रवि लामिछानेलाई रातारात पोखरा लगिएको विरोधमा शेखर र ज्ञानेन्द्र शाही, मानव अधिकार रक्षा गर्न माग

रवि लामिछानेलाई रातारात पोखरा लगिएको विरोधमा शेखर र ज्ञानेन्द्र शाही, मानव अधिकार रक्षा गर्न माग

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगेकोप्रति आपत्ति जनाएका छन्।

आज भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राति १२ बजे उठाएर लैजानु अमानवीय व्यवहार भएको बताए।

हाम्रोजस्तो लोकतान्त्रिक देशमा कसैलाई पनि रविलाई जस्तो अमानवीय व्यबहार गर्न नहुने उनको तर्क छ। 

उनले भने, ‘रविजीको विषयमा अदालतले आफ्नो प्रक्रिया अघि बढाइरहेको छ। त्यसमा मेरो केही भन्नु छैन, तर राति १२ बजे उठाएर लैजाने भन्ने कुरा चाहिँ अमानवीय काम हो। यो रविजीको मात्रै कुरा होइन, कसैलाई पनि गर्न हुँदैन। यो त हाम्रो लोकतान्त्रिक देश हो। त्यो विल्कुल गलत हो।’

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पनि रविको मानव अधिकारको रक्षा गर्न माग गरेका छन्।

आजै पोखरास्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा पुगेर रविलाई भेटेपछि निस्कने क्रममा शाहीले चितवनबाट पोखरा लाने क्रममा औषधिसमेत नदिएर दबाबसमेत गरिएको भन्दै सडक र सदनबाट जवाफ माग्ने बताए।

रविको मानव अधिकारको उल्लंघन गर्न नहुने भन्दै उनले लेखेका छन्, ‘अन्यथा राज्य सञ्चालन गरिरहेका सञ्चालकहरू मानव अधिकारको गम्भीर उल्लंघन गरेर राज्य आतंक मचाउँछु भन्ने सोच राखेका छन् भने त्यो दिवा सपना मात्रै हो।’

गएको बिहीबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि रविलाई जिल्ला प्रहरी कार्यालय चितवनबाट रातारात पोखरा पुर्याइएको थियो। 

मंसिर २२, २०८१ शनिबार १९:५१:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।