शेखर कोइरालालाई प्रश्न : आफ्नै प्रदेशको भेला किन बहिष्कार गर्नुभएको?

शेखर कोइरालालाई प्रश्न : आफ्नै प्रदेशको भेला किन बहिष्कार गर्नुभएको?

चितवन : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेश भेला आफूले कार्यक्रम बहिष्कार नगरेको दाबी गरेका छन्। 

चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता कोइरालाले कांग्रेस नेता दिनेश कोइराला र उद्धव लोहनीको बुवाको निधनमा समवेदनाको लागि आफू चितवन आउने तयारी भएकाले विराटनगर नगएको बताए।

आफ्नै प्रदेशको भेला किन बहिष्कार गर्नुभएको भन्ने प्रश्नमा उनले भने, ‘बहिष्कार भन्ने कुरा होइन।’

आज विराटनगरमा नेपाली कांग्रेस कोशी प्रदेश स्तरीय पहिलो सम्मेलन सुरू भएको छ। भेलाको उद्घाटन सभापति शेरबहादुर देउवाले गर्दैछन्। तर, शेखरले भने देउवा पछिको वरीयता नपाएकाले भेला बहिष्कार गरेको बुझिएको छ। 

त्यसअघि शेखरको अग्रसरतामा मंसिर १८ मा विराटनगरमै भएको कोशीका पालिका सभापतिको भेला भएको थियो। जसलाई अवैधानिक भन्दै केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गरेको थियो। 

केन्द्रले कार्यक्रम रोक्न धेरै पटक प्रयास गरेको भन्दै यसबारे शेखरले यो पार्टीभित्रको कुरा भएकोले धेरै प्राथमिकता दिने विषय नभएको बताए। १३७ पालिकामध्ये ११३ पालिकाका सभापति सहभागी भएको कार्यक्रमलाई केन्द्रले वक्तव्य जारी गरेर अवैधानिक भनेपछि उनले असन्तुष्टि जनाए।

‘त्योबेला प्रदेशका पालिका सभापतिले मिलेर गर्ने भनेर मैले समय निकाले। पछि केन्द्रीय कार्यालयको आधिकारिक होइन भनेर विज्ञप्ति निकाल्यो। नेपाली कांग्रेसमा आधिकारिक भन्ने कुरा के हो, आधिकारिक भनेको के हो? मलाई वक्तव्यसँग चित्त दुखेको हो’ उनले थपे, ‘चिन्ता गर्नु पर्दैन। यो पार्टीभित्रको कुरालाई निहुँ बनाएको भए बेग्लै कुरा हो। तर यस्तो वक्तव्यहरू पार्टीमा आउनु हुँदैन थियो।’ 

मंसिर २२, २०८१ शनिबार १५:४५:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।