महत्वपूर्ण दस्ताबेज विदेशीले कागजको भाउमा किनेको दृश्यले जन्माएको आशा सफूकुथी, जहाँ सुरक्षित छन् ८ सय वर्ष पुराना दस्ताबेज

महत्वपूर्ण दस्ताबेज विदेशीले कागजको भाउमा किनेको दृश्यले जन्माएको आशा सफूकुथी, जहाँ सुरक्षित छन् ८ सय वर्ष पुराना दस्ताबेज
तस्बिर : कृष्पा श्रेष्ठ

काठमाडौँ : असनबाट सिधै गएपछि रक्तकाली अजिमाको मन्दिर आउँछ। त्यही मन्दिरको अगाडि रञ्जना लिपिमा लेखिएको छ ‘आशा सफूकुथी।’ काठमाडौँका अधिकांश पुराना पुस्तकालय हराइसकेको बेला यो भने स्वदेशी तथा विदेशी अनुसन्धाताहरुमाझ आकर्षणको केन्द्रमा देखियो।

यहाँ नेपाल संवत् ३ सय देखि ६ सय सम्मका ताडपत्रहरू सङ्कलित छन्। ताडपत्र भनेको  त्यसबेला कागजको विकास भइसकेको थिएन। महत्पूर्ण लिखतहरू त्यही ताडपत्रमा लेखिन्थ्यो।

पुस्तकालय प्रमुख छन् शरद कंसाका अनुसार पुस्तकालयमा ७ हजार भन्दा बढी ग्रन्थहरू छन्। नेपालका विभिन्न जातजाति, सम्प्रदाय सम्बन्धित दस्तावेजहरु छन्। पुजाआजा, औषधी उपचार, तन्त्रमन्त्र, ज्योतिषी, खगोल विद्या, वेद, पुराण, वास्तुकला, शैव, बौद्ध सबैका महत्वपूर्ण दस्ताबेजहरू सुरक्षित रूपमा राखिएका छन्।

पुस्तकालयमा महायान र बज्रयान सम्प्रदायका ग्रन्थहरू धेरै छन्। नेपाल भाषाका साहित्य भजन गीत अनि लोककथासम्म राखिएको छ त्यहाँ।

समय अनुसार प्रविधिमैत्री भनेको पुस्तकालयमा ५ हजार ३ सय ८२ वटा ग्रन्थहरूको संक्षिप्त विवरण राखिएको र ७ हजार २५ वटा पाण्डुलिपिहरू डिजिटाइज भएको पुस्तकालयका प्रमुख शरद्ले बताए। निश्चित रकम तिरेपछि सहजै डिजिटल भर्सन पाउन सकिन्छ।

पुस्तकालयको प्रमुख शरदका अनुसार संस्थाको उद्देश्य नेपालको प्राचीन बहुमूल्य पाण्डुलिपिहरु जनस्तरबाट संकलन गर्ने, नेपालका सम्पदा सम्बन्धी अध्ययन योग्य सान्दर्भिक मूल्यवान् पाण्डुलिपिको संरक्षण गर्ने, सबै ग्रन्थ सूचिका लग, क्याटलग बनाउने, आधुनिक प्रविधि अनुसार अपडेट हुँदै जाने अनि अध्ययन अनुसन्धान गर्न चाहनेलाई उपलब्ध गराउने हो।

यति महत्वपूर्ण दस्ताबेजसहितको पुस्तकालय कसरी खुल्यो? यसको पृष्ठभूमि निकै रोचक छ। यसको स्थापना गरेका थिए प्रेमबहादुर कंसाकारले। अब प्रेमबहादुर र अनि यो पुस्तकालयको स्थापनाको केही पृष्ठभूमि उल्लेख गरौँ।

२० को दशकमा प्रेमबहादुर कंसाकार सधैँ झैँ सबेरै उठेर वसन्तपुर दरबार क्षेत्रमा हिँडिरहेका थिए।  केही स्थानीयले पुराना कागजातहरू विदेशीलाई महँगो मूल्यमा बेचिरहेको देखे।

