एनपीएलको जुवा खेलाएको आरोपमा थप एक भारतीय नागरिक पक्राउ

एनपीएलको जुवा खेलाएको आरोपमा थप एक भारतीय नागरिक पक्राउ

काठमाडौं : जुवा खेलाएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले थप एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको हरियाणा राज्यको पानीपत घर भएर काठमाडौंको ठमेलस्थित रोयल पेन्गुइन होटलमा बसेका ३२ वर्षीय प्रदीप खर्ब रहेका छन्।

विशेष सूचनामा आधारमा सीआईबीको टोलीले अनुसन्धान गर्दा जुवा खेलाइरहेको भेटिएपछि उनलाई पक्राउ गरिएको सीआईबीको अनुसन्धान स्रोतले उकेरालाई जानकारी दियो।

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना गरेसँगै जुवा खेलाएको अभियोगमा प्रहरीले यसअघि नै नौ जनालाई पक्राउ गरेर मुद्दा चलाइसकेको छ। तीमध्ये अधिकांश भारतीय नागरिक छन्।

टियू मैदानको मुख्य भागमा वुल्फत्रिपलसेभेनको सरोगेट नाम वुल्फत्रिपलसेभेनन्युजको विज्ञापन राखेर जुवा प्रवर्धन गरिरहेकोबारे उकेराले निरन्तर समाचार प्रकाशित गर्दै आएको छ।

उकेराको समाचारको आधारमा प्रहरीले अनुसन्धान गर्दै पारस खड्काको संयोजकत्वमा रहेको एनपिएल आयोजक समितिले जुवाको प्रचार गरेको निष्कर्ष निकाल्दै प्रहरीले त्यसलाई रोक्न गृह मन्त्रालयमा पत्र पठाए पनि कारबाही भने भएको छैन।

शुक्रबारको खेलमा पनि क्यानले जुवा खेलाउने कम्पनीको प्रचार सामाग्री मैदानमा राखिरहेकै छ। तीन फ्रेन्चाइज टिमले अलग अलग जुवा खेलाउने कम्पनीको सरोगेट नामको प्रचार गरिरहेका छन्।

उकेराको खोजमा क्यानले जुन कम्पनीको सरोगेट नामको प्रचार गरिरहेको छ त्यो विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा नै दर्ता भएको र नौ जना प्रतिवादी बनेको फेला पारेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वुल्फत्रिपलसेभेनबारे अनुसन्धान गर्दै उनीहरूले नेपाली नागरिकको प्रयोग गर्दै २४ करोड बराबरको जुवा खेलाएको निष्कर्ष निकालेको देखिन्छ।

यो पनि:-

मंसिर २१, २०८१ शुक्रबार २१:०७:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।