नेपाली गायिका : बिहे अघि चकाचक, बिहेपछि गुमनाम

नेपाली गायिका : बिहे अघि चकाचक, बिहेपछि गुमनाम

काठमाडौं : विवाहपछि गायिकाहरू धमाधम सांगीतिक क्षेत्रबाट हराउने गरेका छन्। विवाहअघि चर्चामा रहेका गायिकाहरू विवाहपछि गीतहरू गाएको चर्चामा आएको खासै पाइँदैन।

दुई वर्षअघि तीजमा ‘सोचे झैँ रैनछ जीन्दगी’ गीतका कारण चर्चामा आएकी गायिका मधु क्षेत्रीलाई अहिले गीतले भने जस्तै भएको छ। दोस्रो विवाहपछि सांगीतिक क्षेत्रलाई बिट मार्दै अष्ट्रेलिया उडेकी  उनका गीतहरू स्रोताले सुन्न पाएका छैनन्।

पहिलो विवाह सोचे झैँ नभएपछि दोस्रो विवाह बन्धनमा बाँधिएकी मधुलाई यतिबेला अष्ट्रेलियामा न गीत गाउन पाएकी छन्, न नेपाल नै फर्कन नै सकेकी छन्। चर्चित गायिकाको रूपमा उभ्याउँदा समेत उनी गायनमा फर्कन सकेकी छैनन्।

‘कभर गीत’ गाएर आफूलाई चर्चित गायिका बनाएकी एलिना चौहानको पनि विवाहपछि गायनमा सक्रिय छैनन्। छ महिनाअघि अष्ट्रेलिया निवासी प्रेमी विष्णु सापकोटासँग धुमधामका साथ विवाह बन्धनमा बाँधिएकी उनी यतिबेला नेपालमै छिन्।

नेपालमै भए पनि उनको करियरको ग्राफ भने ओरालो लागेको देखिन्छ। विवाहअघि मेला, महोत्सव र रेकिर्डिङले भ्याइनभ्याइ हुने उनी विवाहपछि भने गुमनामजस्तै छिन्। अष्ट्रेलियामै रहँदा केही गीत गाएकी उनले नेपाल आएर आफ्नो पहिलाकै लय कायम गर्न खोजे पनि सकिरहेकी छैनन्।

मधु र एलिनामात्रै होइन, डेढ दशकअघिकी चर्चित गायिका सिन्धु मल्ल पनि विवाहपछि गुमनाम झैँ छिन्। त्यो बेलाको एकदमै डिमान्डेड गायिकाको रूपमा चिनिन्थिन् उनी।

बद्रि पंगेनीको ‘ससुरालीमा’ र महेश बुढाकथोकीको ‘होस गर है सोल्टिनी’, ‘काफल गेडी कुटुक्कै’ गीत गाएपछि चर्चामा आएकी थिइन् उनी। त्यसपछि मेला महोत्सव र देशविदेशको कार्यक्रममा समेत उनको माग बढ्यो। उनलाई आफ्नो गीतमा स्वर भराउनका लागि सर्जकहरूले डेट कुरेर बस्थे।

सबै विधामा अब्बल मानिएकी गायिका सिन्धु मल्लले ललितकला क्याम्पस हुदै कलानिधि इन्दिरा संगीत महाविद्यालयबाट संगीतमा स्नातक गरेकी छन्। विवाह गरेपछि उनी गायन क्षेत्रबाट गुमनामजस्तै भइन्। पछिल्लो एक दशकयता उनका गीतहरू स्रोताले बिरलै सुन्न पाइरहेका छन्।

संगीतकार सुदाम थापासँग विवाह बन्धनमा बाँधिएपछिको समयलाई हेर्ने हो भने गीतसंगीतमा उनको त्यस्तो चर्चा छैन। उनले श्रीमानसँगको संगीतमा ‘धरानैको बजारमा’, ‘चिटिक्कै भा छु रे’ जस्ता गीतहरू गाएकी छन्। राम्रै सांगीतिक माहोलमा रहेको यो जोडी अहिले घरमै सीमित जस्ता देखिएका छन्।

यता गायिका रजिना रिमाल पनि गायनबाट ओझेल परेकी छन्। दश वर्षअघि फिल्म ‘नाई नभन्नु ल’को शीर्ष गीत ‘मर्ने कसैलाई रहर हुँदैन’ लगायत ‘पागल म बन्न सक्छु’, ‘म मर्ने बेला तिमी चैँ आउनु’ लगायतमा स्वर भरेकी रिमालले व्यवसायी विनोद श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएपछि गायन यात्रामा ब्रेक लागेको छ।

वि.सं. २०७२ सालमा विवाह बन्धनमा बाँधिएकी रजिना त्यसयता सक्रिय तवरले गायनमा फर्कन सकेकी छैनन्।

उकेरासँगको कुराकानीमा उनले गीतहरू छानेर गाउन थालेकाले तुलनात्मक रुपम कम गीतहरू आएको तर्क गरिन्। तर बिहेपछिको समयमा आफ्ना गीतहरू आउँदै नआएको कुरालाई भने उनी स्वीकार गर्दिनन्। केही गीतहरू पाइपलाइनमा रहेको उनी बताउँछिन्।

