जातका कुरा : दलितको इतिहास दलितले नै लेख्नुपर्छ, गैरदलितले गलत लेखिदिन्छन्

जातका कुरा : दलितको इतिहास दलितले नै लेख्नुपर्छ, गैरदलितले गलत लेखिदिन्छन्

५० को दशकमा एसएलसीलाई ‘फलामे गेट’ भनेर विद्यार्थीमा हाउगुजी बनाइयो। त्यो गेटभित्र पस्न विद्यार्थीहरू थुप्रै मेहनत गर्थे। भोजपुरतिर एसएलसीको टेस्ट पास गरेपछि ट्युसन अनिवार्यजस्तै बनाइएको थियो। एसएलसी पास गर्न चाहनेहरूले टेस्ट सकिएपछि ट्युसन पढ्थे नै!

०५६ को प्रसङ्ग हो। आफ्नो ठाउँमा शिक्षकहरू नभएपछि भोजपुर कोटका रूद्रबहादुर चर्मकार एसएलसीको ट्युसन पढ्न गोगने पुगे। कक्षाका प्रथम रूद्रलाई एसएलसी राम्रै अंकका साथ पास गर्नु थियो।

रूद्र र राई थरका उनका एक जना साथीले गोगनेमा डेरा खोजे। आचार्य परिवारमा कोठा भेट्टाए पनि। सबै कुरा पक्का भयो। भोलिपल्ट आउने भनेर घरबेटीसँग बिदा भएर फर्के उनीहरू।

भोलिपल्ट बेलुका सामलतुलम बोकेर घर पुग्दा त्यसै फर्काइयो। अघिल्लो दिन कुरा पक्का गरेर गएको केही समयपछि रूद्र दलित हुन् भन्ने थाहा पाएछन् ती घरबेटीले।

त्यो बेला के बित्यो होला, रूद्रको मानसपटलमा?

‘त्यो मलाई हाम्रा आफन्त आउने भए त्यसैले नहुने भयो भन्नुभएको थियो। मलाई सामान्य लाग्यो। पछि थाहा पाइयो, मेरो साथीलाई बोलाएर त्यो फलानो जातको हो, हामी दिन्नौँ भन्नुभएको रहेछ। त्यसपछि त दु:ख लाग्यो नि! जातकै कारण कोठा नपाएको कुराले धेरैसम्म मेरो पढाइलाई डिस्ट्रब गर्यो’, रूद्रले सम्झिए।

त्यही दिनदेखि हो, रुद्रले पढेर ठूलो मान्छे बन्छु भन्ने प्रण गरेको। त्यसबेला रूद्रको बुझाइमा धेरै पढ्दा विभेद भोग्नु पर्दैन भन्ने थियो। त्यसैको नतिजास्वरूप रूद्रले ०७९ मा आफ्नो नामको पछाडि डाक्टर थपे। नेपालकै पढाइ पिएचडी सके।

धेरै पढेपछि जातीय विभेद नहुँदो रहेछ त, अहिले के अनुभव गर्छन् रूद्र? यसको जवाफमा उनले अर्को घटना सुनाए।

काठमाडौंमा ०७० सालमा विवाह गरे रूद्रले। त्यसबेला उनी पाटन संयुक्त क्याम्पसमा पढाइरहेका थिए। विवाहमा आफ्ना सहकर्मी बोलाइए। सहकर्मीहरू विवाहको भोज खाएर निस्के। निस्किँदै गर्दा ती मध्येका एक गैरदलित सहकर्मीले भनिहाले, ‘आज चमारकोमा खाना खाइयो, अब घरमा गएर सुनपानीले चोख्याउनुपर्ला।’

‘अहिलेसम्म पनि विभेद भोगिरहेको छु। भोग्नैपर्ने रहेछ। विभेद कम भएको हैन, विभेदका स्वरूपहरू बद्लिएका छन्। थुप्रै शिक्षितहरू बस्ने भनिएको काठमाडौंमा पनि उस्तै रहेछ विभेदको स्थिति। त्यसैले हाम्रो शिक्षाले विभेद घटाएको छैन रहेछ’, रूद्र भन्छन्।

