डा. शिवराजको उपचार अनुभव : भारतमा मृत्यु नजिकिएको छटपटीमा भेटिएकी ती नेपाली महिलाले जब क्यान्सरमुक्त भएर विवाह गरिन्
डा. शिवराज शर्मा जनरल सर्जन (एमएस) हुन्। उनी विशेषगरी खानानली, आमाशय, अग्नाशय, पित्त नली, पित्तथैली, कलेजो, ठूलो आन्द्रा, सानो आन्द्रा, मलद्वार र स्तन क्यान्सरजस्ता अंगमा लाग्ने क्यान्सर सम्बन्धी शल्यक्रिया गरी उपचार गर्ने काममा केन्द्रित हुन्छन्। उनै डा. शिवराजले उकेरासँग चिकित्सकीय पेसाको शिलशिलामा देखे भोगेको अनुभव साटेका छन् :
000
मृत्यु नजिएको छटपटीले भारतमा भेटिएकी ती क्यान्सरपीडित नेपाली महिला
नेपाली बिरामीहरू दुःख पाएर उपचारका लागि भतारिँदै भारतका विभिन्न अस्पतालमा पुगेको डा. शिवराजले नजिकबाट देखेका छन्। क्यान्सरको शल्यक्रिया गरी उपचार गर्ने ‘जिआई एसपीभी’ विषयको अध्ययनका क्रममा भारतको मुम्बाईसिस्थत ‘टाटा क्यान्सर ट्रष्ट’मा नेपाली बिरामी उपचारका लागि पुगेको त्यो प्रसंग डा. शिवराज कहिल्यै भुल्दैनन्।
प्रसंग करिब तीन वर्षअघिको हो। करिब ३८ वर्षीय महिला भारतको मुम्बाइस्थित ‘टाटा क्यान्सर ट्रष्ट’मा उपचारका लागि पुगेकी रहेछन्। ती महिला नेपालका अस्पतालमा चाहरेपछि बाँच्ने झिनो आशाले भारत पुगेकी रहिछन्।
डा. शिवराज अस्पतालको काम सकेर साँझ करिब पाँच बजे अस्पताल नजिकै होटलमा साथीहरूसँग खाजा खाँदै थिए। त्यही क्रममा होटलको एउटा कुनामा केही व्यक्ति नेपाली भाषामा गानगान-गुनगुन गरेको उनले सुने। त्यो होटलको कुनामा बसेर खाजा खाँदै चार जना नेपालीहरू कुरा गरिरहेको उनले देखे।
नेपालीमा कुराकानी गरिरहेको देखेपछि डा. शिवराज ती मान्छे बसेको ठाउँमा पुगे। अनि उनले सोधखोज गरे। सोधखोज गर्दै जाँदा ३८ वर्षीय छोरीलाई क्यान्सर भएपछि उपचारको खोजीमा भौतारिएर ती युवतीका बुवा, आमा र भाइ भारत पुगेका रहेछन्। नयाँ ठाउँमा पुगेका उनीहरू अलमलमा परिरहेका रहेछन्।
अनि डा. शिवराजले ती महिलाको त्यही होटलमा अस्पतालको रिपोर्ट हेरे। ती महिलाको क्यान्सर फैलिएर जटिल अवस्थामा पुगिसकेको उनले थाहा पाए। त्यसपछि भोलिपल्ट मुम्बाइस्थित ‘टाटा क्यान्सर ट्रष्ट’को आफूले काम (अध्ययन) गर्ने विभागमा उनले बोलाए। नभन्दै, भोलिपल्ट महिला, बुवाआमा र उनका भाइ अस्पतालमा डा. शिवराज भएको ठाउँमा पुगे।
त्यसपछि डा. शिवराजले नै ती महिलाको उपचार प्रक्रियाको चाँजोपाँजो मिलाइदिए। उनको पेटको आन्द्राको क्यान्सर थियो। उनलाई अस्पतालमा भर्ना गरियो। ती महिलाको पेटको आन्द्रामा भएको क्यान्सरको उपचारका लागि शल्यक्रिया नै गरेर क्यान्सरको ट्युमर फाल्नुपर्ने थियो। त्यसैले शल्यक्रियाको सबै तयारीपछि ती महिलालाई शल्यक्रिया कक्षमा लगियो। अनि शल्यक्रियाका लागि बेहोस गराइयो। क्यान्सर फैलिएर ‘चौथो स्टेज’मा पुगिसकेकाले ‘पेरिटोनियल सर्फेस अंकोलोजी’ विधिसमेत अपनाएर पेटमा भएको क्यान्सरको शल्यक्रिया गरियो र देखिएका क्यान्सरको ट्युमर निकालियो।