यता ‘सिम्पल सिम्पल कान्छीको’, ‘ढल्क्यो ढल्क्यो’, ‘बारुले कम्मर’, ‘मात लाग्यो मात लाग्यो’ जस्ता चर्चित गीत गाएकी माण्डवी त्रिपाठी पनि विवाहपछि गायनमा सक्रिय छैनन्। एक दशकअघि उनका गीतहरू जसरी चर्चामा रहन्थेँ अहिले छैन। त्यतिबेला हरेक कार्यक्रममा उनका गीतहरू धन्किन्थेँ।

जब २०६७ सालमा संगीतकार विपिन आचार्यसँग विवाह बन्धनमा बाँधिइन्, त्यसपछि उनका गीतहरू कम आउन थाले। संगीतकर्मी आयार्य र गायिका त्रिपाठीले डेढ वर्ष प्रेम सम्बन्धपछि विवाह बन्धनमा बाँधिएका थिए। गायिका त्रिपाठीका गीत नै स्रोतामाझ नल्याएका भने होइनन्।

एक महिना अघि मात्र यो जोडीले ‘आदत’ नामक गीतको भिडियो सार्वजनिक गरेको थियो। नाम चलेका कलाकारहरूलाई भिडियोमा देखाइएाके थियो। दर्शक स्रोताले एक हजार पटक पनि सुनेका छैनन्। केही वर्ष यता यो जोडीले सामाखुशीमा एमबी रेकर्डिङ स्टुडियो सञ्चालन गरेर बसेका छन्।

प्ले ब्याक सिंगरका रूपमा आफूलाई चिनाएकी प्रविशा अधिकारीका थुप्रै गीतहरू चर्चामा छन्। एक दशकअघि उनले फिल्म ‘कसलाई दिऊ यो जोबन’मा ‘मायामा’ बोलको गीत गाएकी थिइन्। त्यसपछि उनको गायन यात्रा सुरू भएको थियो। त्यसपछि फिल्म ‘मालतीको भट्टी’, ‘मञ्जरी’, ‘लङ्का’, ‘हिफाजत’, ‘मा¥यो नि मायाले मा¥यो’, ‘नोभेम्बर रेन’, ‘होमवर्क’ लगायतमा गाएपछि उनको गायनले उचाइ लिएको थियो।

उनलाई फिल्म ‘रोजी’को ‘फूल होइन’ हुँदै ‘प्रेम गीत ३’को ‘हर युग होस’समावेश गीतले स्रोतामाझ चिनाउन सफल भयो। टेलिभिजन रियालिटी सो ‘द भ्वाइस किड्स’ को जज समेत भएकी गायिका अधिकारीले चार वर्षअघि अमेरिका निवासी इन्जिनियर निर्माण सिटौलासँग विवाह बन्धनमा बाँधिइन्।

त्यसयता श्रीमानसँगै अमेरिका रहेकी उनको गायनमा ब्रेक लागेको छ। चर्चामा आउदै गर्दा विवाह बन्धनमा बाँधिएपछि उनले गायनलाई अगाडि बढाउन सकेको देखिँदैन।

फिल्म ‘छक्का पञ्जा २’मा समावेश गीत ‘ए दाजु नसमाउ नाडी’ बोलको गीत गाएर चर्चामा आएकी गायिका सिर्जना वर्मा पनि बिहेपछि चुपचाप छिन्।

आखिर यस्तो किन हुन्छ त? विवाहपछि गायिकाहरू गायनमा किन निष्क्रिय झैँ हुन्छन्। संगीतकार अर्जुन पोखरेलका अनुसार बिहेपछि बढेको जिम्मेवारीका कारण गायनमा कम देखिएका हुन्।

उनी भन्छन्, ‘बिहे अगाडि जति खुला रूपमा जतिवटा गीतहरू गाउन अफर आए, त्यो छोड्नु हुँदैन। उहाँहरूले अवसरलाई गुमाउन चाहनुहुँदैन। तर, बिहेपछि भने उहाँहरू जिम्मेवारी बढी हुन्छ। गीतको अवसर आउँदा नभ्याउने जस्ता कुराले गर्दा अवसरहरू गुम्छन्।’

अर्को कुरा गायनमा सक्सेज भइसकेपछि अर्थात गीत निकै चलिसकेपछि गायिकाहरूमा यति भए भइहाल्छ नि भन्ने खाल्का कुराहरूले पनि पछि पारेको संगीतकार पोखरेल बताउँछन्।

‘एक अवस्थामा पुगेपछि गायिकाहरूमा घरको जिम्मेवारी र बालबच्चाको हेरचाह गर्नुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘परिवारको जिम्मेवारीमा आइसकेपछि अवसरको खोजीमा रहेको बेलामा जस्तो तरिकाले गीत गाउन पाउँदैनन्। स्रोतामाझ देखिनका लागि गीत पनि चलेको हुनुपर्छ। चल्ने गीत पाइएन भने ओझेल परेकै देखिन्छ।’

मंसिर २२, २०८१ शनिबार १०:१९:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।