 

०००

रूद्र दलितको इतिहास दलितले नै लेख्नुपर्छ भनेर लागिरहेका छन्। त्यसकारण पिएचडी पनि दलितकै विषयमा गरे उनले। दलितको बारेमा गैरदलितले गरेका धेरैजसो अध्ययनहरूमा ‘दलितमाथि हुने विभेद वर्गीय र शैक्षिक कारण हो’ भनेका छन्। तर, रूद्रले गरेको खोज-अनुसन्धान र भोगाइले भन्छ- यो सरासर झुट हो।

साहित्यमा पनि गैरदलितले दलितको मुद्दामा लेखिँदा कल्पना गरेर लेखिएका हुन्छन्। दलितले लेख्दा अनुभव र वास्तविकता बढी हुने भएकाले त्यहाँ गहिराइ बढी हुने रूद्रको अध्ययनले बताउँछ।

दलितले गरेका अनुसन्धानमा भोगाइ, अनुभवसहितको तथ्य आउने भएकाले पनि त्यो अनुसन्धान मात्र साँचो अर्थमा दस्तावेजीकरण गर्नुपर्ने उनले सुनाए।

साहित्यमा पनि गैरदलितले दलितको मुद्दामा लेखिँदा कल्पना गरेर लेखिएका हुन्छन्। दलितले लेख्दा अनुभव र वास्तविकता बढी हुने भएकाले त्यहाँ गहिराइ बढी हुने रूद्रको अध्ययनले बताउँछ।

पात्र छनौटमा पनि त्यस्तै स्थिति छ। ​गैरदलितले लेख्दा कमजोर पात्र प्रस्तुत गर्छ। तर, दलितले लेख्दा अलि विद्रोही र बलियो पात्र निर्माण गरिएको हुन्छ। त्यसैले पनि दलितको साहित्यको दलितले लेख्न जरूरी छ।

दलितले लेखेका साहित्यहरू विद्रोहका प्रतीक हुन्, जुन दलित आन्दोलन रहँदासम्म रहन्छन्। तर, गैरदलितले लेख्दा लेख्नको लागि लेखिएको जस्तो हुने रूद्र महसुस गर्छन्।

०००

०४१ मा भोजपुरको टेम्केमैयुङमा जन्मिएका रूद्रबहादुरको बाल्यकाल  मध्यमवर्गीय परिवारमै बित्यो। बुवा लालबहादुर अवकाशप्राप्त भारतीय सैनिक अधिकृत भएकाले परिवारको आर्थिक हैसियत ठिकै थियो।

स्थानीय जाैनागी प्राविमा पाँच कक्षासम्म पढेका उनले एसएलसी भने जनोदय माविबाट ०५६ सालमा प्रथम श्रेणीमा उत्तीर्ण गरे। प्रवीणता प्रमाणपत्र तह र स्नातक तहको पढाइ भोजपुर बहुमुखी क्याम्पसबाट सकेपछि थप अध्ययनका लागि काठमाडौं आए।

भोजपुर छोडेर काठमाडौं आएका रूद्रले २०६५ मा त्रिवि केन्द्रीय क्याम्पसबाट अंग्रेजी विषयमा स्नातकोत्तर पूरा गरे। त्यतिले मात्र नपुगेर उनले ०६९ मा पाटन संयुक्त क्याम्पसबाट समाजशास्त्रमा पुन: स्नातकोत्तर गरे। २०७५ मा कानून विषयमा नेपाल ल क्याम्पसबाट एलएलबीसमेत गरेका रूद्र अधिवक्ता पनि हुन्।

२०७३ मा अंग्रेजीमा एमफिल सकाएका रूद्रले त्यसको एक वर्षपछि अंग्रेजी विषयमा ‘दलित सौन्दर्य र मार्क्सवादी सौन्दर्यशास्त्र’मा (समकालीन नेपाली साहित्यमा दलित चेतना) पिएचडी सुरू गरेर २०७९ मा सके। रुद्र ३७ वर्षमा पिएचडी गर्ने दलित समुदायको पहिलो व्यक्ति समेत हुन्।