पद्मोदयमा लामो समयदेखि पढाइरहेका कंसकारलाई पुराना कागज अनि दस्ताबेजको महत्त्व थाहा नहुने कुरै भएन। उनले सोचे, अब स्थानीयको घरमा जति पुराना कागजात छन् ती सबै सङ्कलन गर्ने। अनि उनले त्यही दिनदेखि स्थानीयको घरमा भएको पुराना कागजात र दस्ताबेज  सङ्कलन सुरु गरे।

पञ्चायतकालको समय, स्वतन्त्रतापूर्वक लेख्न पढ्न पाइने अवस्था थिएन। उनी राजा महेन्द्रले शाही ‘कु’ गरेर सत्ता हत्याएको विरोधमा त थिए नै त्यसमाथि उनको पृष्ठभूमिले पनि उनीप्रति पञ्चायत सरकार सकारात्मक थिएन।

पुराना दस्ताबेज सङ्कलन गर्न थालेको धेरै भएकै थिएन, २०३० भदौ १५ बाट पुराना बहुमूल्य सामाग्री सङ्कलन गर्न थालेका थिए। कंसाकारलाई मूर्ति चोरको आरोपमा गिरफ्तार गरियो। रमेशनाथ पाण्डेले नयाँ सन्देश पत्रिका निकाल्थे। त्यो पत्रिकामा उनी पक्राउको समाचार छापियो ।

समाचारमा ‘मूर्तिचोरहरुको गिरोहमा पुराना राजनैतिक व्यक्तिहरू पनि समावेश रहेको आशङ्का रहेको र २०१७ साल अगाडि ‘लाल कम्युनिस्ट’ तथा हाल स्थानीय एक हाई स्कुलका शिक्षक प्रेम बहादुर कंसाकारको गिरफ्तारी’ भनेर लेखियो। कंसाकारको पक्राउ सनसनी फैलियो।

पञ्चायतकालमा राजनीतिक दल प्रतिबन्धित थिए। सरकारले नागरिक र फरक विचार राख्नेलाई पक्राउ गर्दा सरकार विरोधी सबैले विरोध गर्थे। उनी पक्राउ परेको घटनाको पनि विरोध भयो।

मदन सेन बज्राचार्यले नेपाल भाषामा ‘प्रेमबहादुर कंसकारको जीवनी’ पुस्तकमा लेखे अनुसार सरकार इतरका पत्रपत्रिकाले विरोध गर्न थाले।  राष्ट्रिय पुकार पत्रिकाले २०३० भदौ १५ मा प्राचीन वस्तु घरमा भएको अभियोगमा कंसकार पक्राउ परेको बारे समाचार प्रकाशित गर्यो।

समाचारमा लेखियो ‘यदि यसो हो भने सारा इतिहासकारहरूसँग केही न केही पुराना वस्तु हुन्छन्। ती सबै अपराधी हुने भए। यो सवाल हेर्दा त श्री कंसकार गिरफ्तारी एक षडयन्त्र त हैन’।

तर जति विरोध भए पनि सरकारले उनलाई थुन्यो। तर विशेष अदालतले सफाइ दियो। त्यतिबेला प्रकाशन भएको समय दैनिकले उनलाई अदालतले सफाइ दिएको समाचार लेखेको छ।

भारत छोडो आन्दोलनदेखि पञ्चायत विरोधीसम्म

विक्रम संवत् १९७४ वैशाख शुक्ल दशमीमा जन्मिएका प्रेमरत्न सानैदेखि पढाइमा पोख्त। घण्टाघर मुनि उर्दु र फारसी सिके उनले। उनले छिटो उर्दु र फारसी भाषा सिकेको देखेर उनलाई पढाउने एक मुसलमान मौलवीले ‘तिमी त क्या बहादुर रहेछौँ’  भन्थे।

परीक्षा लिन सरदार ज्वालासिंह हमाल आए। उनको स्मरण शक्ति देखेर उनी पनि चकित भए। अनि अबदेखि तिम्रो नाम प्रेमबहादुर  कंसाकार भनिदिए। त्यसमा उनले नाइँनास्ति पनि गरेनन्। अनि उनी प्रेमरत्न कंसकारबाट प्रेमबहादुर कंसाकार भए।

