लुम्बिनीलाई हराउँदै पोखराले एनपिएलमा बनायो चार रेकर्ड
काठमाडौँ : टीयू क्रिकेट मैदानमा शुक्रवारको खेलमा दुई खेल गुमाएको पोखरा एभेन्जर्सले शानदार कमब्याक मात्र गरेन, एनपिएलमा विभिन्न रेकर्डहरू समेत बनायो।
शुक्रवार लुम्बिनी लायन्सको चुनौतीपूर्ण लक्ष्य पुरा गर्न मैदानमा उत्रिएको पोखरा एभेन्जर्सका खेलाडीले एनपिएलमा पहिलो शतक, कीर्तिमानी साझेदारी, सबैभन्दा धेरै विकेटको जित र सबैभन्दा छिटो अर्ध शतक बनाउने खेलाडीसम्मको रेकर्ड बनाए।
पोखराका खेलाडी आन्द्रेस गस एनपिएलमा पहिलो शतक हान्ने खेलाडी बने। गसले अविजित १०४ रन बनाए। शतक पुरा गर्न उनले ५५ बल खेल्दै १२ चौका र ५ छक्का मद्दतमा शतक बनाएका थिए। उनले दिनेश खरेलसँगको साझेदारी गर्दै १७१ रनको लक्ष्य १६.५ ओभरमा पुरा गरेका थिए।
एनपीएलका टिममध्ये १० विकेटको अन्तरले जित्ने पहिलो टिम बन्यो पोखरा। ब्याटर गसले एनपीएलमा सबैभन्दा छिटो अर्ध शतक प्रहार गर्ने खेलाडी समेत बने। उनले २० बलमै ५ चौका र ३ छक्का हानेर अर्ध शतक पूरा गरेका थिए। यसअघि यो रेकर्ड सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीको नाममा थियो। उनले विराटनगर किंग्स विरुद्ध २३ बलमा अर्ध शतक पुरा गरेका थिए।
गस र दिनेशले पहिलो विकेटका लागि गरेको साझेदारी पनि एनपीएलको रेकर्डमा उच्च साझेदारी बन्यो। उद्घाटन खेलमै जनकपुर बोल्ट्सका लाहिरु मिलान्था र हर्श थाकरले विराटनगर किंग्स विरुद्ध तेस्रो विकेटका लागि अविजित १ सय १६ रनको साझेदारी गरेका थिए। त्यो रेकर्ड पनि भत्कियो।
मंसिर २१, २०८१ शुक्रबार १७:४१:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।