तर, कतिपय क्यान्सरका ट्युमर भने आँखाले नदेखिने उनले सुनाए। त्यसैले ती नदेखिएका क्यान्सरका ट्युमर मार्नका लागि चिकित्सकको टिमले शल्यक्रियाकै क्रममा पेट खोलिएकै अवस्थामा ‘पेरिटोनियल सर्फेस अंकोलोजी’ उपचारात्मक विधि अपनाएर एक किसिमको मेसिनको सहायताले पेटमा केमोथेरापी दियो। ‘क्यान्सरको सेल’ मार्ने एक किसिमको औषधि हो, केमोथेरापी। शल्यक्रिया गरेसँगै केमोथेरापी दिएपछि ती महिलाको पेट बन्द गरियो। शल्यक्रियाको सफलतापछि ती महिलालाई ब्यूँताइयो। मृत्युको मुखमा पुगिसकेकी ती महिलाको क्यान्सरको समस्या ठिक भयो।
‘पेरिटोनियल सर्फेस अंकोलोजी’ विशेषगरी क्यान्सर फैलिएर ‘तेस्रो र चौथो स्टेज’मा पुगेको क्यान्सरको उपचार गर्ने नयाँ विधि भएको डा. शिवराजले जानकारी दिए। त्यही विधि अपनाएर उपचार गरी मृत्युको मुखमा पुगिसकेकी महिलाको ज्यान बचाइएको उनले अनुभव सुनाए।
करिब दुई हप्ताको औषधि उपचारपछि ती महिला अस्पतालबाट डिस्चार्ज भइन्। औषधि उपचारपछि आफ्नो ज्यान बचाइदिन पहल गर्ने डा. शिवराजप्रति कृतज्ञहुँदै ती महिला बुवाआमा र भाइसहित नेपाल फर्किइन्। अहिले पनि ती महिला फलोअपमा नै रहेको र क्यान्सरमुक्त अवस्थामा रहेको डा. शिवराजले सुनाए। उपचारपछि क्यान्सरमुक्त भएर ती महिलाको गत वर्ष बिहेसमेत भएको उनले सुनाए।
मृत्युको मुखमा पुगेकी महिला क्यान्सरमुक्त भएर विवाह गरेको सुन्दा आनन्दानुभूति भएको उनले सुनाए।
त्यसैले क्यान्सर फैलिएर अन्तिम चरणमा पुगिसकेको अवस्थामासमेत ‘पेरिटोनियल सर्फेस अंकोलोजी’ उपचार विधि अपनाई व्यक्तिलाई बचाउन सकिने उनले सुनाए। यो उपचार विधि खासै महंगो पनि नभएको तर यस विषयमा तालिम लिएका जनशक्ति नहुँदा समस्या भएको उनले बताए।
डा. शिवराजले थाहा पाएसम्म उनी र भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत क्यान्सर रोग विशेषज्ञ डा. दिप लामिछाने औपचारिक रुपमा ‘पेरिटोनियल सर्फेस अंकोलोजी’ सम्बन्धी ज्ञान तथा सीप सिकेका चिकित्सक हुन्। यस्तो विधि अपनाई धेरै जना क्यान्सर रोग लागेका बिरामीलाई बचाउन सफल भएको उनले सुनाए।
उपचारमा संवेदनशील
त्यसैगरी नेपालमा विशेषगरी स्तन क्यान्सर भएका महिलाको एफएनएसी गरी क्यान्सर भए नभएको पत्ता लगाइने गरेको अनि क्यान्सर छ भन्ने थाहा पाएपछि शल्यक्रिया गरी स्तन नै फालिदिने चलनसमेत रहेको डा. शिवराजले सुनाए। तर, स्तन क्यान्सर भए नभएको पत्ता लगाउनुका साथै कस्तो किसिमको र कुन स्टेजको क्यान्सर हो भनेर यकिन गर्न स्तनको मासुको जाँच (बायोप्सी) नै गर्नुपर्ने डा. शिवराज सुझाउँछन्। यसरी कस्तो किसिमको र कुन तहको क्यान्सर हो भन्ने थाहा पाउने बायोप्सी परीक्षणलाई ‘ट्रुकट बायोप्सि’ भनिन्छ।
