बिआरआई सम्झौता कांग्रेससँगैको सहमतिमा भएको हो, त्यसमा ऋण लिने कुरा छैन : गृहमन्त्री

बिआरआई सम्झौता कांग्रेससँगैको सहमतिमा भएको हो, त्यसमा ऋण लिने कुरा छैन : गृहमन्त्री

विराटनगर : गृहमन्त्री रमेश लेखकले नेपाल सरकारले चीनसँग बिआरआई सम्बन्धी थप सम्झौता कांग्रेससँगैको सहमति भएको बताएका छन्। 

नेपाली कांग्रेस कोशी प्रदेशको प्रथम सम्मेलनमा गृहमन्त्री लेखकले बिआरआई सम्झौता कांग्रेसको धारणा, सल्लाह र सहमतिमा भएको बताए। 

‘नेपाल सरकारले मित्रराष्ट्र चीनसँग बिआरआई सम्बन्धी थप सम्झौता गरेको छ। यो सम्झौता नेपाली कांग्रेसको धारण सल्लाह र सहमति अनुसार भएको हो। यसमा अन्यथा सोच्न जरुरी छैन,’ उनले भने।

गृहमन्त्री लेखकले मुलुकको समग्र विकास गर्नका लागि आर्थिक सहायता लिने आवश्यक रहेको भन्दै बिआरआईमा ऋण लिने कुरा नभएको बताए। 

‘कांग्रेसले ऋण लिन्न भनेर भनिसकेको छ। सम्माननीय प्रधानमन्त्रीजीले ऋण लिने कुरा भएको छैन भनिसक्नु भएको छ। अब यसको ठीक कार्यान्वयन लाग्नुपर्छ,’ उनले भने।
 
यस्तै, कांग्रेस र एमाले मिलेर बनेको राजनीति समीकरणको लक्ष्य भ्रष्टाचार नियन्त्रण, विकास र समृद्धि रहेको उनले बताए।

संविधान संशोधनको विषय उठेको भन्दै उनले संघीय लोकतान्त्रिक शासन व्यवस्था र समावेशितालाई थप उन्नत बनाउनका लागि संविधान संशोधन गरिने बताए। संविधान संशोधनका लागि आन्तरिक छलफल सुरू भइसकेको उनको भनाइ छ। 

कांग्रेस र एमालेले सत्ता समीकरणलाई ८४ निर्वाचनसम्म पुराउनुपर्नेमा गृहमन्त्री लेखकको जोड थियो। 

‘वर्तमान व्यवस्थामाथि आक्रमण हुँदै छ। यो संविधानमाथि आक्रमण हुँदै छ। यसलाई सुरक्षित गर्नु कांग्रेसको पहिलो दायित्व हो,’ उनले भने,  ‘नेपाली कांग्रेस बलियो नभएर लोकतन्त्र र यो व्यवस्था बलियो हुँदैन।’

मंसिर २२, २०८१ शनिबार १५:२६:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।