पिएचडीतर्फ नलागेको भए रूद्रका अघिल्तिर अरू थुप्रै अवसरहरू रहेछन्। तर, उनले ‘पिएचडी चैँ गर्नैपर्छ’ भनेर जोडतोडका साथ लागिरहे। कारण थियो निजामती सेवामा दलितमाथि भइरहेको विभेद र गैरदलितहरूको सोच।

‘यिनीहरू कोटाबाट आएका हुन्, खुल्ला प्रतिस्पर्धा गर्न सक्दैनन्, पढाइ पनि उत्कृष्ट हुँदैन…’ जस्ता भाष्यलाई गलत साबित गर्न आफूले पिएचडी गरेको उनी सुनाउँछन्।

‘दलितहरूलाई मानसिक रूपमा पहिल्यै कमजोर बनाइन्छ। राजधानीमा आएपछि सरकारी सेवामा मैले भोगेका यिनै विभेदहरूको नतिजा हो, मेरो पिएचडी’, उनले सुनाए।

२०६८ मा अंग्रेजी विषयको उपप्राध्यापक (स्थायी)मा नाम निकालेर पाटन संयुक्त क्याम्पसमा पढाउन थालेका उनले ‘दलितहरू असक्षम हुन्छन्’ भन्ने परोक्ष-प्रत्यक्ष सुनिनै रहनुपर्यो। जबकी त्यसरी असक्षमको ट्याग लगाउनेहरूभन्दा बढी अंकभार रूद्रको थियो। फेरि पनि ट्याग लगाउन छाडेनन् उनीहरूले।

त्रिविमा अंग्रेजी विषयको उप-प्राध्यापकमा उनले खुला प्रतिस्पर्धाबाट एकै पटकमा नाम निकालेका हुन्। दलित समुदायबाट सबैभन्दा सानो उमेर(२६ वर्ष)मा त्रिविमा उप-प्राध्यापकमा नाम निकाल्ने उनी पहिलो व्यक्ति समेत हुन्।

०००

शिक्षित हुनु र चेतनशील हुनु फरक कुरा भएको सुनाउँछन् रूद्र। शिक्षितहरूमा आजसम्म पनि दलितहरू भनेका अछुत हुन् भन्ने बुझाइ छ भने चेतनशीलहरूमा दलितहरू यो राज्यका १४ प्रतिशतका हिस्सेदार हुन् भन्ने छ। शिक्षितहरूले पढाइका अनेकन् विश्वविद्यालयबाट अनेकन् डिग्री लिएका छन् भने चेतनशीलहरूले नेपाली समाजलाई अध्ययन गरेका छन्। दलित समुदायको मुद्दालाई नियालेका छन्। रूद्र बुझाइ पनि यही हो।

आज पनि हाम्रो विद्यालय तहमा प्रजनन शिक्षा अनिवार्य छ। जसले गर्दा प्रजनन स्वास्थ्यबारे खुलेर छलफल हुन्छ, खुलेर आफ्ना कुरा राख्छन्। तर, जात व्यवस्थाबारे किशोरकिशोरी, युवायुवती कुरै गर्न रुचाउँदैनन्, किनकी उनीहरूलाई हाम्रो शिक्षाले यसबारे कहिल्यै सिकाएन।

तर, दुर्भाग्यपूर्ण कुरा! हाम्रो शिक्षा पद्दतीले वा पाठ्यक्रमले शिक्षितहरूमात्र उत्पादन गर्यो, डिग्री लिएकाहरूलाई चेतनशील बनाउन सकेन। नामी विश्वविद्यालयबाट पिएचडी नै सकेको केही शिक्षितले पनि आजसम्म दलितहरू कमजोर हुन्छन्, यिनीहरू फोहरी जात हुन्, संस्कार जानेका हुँदैनन् भनेर बुझेका हुन्छन्। अहिले पनि नयाँ ठाउँमा परिचय दिँदा चर्मकार भनेको के हो भनेर सोध्ने बुद्धिजीवी नै हुन्छन्।

