पत्रकारको नेता बन्न पाँच जनाको उम्मेदवारी, दल अनुसारका गठबन्धन
काठमाडौं : मंसिर २८ गते हुने नेपाल पत्रकार महासंघको अध्यक्ष पदका लागि पाँच जनाले उम्मेदवारी दिएका छन्।
अध्यक्षका लागि कमल गिरी, देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश बिष्ट र लालसिंह (एलएस) लामाको उम्मेदवारी परेको छ।
गिरी माओवादी निकट प्रेस सेन्टर नेपाल नेतृत्वको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका छन् भने शर्माले एमाले निकट प्रेस चौतारीसहित प्यानलबाट उम्मेदवारी दिएका छन्। बिष्टले भने स्वतन्त्र उम्मेदवारी दिएका छन्।
त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईं, दामोदरप्रसाद दवाडी, दीपक आचार्य र रोशन पुरीसहित चारजनाको उम्मेदवारी परेको छ।
चौलागाई चौतारी नेतृत्वको प्यानलका उम्मेदवार हुँदा पुरी प्रेस सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार हुन्।
उपाध्यक्ष महिलामा गङ्गा पौडेल र नितु पण्डितको उम्मेदवारी परेको छ । बराल प्रेस सेन्टर र पण्डित चौतारी नेतृत्व प्यानलको उम्मेदवार हुन्।
त्यसैगरी, महासचिवमा जन्मदेव जैसी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेको उम्मेदवारी परेको छ। जसमा दाहाल चौतारीको प्यानलबाट र न्यौपाने सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार हुन्।
५२ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि एक सय ३३ जनाको उम्मेदवारी परेको छ।
महासंघको निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्न समयसीमा तोकिएकामा उक्त समयसीमाभित्र ४७ पदका लागि एक सय ३३ जनाको उम्मेदवारी दर्ता भएको छ।
मंसिर २२, २०८१ शनिबार ०७:२७:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।