त्यसैगरी कुन किसिमको र कुन तहको स्तन क्यान्सर हो भन्ने यकिन गर्नका लागि ‘आइएफसी’ ल्याब परीक्षण समेत गर्नुपर्ने उनको अनुभव छ। यसरी यकिन परीक्षण गरिसकेपछि मात्रै स्तन क्यान्सरको शल्यक्रिया गर्नुपर्ने हुनसक्ने उनले सुनाए। उनका अनुसार स्तन क्यान्सरको शल्यक्रिया गर्दासमेत स्तन बचाउन सक्ने विभिन्न विधि हुन्छ।
पेटको आन्द्राको क्यान्सर भएका बिरामीको उपचार गर्दासमेत सुरुमा केमोथेरापीपछि शल्यक्रिया गरेको खण्डमा बिरामीको आयु लम्ब्याउन सकिने डा. शिवराजले अनुभव सुनाए। सीमित स्रोत साधन तथा जनशक्ति भएका कारण नेपालमा क्यान्सरको समस्या भएका कयौं बिरामीले दुःख पाइरहेको उनले नजिकबाट देखेका छन्। कयौं अवस्थामा शल्यक्रिया गरेर मात्रै क्यान्सरको समस्या ठिक नहुने भएकाले संवेदनशील भएर उपचार प्रक्रिया अपनाउनुपर्ने विषयमा उनी सचेत छन्। संवेदनशील रुपमा उपचारका विविध विधि अपनाएर बिरामीलाई बचाउन डा. शिवराज सक्रिय छन्।
बिराटनगरबाट एसएलसी डाक्टरी अध्ययन
डा. शिवराजको स्थायी घर मोरङको बिराटनगर हो। तर, उनका बुवा सिँचाइतर्फ इन्जिनियरका रुपमा सरकारी जागिरे भएका कारण उनी २०४४ मा कन्चनपुरमा जन्मिए। बुवाको सरुवासँगै उनी पढ्ने विद्यालय पनि फेरिए। शिवराजले बिराटनगरको ‘सेन्ट जोसेफ उच्च मावि’बाट २०६० मा ८० प्रतिशत भन्दा बढी अंक ल्याएर एसएलसी पास गरे।
एसएलसीपछि शिवराज प्लसटु अध्ययनका लागि काठमाडौं आए। उनले काठमाडौंको मोडल कलेजबाट प्लसटु गरे। अध्ययनमा अब्बल शिवराजलाई डाक्टरी विषय अध्ययन गर्ने रहर थियो। त्यसैले उनले काठमाडौं विश्वविद्यालय अन्तर्गतको नेपालगञ्जस्थित नेपालगञ्ज मेडिकल कलेजमा सन् २००८ मा एमबीबीएस अध्ययनका लागि भर्ना भए। उनले सन् २०१३ को अन्त्यमा इन्टर्नसिप सहित एमबीबीएस अध्ययन सके।
एमबीबीएस अध्ययनपछि डा. शिवराजले काठमाडौंकै ‘नेशनल किड्नी सेन्टर’मा करिब तीन महिना डायलाइसिस सम्बन्धी ज्ञान तथा सीप सिके। त्यसपछि उनी बिराटनगर नै पुगेर घर पायक पर्ने बिराट नर्सिङ होममा मेडिकल अधिकृतको रुपमा काम गर्न थाले। त्यहाँ उनी विशेषगरी आकस्मिक कक्ष र आइसियुमा काम गर्थे।
रोजाइमा सर्जरी
डा. शिवराजलाई थप अध्ययन गर्नु त छँदै थियो। त्यसैले उनी चिकित्सा शास्त्रको स्नातकोत्तर तहको जनरल सर्जरी (मास्टर्स इन सर्जरी/एमएस) विषय अध्ययनका लागि सन् २०१६ मा बीरगञ्जस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेशनल मेडिकल कलेजमा भर्ना भए। सन् २०१९ मा उनको एमएस अध्ययन पूरा भयो।