हाम्रो पाठ्यक्रमले जात व्यवस्था, लैंगिक विभेदलगायतका विषयमा केही बोल्दैन, आजको शिक्षा प्रणालीको ठूलो कमजोरी यही भएको रूद्र बताउँछन्। तर, विद्यालयको प्राथमिक तहबाटै जात व्यवस्था विरुद्ध लड्न सिकाउने पाठ्यक्रम समावेश हुनुपर्ने रूद्रको माग छ।

आज पनि हाम्रो विद्यालय तहमा प्रजनन शिक्षा अनिवार्य छ। जसले गर्दा प्रजनन स्वास्थ्यबारे खुलेर छलफल हुन्छ, खुलेर आफ्ना कुरा राख्छन्। तर, जात व्यवस्थाबारे किशोरकिशोरी, युवायुवती कुरै गर्न रुचाउँदैनन्, किनकी उनीहरूलाई हाम्रो शिक्षाले यसबारे कहिल्यै सिकाएन।

उनी भन्छन्, ‘कति दलित बालबालिका कुरा बुझ्ने भएपछि समूहमा आफ्नो थर बताउनै हच्किन्छन्। वास्तविक थर भन्यो भने साथीबाट हेपिन्छु भन्ने मनोविज्ञान विकसित भइसकेको हुन्छ उनीहरूमा। जसले गर्दा पछिसम्म पनि थर ढाँट्ने बानी रहिरहन्छ। यसको दोष हाम्रो शिक्षा पद्धतिलाई लगाउँदा सायद फरक नपर्ला।’

०००

रुद्रलाई लाग्छ- नेपालमा शिक्षक आफैँले जात व्यवस्थालाई मलजल गरिरहेका छन्। उनीहरू आफैँ जातीय विभेद गर्छन्। विद्यालयमा दलित शिक्षकलाई गर्ने उनीहरूको व्यवहार र गैरदलित विद्यार्थीलाई गर्ने व्यवहार निकै फरक हुने उनको बुझाइ छ।

पञ्चायत ढाल्ने शिक्षक, राजा फाल्ने सक्रिय हुनसक्ने शिक्षकले किन जात व्यवस्था नफालेर बचाउनै लागिपरेका छन् त, रूद्रको प्रश्न छ।

समाजका प्रतिनिधि शिक्षक हुन्। उनीहरूले समाजकै प्रतिनिधित्व गर्दा समाज अगाडि बढ्न सकेको छैन। शिक्षक नै नेपालमा विभेदकारी भएकाले जात व्यवस्था कायम रहेको रुद्रको तर्क छ।

शिक्षक समाजको परिवर्तनको वाहक हुन्। पञ्चायत ढाल्ने शिक्षक, राजा फाल्ने सक्रिय हुनसक्ने शिक्षकले किन जात व्यवस्था नफालेर बचाउनै लागिपरेका छन् त, रूद्रको प्रश्न छ।

राज्यका विभिन्न निकायहरूमा योग्य दलितहरू नभएको भन्ने कयौंपटक सुनिन्छ। सबैभन्दा बढी सुनिने राजदूत नियुक्तिको क्रममा हो। ‘योग्यता पनि चाहियो, दलित भएर मात्र हुँदैन’ भनेको कयौंपटक सुनिँदै आएको हो। तर, यसमा कत्ति पनि सहमत छैनन् रूद्र। राज्यले हेर्ने दृष्टिकोण नै कुरूप र विभेदकारी भएकाले यस्तो भएको न कि क्षमता, योग्यता भएका दलितहरू नभएका हुन्।

‘सरकारले पछिल्लो समय गरेको राजदूत नियुक्ति हेर्दा देखिन्छ, तिनीहरूको योग्यता पनि प्लसटु, ब्याचलरभन्दा छैनन्। दलित समुदायमा पिएचडी नगरेका व्यक्तिहरू नभएका हुन् र?’, रूद्रको प्रश्न छ।

जातका कुरा:-

मंसिर २१, २०८१ शुक्रबार २२:२५:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।