निर्माण व्यवसायीलाई दुई पटक झुक्काए अर्थमन्त्री पौडेलले, निर्माण सम्पन्न गर्दा पनि भुक्तानी गरेनन्
काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकार र निर्माण व्यवसायीको बीचको सम्बन्ध भनेको नङ र मासुको जस्तो भएको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित ‘विकास बजेटको परिचालनः सरकार र निजी क्षेत्रको भूमिका’ विषयक छलफल कार्यक्रममा उनले सरकार र निर्माण व्यवसायीको लक्ष्य एउटै भएको भन्दै विरोध गरेर होइन, फरक ठाउँमा भएपनि राष्ट्र निर्माणको साझा जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए।
उनले भने, ‘सरकार र निर्माण व्यवसायी नदीका दुई किनारा हुन्। एकले अर्काको विरोध गरेर हाम्रो अभिभारा पूरा हुन्छन्? हाम्रो साझा अभिभारा छैन? म के आग्रह गर्न चाहन्छु भने हामी नदीका दुई किनारा होइनौं, हामी फरक ठाउँमा रहेर राष्ट्र निर्माणको साझा जिम्मेवारी बहन गर्दै छौं।’
उनले व्यवसायीहरूलाई भुक्तानीको बारेमा धेरै चिन्ता नलिन आग्रह गर्दै एक हप्ताभित्र सबै भुक्तानी हुने प्रतिबद्धता दोहोर्याए।
उनले भने, ‘भुक्तानीको बारेमा धेरै चिन्ता नलिनु भन्न चाहन्छु। तपाईंहरूले कुनै पनि मन्त्रालय, निकायमा भुक्तानी पाउन बाँकी छ भने आज शनिबार भयो जान मिलेन, भोलि देखि जानु तपाईंहरूले भोलिदेखि नै पाउनु हुन्छ। भोलि पाउनु भएन भने पर्सि पाउनु हुन्छ। १ हप्तामा पनि पाउनु भएन भने तपाईहरु मकहाँ आउनुस्।’
त्यसअघि असोज १६ मा अर्थमन्त्री पौडेलले निर्माण सम्पन्न गरिसकेका निर्माण कम्पनीहरूको रकम भुक्तानी दशैं अगाडि हुने आश्वासन दिएका थिए। दशैंअघि पनि भुक्तानी गर्न नसकेपछि कात्तिकसम्म हुने बताएका अर्थमन्त्री पौडेलले आज फेरि एक हप्ताको समय दिए।
मंसिर २२, २०८१ शनिबार २०:४७:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।