'वरिष्ठ अधिवक्ताहरूले वरिष्ठको हैसियत कायम गर्न सकेनन्'
काठमाडौं : प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयलाई गरिमामय बनाउने जिम्मेवारी सबैको काँधमा रहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित वरिष्ठ अधिवक्ताहरूको प्रमाणपत्र वितरण कार्यक्रममा उनले सबैको अथक प्रयासमा न्यायालय लयमा फर्किएको भन्दै यसलाई अझै गरिमामय बनाउनुपर्ने बताए।
उनले भने, ‘तपाईं हाम्रो अथक प्रयासमा न्यायालय लयमा फर्किएको छ। यसमा नै चित्त बुझाउने हो कि न्यायालयलाई थप गरिमामय पनि बनाउने हो। यो आफैं बन्न सक्दैन। जिम्मेवारी हाम्रो काँधमा छ। हामी त्यसतर्फ अघि बढेका छौं कि छैनौं ध्यान दिनुपर्छ।’
कार्यक्रममा महान्यायाधिवक्ता एवं नेपाल बार एशोसिएशनका अध्यक्ष रमेश बडालले वरिष्ठ अधिवक्ताहरूले वरिष्ठको हैसियत कायम गर्न नसकेको बताए।
उनले भने, ‘वरिष्ठ अधिवक्ताहरूलाई कानूनले के भन्छ भने अर्ध न्यायिक निकायमा जान पाइँदैन भनेर भनेको छ। तर, कानूनको परिचालन कति गरेका छौं। सर्वोच्च अदालतमा विचाराधीन मुद्दाहरूमा कतिपय अर्धन्यायिक निकायबाट गरेका निर्णयहरूमा वरिष्ठ अधिवक्ताहरूले बहस गरेको उल्लेख भएर आउने गरेको छ। वरिष्ठ अधिवक्ताहरूको नाम नै आएको हुन्छ। मालपोतमा गएको वा कुनै निकायमा गएको देखिन्छ। वरिष्ठहरूले वरिष्ठको हैसियत कायम गरेका छौं भनेर मान्न मिल्छ र? आफैंले उल्लंघन गरेको देखिन्छ।’
उनले एक्लै सबै ठाउँ जाने र सबै काम गर्ने मान्छे वरिष्ठको लागि योग्य नभएको भन्दै सबै कुराको अवस्था क्रमशः अन्त्य गर्दै जानुपर्ने बताए।
उनले भने, ‘एकजना मात्र लुखुरु लुखुरु कानूनको फर्म चलाएर बसेको छ भने त्यो व्यक्ति वरिष्ठको लागि योग्य हुँदैन रहेछ। जब उसँग टिम छ, त्यसपछि मात्र वरिष्ठ हुन्छ। मुद्दा ड्राफ्टिङ आफैं गर्ने, अदालत आफैं जाने, सबै कार्यालयमा आफैं जाने अनि वरिष्ठ अधिवक्ता पनि हुने यो सबै कुराको अवस्था क्रमशः अन्त्य गर्दै जानुपर्छ।’
मंसिर २२, २०८१ शनिबार २१:१२:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।