उकेरा टप फाइभ : डा. शिवराजको उपचार अनुभवदेखि बिहेपछि गुमनाम गायिकाहरूको नालीबेलीसम्म
काठमाडौं : आज राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरी डिस्चार्ज भएका छन्। उनी गत बुधबार प्रोस्टेटसम्बन्धी उपचारका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका थिए। उनको सोही दिन प्रोस्टेटसम्बन्धी शल्यक्रिया भएको हो। त्यसअघि उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले उनको स्वास्थ्यबारे जानकारी लिएका थिए।
नेपाल प्रिमियर लिग एनपिएलमा आज दुई वटा खेल भए। पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित निकाल्यो। एक सय ८८ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सलाई एक सय ४२ रनमा समेट्दै सुदूरपश्चिमले तेस्रो खेलमा ४५ रनको जित निकालेको हो। जितसँगै सुदूरपश्चिम तीन खेलमा ६ अंकसहित तालिकाको शीर्ष स्थानमा हुँदा तीन खेलमा पराजित लुम्बिनी तालिकाको पुच्छारमा छ।
एनपिएलकै दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ। कर्णालीले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२६ रन मात्र बनाउन सक्यो। योसँगै कर्णालीले ४ खेलमा २ खेलमा जित निकालेको छ। ४ खेल खेलेको विराटनगर एक खेलमा जित र ३ खेलमा हार बेहोरेको छ।
सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा रौतहटका ३९ वर्षीय कृष्णप्रसाद अधिकारी भन्ने बिहानीबहादुर अधिकारी, चितवनका ३७ वर्षीय रूपक शर्मा पौडेल र सप्तरीका २४ वर्षीय लक्ष्मण यादव भन्ने जगदीशप्रसाद यादव रहेका केन्द्रीय साइबर ब्यूरोका उपनिर्देशक एसपी भाग्येन्द्रपुरूष ढकालले जानकारी दिए।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगेकोप्रति आपत्ति जनाएका छन्। आज भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राति १२ बजे उठाएर लैजानु अमानवीय व्यवहार भएको बताए। हाम्रोजस्तो लोकतान्त्रिक देशमा कसैलाई पनि रविलाई जस्तो अमानवीय व्यबहार गर्न नहुने उनको तर्क छ।
दक्षिण कोरियाली राष्ट्रपति युन सुक-योलले यो हप्ता मार्शल ल लागू गरेकोमा माफी मागेका छन्। राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गर्दै उनले भने, ‘म मार्शल ल लागू भएकोमा धेरै दु:खी छु। यसबाट स्तब्ध भएकाहरुसँग म इमानदारीपूर्वक माफी माग्न चाहन्छु।’ उनले पहिलो सम्बोधनमै राजीनामा दिने अपेक्षा गरिएको थियो।
अब आज उकेरामा प्रकाशित टप पाँच समाचार:
विवाहपछि गायिकाहरू धमाधम सांगीतिक क्षेत्रबाट हराउने गरेका छन्। विवाहअघि चर्चामा रहेका गायिकाहरू विवाहपछि गीतहरू गाएको चर्चामा आएको खासै पाइँदैन। मधु क्षेत्री, एलिना चौहान, सिन्धु मल्ल, रजिना रिमाल, माण्डवी त्रिपाठीलगायतका गायिकाहरू यसका उदाहरण हुन्।
पूरा समाचार: नेपाली गायिका : बिहे अघि चकाचक, बिहेपछि गुमनाम
कीर्तिपुरको टियू खेल मैदानमा जारी नेपाल प्रिमियर लिग एनपिएलमा ठूला व्यापारिक घराना र वित्तीय संस्थाहरूले ठूलो लगानी गरिरहेका छन्। विज्ञापन बजार चम्किएको छ। त्यसै खेल मैदान परिसरमा फुटपाथ र चिया नास्ताको व्यापारले सामान्य नागरिकहरूको व्यापार उसैगरी मौलाएको छ।
पूरा समाचार: एनपिएल इफेक्ट : टियू मैदानमा भेटिन्छन् ह्यापीडेन्ट चुइगम बेचेर दैनिक ३ हजार कमाउनेदेखि २०० प्लेट मःम बेच्नेसम्म
डा. शिवराज शर्मा जनरल सर्जन (एमएस) हुन्। उनी विशेषगरी खानानली, आमाशय, अग्नाशय, पित्त नली, पित्तथैली, कलेजो, ठूलो आन्द्रा, सानो आन्द्रा, मलद्वार र स्तन क्यान्सरजस्ता अंगमा लाग्ने क्यान्सर सम्बन्धी शल्यक्रिया गरी उपचार गर्ने काममा केन्द्रित हुन्छन्। उनै डा. शिवराजले उकेरासँग चिकित्सकीय पेसाको शिलशिलामा देखे भोगेको अनुभव साटेका छन्।
पूरा समाचार: डा. शिवराजको उपचार अनुभव : भारतमा मृत्यु नजिकिएको छटपटीमा भेटिएकी ती नेपाली महिलाले जब क्यान्सरमुक्त भएर विवाह गरिन्
दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलविरूद्धको महाभियोग प्रस्ताव तत्कालका लागि विफल भएको छ। नेशनल एसेम्बलीमा उक्त विधेयक मतदान प्रक्रियाका लागि अघि बढाउन पर्याप्त सङ्ख्या नपुगेकाले महाभियोग प्रक्रिया अघि बढ्न नसक्ने सभामुखले घोषणा गरेसँगै महाभियोग प्रस्तावमाथिको प्रक्रिया रोकिएको हो। उक्त प्रस्ताव अनुमोदनका लागि २०० मत आवश्यक रहेको थियो।
पूरा समाचार: संसद्मा संख्या नपुगेपछि दक्षिण कोरियाका राष्ट्रपति यूनविरूद्धको महाभियोग प्रस्ताव विफल
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कोशी प्रदेश स्तरीय पहिलो सम्मेलन बहिष्कार गरेका छन्। शेखरले देउवा पछिको वरीयता नपाएपछि कोशी भेलालाई बहिष्कार गरेका हुन्। तर, उनी आफूले भने बहिष्कार नगरेको दाबी गरेका छन्। विराटनगरमा भएको भेलाको उद्घाटन सभापति शेरबहादुर देउवाले गरेका थिए।
पूरा समाचार: देउवा पछिको वरीयता नपाएपछि कांग्रेसको कोशी भेलालाई बहिष्कार गरे शेखर कोइरालाले
मंसिर २२, २०८१ शनिबार २१:५७:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।