अलेप्पो र हामा शहर कब्जा गरेको सिरियाली विद्रोही राजधानीतर्फ अघि बढ्दै

अलेप्पो र हामा शहर कब्जा गरेको सिरियाली विद्रोही राजधानीतर्फ अघि बढ्दै

एजेन्सी : सिरियाली राष्ट्रपति बसर अल असदविरुद्धको विद्रोहीको अभियान राजधानी दमास्कससम्म पुग्ने सम्भावना बढेको छ।

अलेप्पो र हामा शहरहरू आफ्नो नियन्त्रणमा लिइसकेका उनीहरू राजधानीतर्फ अघि बढिरहेका छन्।
 
बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स (एसओएचआर)का अनुसार विद्रोहीहरु होम्सतर्फ अघि बढिरहेका छन्।

यदि विद्रोहीहरूले होम्स कब्जा गरे भने सिरियाको राजधानी दमास्कस धेरै सहरहरूबाट काटिनेछ।

बिहीबार हामाको नियन्त्रणमा लिएपछि विद्रोही समूह हयात तहरीर अल-शामका नेता अबु मोहम्मद अल–जवलानीले विजयी घोषणा गरेका छन्।

बशर अल-असदले विद्रोहीहरूलाई ‘आतंकवादी’ भनेका थिए। यसअघि इरानी राष्ट्रपति मसुद पेजेस्कियानसँगको कुराकानीमा सिरियाली राष्ट्रपतिले अहिलेको अवस्थाका लागि अमेरिका र पश्चिमी मुलुकलाई दोष दिएका थिए।

आफ्नो कुराकानीमा बशर अल-असदले अमेरिका र अन्य पश्चिमी देशहरू यस क्षेत्रको नक्सालाई नयाँ आकार दिन चाहेको बताएका थिए।

मंसिर २१, २०८१ शुक्रबार २१:२४:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।