बिआरआईमा हस्ताक्षर गर्नु अगाडि सरकारले नाटक देखायो : पूर्वप्रधानमन्त्री खनाल

बिआरआईमा हस्ताक्षर गर्नु अगाडि सरकारले नाटक देखायो : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं : एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वदेश फिर्ता भएका छन्। बेल्ट एण्ड रोड फोरममा सहभागी हुन चीन प्रस्थान गरेका उनी शनिबार स्वदेश फिर्ता भए।

स्वदेश फिर्ता भएसँगै त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बिआरआईको फ्रेमवर्कमा हस्ताक्षर भएकोप्रति खुशी लागेको बताएका छन्। उनले बिआरआई फ्रेमवर्कमा हस्ताक्षर गर्नै पर्ने भए पनि त्यसअघि सरकारले नाटक गरेको टिप्पणी गरे।

उनले भने, ‘बिआरआईमा हस्ताक्षर गर्नु अगाडि सरकारले पर्याप्त ध्यान पुर्याउन सकेन। बिआरआईका बारेमा पहिले नै अध्ययन गर्नुपर्नेमा चीन पुगेपछि अलमलका साथ सरकारले बिआरआईको फ्रेमवर्कमा हस्ताक्षर गरेको छ। छिमेकी देशहरूसँग राम्रो सम्बन्ध बनाउन नसक्नेले अन्य देशहरूसँग पनि राम्रो सम्बन्ध बनाउन सक्दैन।’

उनले बिआरआई नेपालको हितमा रहेको बताए। 

खनालले चीनबाट नेपालमा सडक माध्यमबाट सामान ल्याउँदा धेरै कष्ट बेहोर्नुपरेको भन्दै पारवहनका विषयमा सरकारले चीनसँग आवश्यक छलफल अघि बढाउनुपर्ने जिकिर गरे।

मंसिर २२, २०८१ शनिबार १४:२४:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।