एमएस अध्ययनपछि सन् २०१९ मा नै डा. शिवराजले बिराट मेडिकल कलेजमा लेक्चररका रुपमा काम गर्न थाले। त्यसपछि उनी कोरोना भाइरस संक्रमण सुरू नहुँदै सन् २०२० मा भारतको ‘टाटा क्यान्सर ट्रष्ट’ (मुम्बाई र कोलकत्ता) मा गएर पेटको क्यान्सर (सर्जिकल ग्याष्ट्रो इन्टरेरोलोजी/जिआई एसपीभी) सम्बन्धी दुई वर्षे ‘पोष्ट डक्टरेट फेलोसिप’ गर्न थाले। यो विशिष्टिकृत (सुपरस्पेशलाईजेशन) तहको अध्ययन हो। ‘जिआई एसपीभी’ खानानली, आमाशय, अग्नाशय, पित्त नली, पित्तथैली, कलेजो, ठूलो आन्द्रा, सानो आन्द्रा, मलद्धारजस्ता अंगमा लाग्ने क्यान्सर सम्बन्धी शल्यक्रिया गरी उपचार गर्ने चिकित्सकीय विषय हो।
भारतमा दुई वर्ष क्यान्सरको शल्यक्रिया गरी उपचार गर्ने ‘जिआई एसपीभी’ विषयको अध्ययन गरेपछि उनले करिब तीन महिना ‘टाटा क्यान्सर ट्रष्ट’बाटै स्तन क्यान्सर सम्बन्धी शल्यक्रियाको ज्ञान तथा सीप सिके। त्यसपछि डा. शिवराजले भारतमै काम गर्ने अवसर नपाएका हैनन्। तर, क्यान्सर सम्बन्धी यी दुवै किसिमको शल्यक्रियाको ज्ञान तथा सीप सिकेर उनी नेपाल फर्किए। अनि फेरि बिराट मेडिकल कलेजमै काम गर्न थाले।
भारतमा पुगेका धेरै बिरामीलाई आफूले सहयोग गरेको अनुभव उनले सुनाए। नेपाली बिरामीका आफन्तले नेपालबाट भारतको ‘टाटा क्यान्सर सेन्टर’मा फलोअपमा जाँदा अचार लगायतका कोसेली लगिदिएको उनी सम्झन्छन्।
सन् २०२३ मा पनि उनले सिंगापुरको ‘नेशनल क्यान्सर सेन्टर’मा पुगेर करिब एक महिना ‘पेरिटोनियल सर्फेस अंकोलोजी’ सम्बन्धी थप अध्ययन गरे। ‘पेरिटोनियल सर्फेस अंकोलोजी’विशेषगरी फैलिएर ‘तेस्रो, चौथो स्टेज’मा पुगेको क्यान्सरको उपचार गर्ने नयाँ विधि भएको डा. शिवराजले जानकारी दिए।
त्यसैगरी उनले फ्रान्समा पुगेर ‘पेरिटोनियल सर्फेस अंकोलोजी’ र ‘साइटो रिडक्टिभ सर्जरी’ सम्बन्धी दुई महिना ज्ञान तथा सीप सिकेर केही महिनाअघि नेपाल फर्किए। यी दुवै क्यान्सर फैलिएर ‘तेस्रो र चौथो स्टेज’मा पुगेका व्यक्तिको उपचार गर्ने विधि हुन्।
विभिन्न मुलुकमा गएर क्यान्सर सम्बन्धि यस्ता ज्ञान तथा सीप सिकेका डा. शिवराज विशेषगरी व्यक्तिको खानानली, आमाशय, अग्नाशय, पित्त नली, पित्तथैली, कलेजो, ठूलो आन्द्रा, सानो आन्द्रा, मलद्वारजस्ता अंग र स्तनमा हुने क्यान्सरको शल्यक्रिया गरेर रोग ठिक बनाउन सक्रिय छन्। यस्ता क्यान्सरको आवश्यकता अनुसार शल्यक्रिया तथा औषधि उपचार गरी बिरामीलाई सञ्चो बनाउनु उनको दैनिकी हो। विशेषगरी पेटजन्य क्यान्सर (जिआई) र स्तन क्यान्सरको शल्यक्रिया तथा औषधि उपचारमा उनी केन्द्रित हुन्छन्।
हाल उनी बिराट मेडिकल कलेजको ‘सर्जिक अंकोलोजी’ विभागमा कार्यरत छन्। मेडिकल कलेजमा उनी सहायक प्राध्यापकको भूमिकामा समेत रुपमा कार्यरत छन्। विशेषगरी क्यान्सरको समस्या भएका बिरामीको औषधि उपचार गर्नु अनि चिकित्सा शास्त्रका विद्यार्थीलाई पढाउनु डा. शिवराजको दैनिकी हो।
मंसिर २२, २०८१ शनिबार १८:४९:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।