एनपिएल इफेक्ट : टियू मैदानमा भेटिन्छन् ह्यापीडेन्ट चुइगम बेचेर दैनिक ३ हजार कमाउनेदेखि २०० प्लेट मःम बेच्नेसम्म
काठमाडौं : कीर्तिपुरको टियू खेल मैदानमा जारी नेपाल प्रिमियर लिग एनपिएलमा ठूला व्यापारिक घराना र वित्तीय संस्थाहरूले ठूलो लगानी गरिरहेका छन्। विज्ञापन बजार चम्किएको छ। त्यसै खेल मैदान परिसरमा फुटपाथ र चिया नास्ताको व्यापारले सामान्य नागरिकहरूको व्यापार उसैगरी मौलाएको छ।
मंसिर १७ बाट सुरू भएको एनपिएलले साना तथा मझौला व्यवसायीहरूलाई राहत मिलेको छ। एनपिएलले भरिएको टियू क्रिकेट मैदानमा मानिसहरूको ध्यान त्यहाँ संचालन भएका खुद्रा पसलले उसैगरी खिचेको छ। एनपिएल सुरू भएकै दिनदेखि चिया-चुरोट, चाउमिन-मःम, मिठाइ, बिस्कुट, चाउचाउ, पानी, जुसलगायतका खुद्रा पसलहरूमा व्यापार मौलाएको छ।
अघि-पछि ग्राहक नपाएर सडक पेटीमा घन्टौं प्रतीक्षा गर्ने सबै फुटपाथ व्यापारीहरू अहिले क्रिकेट मैदानमा भेटिने गरेका छन्। उनीहरुलाई भ्याइनभ्याई छ। उपभोक्ताहरूको थामिनसक्नु भीड छ। जाडो यामसमेत भएकाले चिया, चुरोट र तातो खाजाको व्यापार खुबै चम्किएको छ।
क्रिकेट मैदान परिसरमा मःम बेच्दै आएका दुर्गा सापकोटाले कोभिडले थलिएको व्यापारलाई राहत पुगेको बताए।
उनी भन्छन्, ‘एनपीएलबाट एकदम खुसी छु। विदेशी खेलाडीहरू पनि हुनुहुन्छ। अपेक्षा अनुसारकै व्यापार भइरहेको छ। मान्छेहरूको भीड दिनहुँ बढिरहेको छ। कोरोनाले आपत परेका होटल व्यवसायीहरूलाई यहाँ व्यापार गर्न दिनु नै ठुलो कुरा हो।’
सापकोटाले दैनिक सरदरमा एक सय पचासदेखि दुईसय प्लेटसम्म मःम बेचिरहेका छन्।
क्रिकेट मैदानमै मट्का चिया बेचिरहेका छन, कक्षा १२ मा पढ्ने भक्तिराज गिरी। गिरीले दैनिक १५ देखि २० हजार रूपैयाँसम्मको मट्का चिया बेचिरहेका छन्।
उनी भन्छन्, ‘बिहानदेखि साँझसम्म राम्रोसँग व्यापार गर्यो भने दैनिक १५ देखि २० हजार रूपैयाँसम्मको बिक्री हुन्छ। व्यापार सोचे जस्तै भएको छ।’
अघि-पछि नेपाल प्रहरी, नेपाल आर्मीको कार्यालय अगाडि बसेर फुटपाथ व्यापार गर्दै आएकी मन्जु तामाङ महर्जन व्यापार ठिकै भएको सुनाउँछिन्।
‘बदाम, चाउचाउ, पानी, चुइगम, चकलेटलगायत बेचिरहेको छु। व्यापार ठिकै छ। अहिले सरदरमा दैनिक सय रुपैयाँ सम्मको व्यापार हुन्छ,’ उनले भनिन्।
त्यसैगरी हुम्लाका गोपाल जेठरा आइतबारदेखि शुक्रबारसम्म अन्य काम गर्छन्। तर एनपिएल सुरू भएदेखि उनी शनिबार-शनिबार टियू मैदानमा बदाम, पानी बेचिरहेका छन्।
उनी भन्छन्, ‘शनिबार मात्रै बेच्छु म चाहिँ। अरू दिन अफिस जानुपर्छ। व्यापार राम्रै छ।’
ह्यापीडेन्ट चुइगमको दैनिक दुईदेखि तीन हजारसम्मको व्यापार गरिरहेकी विनिता निरौला स्टल नै राखेर राम्रो आम्दानी गरिरहेको सुनाउँछिन्।
उनी भन्छिन्, ‘हाम्रो सेल्स राम्रै छ। दैनिक दुई देखि तीन हजारसम्मको व्यापार भइरहेको छ।’
-सुश्मिता वानिया/नेपाल न्यूज बैंक (सम्पादनसहित)
मंसिर २२, २०८१ शनिबार २०:१७:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।