यक्रियपश्चात राम्रोसँग देख्न पाएको बताइन्। जन्मेको दुई वर्षदेखि आँखा देख्न छाडेको थियो।

'देख्न ठप्पै भएपछि बेलाबखत आँखा उपचारका लागि जाउँ भन्ने कुरा आए पनि खर्च अभावका कारण हामीले उपचार गर्न पाएका थिएनौं, सुस्मिताले भनिन्, गाउँमा आएको शिविरमा उपचारपछि बल्ल सबै चिज देख्न पाएका छु।'

दुई जनामात्र होइन, गाउँमा सञ्चालन भएको आँखा शिविरबाट एक हजार तीन सय ६ जनाले घर-आँगनमा नै उपचार सेवा पाएका छन्।

तिलगङ्गा ख्वप आँखा अस्पतालका इन्चार्ज धिरज अधिकारीले शिविरमा आँखा परीक्षणबाट छनोट भएका मोतियविन्दुका बिरामीको घर्तिछाप स्वास्थ्य चौकीमा डा सुदीप राजभण्डारीको नेतृत्वमा एक सय ३५ जनाको शल्यक्रिया गरेको बताए। 

त्यस क्रममा शल्यक्रियासहित आवश्यक औषधि र चस्मालगायत सामग्री निःशुल्क वितरण गरिएको थियो। शिविरमा १३ वर्षदेखि १०० वर्षसम्मका नागरिकको आँखा परीक्षण गरिएको थियो। 

मंसिर २३, २०८१ आइतबार ०७:३९:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।