दक्षिणी सिरिया कब्जा गरेर दमास्कसतर्फ अघि बढ्दै सिरियाली विद्रोही समूह
एजेन्सी : सिरियाका इस्लामिक विद्रोही राजधानी दमास्कसतर्फ अघि बढिरहेका छन्। यसैबीच, विद्रोहीहरूले दक्षिणी सिरियाको डेराका अधिकांश भाग कब्जा गरेका छन्।
डेरा त्यही क्षेत्र हो जहाँ सन् २०११ मा राष्ट्रपति बसर अल असदको विरोध सुरु भएको थियो। यसपछि देशमा गृहयुद्धको अवस्था सिर्जना हुँदा पाँच लाखभन्दा बढीको ज्यान गएको थियो।
यो क्षेत्र रणनीतिक र प्रतीकात्मक रूपमा निकै महत्वपूर्ण छ। यो क्षेत्र जोर्डनको सिमानामा रहेको मुख्य क्रसिङको नजिक छ।
बेलायतमा रहेको सिरियन अब्जर्भेटरीले सरकारी सेनासँगको ‘हिंसक झडप’ पछि ‘स्थानीय विद्रोही समूहहरू’ले सेनाको धेरै स्थानहरू कब्जा गर्न सफल भएको बताएका छन्।
जोर्डनका आन्तरिक मन्त्रीले सिरियाको दक्षिणमा सुरक्षा अवस्थालाई ध्यानमा राख्दै देशले सिरियाको यस क्षेत्रसँगको सीमा बन्द गरेको बताएका छन्।
हालै विद्रोहीहरूले हमामा कब्जा गरेका छन् र हजारौं मानिसहरू होम्सबाट भागेका छन्। गत हप्ता सरकारी सेनाले अलेप्पोको नियन्त्रण गुमाएपछि राष्ट्रपति बसर अल-असदका लागि यो दोस्रो ठूलो धक्का थियो।
गत साता सिरियामा विद्रोहीले अचानक आक्रमण गर्न थालेपछि अल्पसंख्यक समुदाय अलावाइटका मानिसहरूले आफ्नो घर छाड्न थालेका छन्।
मंसिर २२, २०८१ शनिबार ०८:०१:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।