चीनमा ओलीको अन्तवार्ता : ‘हामी बाह्य नीतिबारे निर्णय गर्न स्वतन्त्र छौं, कसैसँग शत्रुता छैन’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिकूल परिस्थितिमा पनि सत्य र न्यायप्रति अटल रहेन प्रतिवद्धता जनाएका छन्।
बुधबार चाइना मिडिया ग्रुपसँगको एक विशेष अन्तर्वार्तामा उनले आफ्नो राजनीतिक करियर र व्यक्तिगत जीवनका बारे खुलेर आफ्ना धारणाहरु राखेका थिए। त्यसक्रममा उनले किशोर अवस्थामा आफू हजुरआमा र अन्य अभिभावकहरू साथै शिक्षकहरूबाट सत्यको अनुसरण गर्नुपर्छ सिकेको उल्लेख गरे।
‘हरेक पटक सत्यको जित हुँदैन, तर अन्त्यमा सत्यको जित हुन्छ,’ उनले भने।
अन्तवार्ताका क्रममा ओलीले आफूले राजनीतिक यात्रा सुरू गर्दा निकै अन्धकारपूर्ण अवस्था रहेको र संघर्ष गर्नुपरेको एवं संघर्षको नेतृत्व गरेपछि राजनीतिक परिवर्तन ल्याएको उल्लेख गरे।
उनले चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रस्ताव गरेका तीनवटा विश्वव्यापी पहलको अन्तरसम्बन्ध विश्व शान्ति र सुरक्षा हासिल गरेकाले त्यसले आर्थिक विकासको महत्वपूर्ण भूमिका खेलेको बताए।
‘आर्थिक विकासका लागि आर्थिक सुरक्षा जरुरी छ। भोका जनताले केही गर्न सक्दैनन्। आर्थिक समृद्धि पहिलो हो। हामी जनतालाई खुशी बनाउन चाहन्छौं। सुखी, संसारका प्रत्येक व्यक्तिले आफू सुरक्षित छ भनी महसुस गर्नुपर्छ। समाजमा समानता हुनुपर्छ। त्यसका लागि चीनको प्रयास सकारात्मक छ,’ अन्तवार्ताका क्रममा उनले भने।
त्यस्तै, प्रधानमन्त्री ओलीले साझा मूल्यमान्यता र समझदारीका आधारमा एकताबद्ध भएर नेपाल-चीन मित्रता अझै प्रगाढ बनाउनुपर्ने उल्लेख गरे।
‘हाम्रो नारा र नीति ‘सबैसँग मित्रता र कसैसँग शत्रुता छैन’ भन्ने हो। नेपाल सार्वभौम र राजनीतिक रूपमा स्वतन्त्र देश हो। हामी हाम्रो आन्तरिक र बाह्य नीतिहरू निर्णय गर्न स्वतन्त्र छौं ,’ उनले भने।
नेपाल र चीनको मित्रता पुरानो भएको उल्लेख गर्दै ओलीले दुई देशबीचको मित्रता निरन्तर विकसित, गहिरो, फराकिलो हुँदै गइरहेको बताए।
प्रधानमन्त्री ओलीले चीनको विकास पूर्ण र व्यापक बन्दै गएकाले शिक्षा, स्वास्थ्य र अर्थतन्त्रलगायत विभिन्न क्षेत्रमा चीनले बहुआयामिक सफलता हासिल गरेको औंल्याए।
अन्तवार्ताका क्रममा प्रधानमन्त्री ओलीले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभको ढाँचाभित्र नेपालले गरेको सम्झौताले दुई देशको विकास रणनीतिको प्रतिवद्धतालाई सुदृढ बनाउने पनि बताए।
‘यस पटक हामीले बिआरआई कार्यान्वयन ढाँचामा हस्ताक्षर गर्यौं। यो एक धेरै महत्त्वपूर्ण सम्झौता हो, जुन छाता सम्झौता जस्तै हो। जस अन्तर्गत राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, सबै क्षेत्रहरू समेट्ने धेरै परियोजनाहरू हुनेछन्। स्वास्थ्य, र पूर्वाधार, विकास क्षेत्र पनि समेटिनेछन्,’ उनले भने।
चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा ओलीले गत सोमबारदेखि चारदिने औपचारिक भ्रमण सकेर स्वदेश फर्किसकेका छन्। भ्रमणका क्रममा उनले नेपाल र चीनबीचको कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव सन् २०२५ मा पूरा हुने भएकाले सो अवसरमा विशेष समारोहको आयोजना गरिने पनि बताए।
मंसिर २२, २०८१ शनिबार १७:००:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।