एसएलसीसम्म पढेपछि १९९५ मा कंसाकार भारतको पटना गए। पटना युनिभर्सिटिमा पुगेका उनमा राणा शासन फाल्ने हुटहुटी चल्यो। पटनामा रेडिकल डेमोक्रेटिक पार्टीमा आबद्ध भए। पछि उनी नेपाली राष्ट्रिय कांग्रेससँग जोडिन पुगे। 

त्यही बेला भारतमा अंग्रेजविरुद्ध आन्दोलन चर्किरहेको थियो। बेलायतको लामो औपनिवेशकै कारण राणाहरू टिकेको र यो हटेमा नेपालमा सहजै राणा शासन हट्ने त्यतिबेलाका नेपाली नेताहरूको बुझाइ थियो।

नेताहरूकै भनाइ पत्याएर उनी पनि भारत छोडो आन्दोलनमा सहभागी भए। सँगै उनले पढाइलाई पनि निरन्तरता दिए। आइए पास गरेपछि उनले बिए जोइन गरे। त्यतिबेला आइए दुई वर्ष अनि बिए पनि दुई वर्षकै थियो।

विक्रम संवत् १९९९ मा  भारतमा चलेको आन्दोलनको नेपालमा पनि  प्रभाव पार्यो। उनले नेपाल प्रजातन्त्र सङ्घ गठन गरे। 

पढाइसँगै राजनीति गरिरहेका कंसाकार नेपाली राष्ट्रिय कांग्रेसको सचिवालयमा काम गर्न थाले। उनले नेपाल राष्ट्रिय कांग्रेसमा डिल्लीरमण रेग्मी र बीपी कोइरालाबीच पार्टी सभापति को हुने विषयमा चर्को विवाद भएको र पार्टी भारत परस्त भएको आरोप लगाए। पार्टीको विपक्षमा लेखहरू लेख्न थालेपछि विवाद चर्कियो। अनि उनले कांग्रेस छाडे।

राजनीति र शिक्षा विकास सँगसँगै

उनीभित्र राजनीतिको हुटहुटी सकिएकै थिएन। विभिन्न सङ्घ, सङ्गठन खोल्ने गरिरहे उनले। पहिले पनि प्रजातन्त्र सङ्घ मार्फत उनले केही समय कार्यक्रम चलाए।  सङ्घको सुरुवातमा सूर्यबहादुर भारद्वाज, शम्भुराम श्रेष्ठ, पुष्पलाल श्रेष्ठ, राजाराम कर्माचार्य, गोपाल वैद्य लगायत थिए। उनीहरू सबै भूमिगत नै थिए।

राजनीतिको नसाले नछाडे पनि  कंसाकारले व्यवस्थित भएर राजनीतिक दलमा लागेको भने देखिँदैन। उनले राजनीति र शैक्षिक विकासलाई सँगसँगै लगेको देखिन्छ।

पुस्तकालय प्रमुख छन् शरद कंसाका अनुसार पुस्तकालयमा ७ हजार भन्दा बढी ग्रन्थहरू छन्। नेपालका विभिन्न जातजाति, सम्प्रदाय सम्बन्धित दस्तावेजहरु छन्। उनी भारत र नेपाल आउने-जाने गरिरहन्थे। उनले मांसागल्लीमा प्रदीप्त पुस्तकालय स्थापना गरे भने पद्मोदय स्कुलमा शिक्षक पनि भए। त्यहाँ उनले अङ्ग्रेजी, भूगोल र नेपाल भाषा पढाउँथे।

राणाकालमा पुस्तकालय खोल्न पञ्चायतकाल भन्दा पनि कठिन थियो। पुस्तकालय खोल्न अनुमति लिनुपर्ने थियो। डाइरेक्टर जनरल अफ पब्लिक इन्सट्रक्सनमा अनुमति लिनुपर्ने भए पनि उनले पहिले पुस्तकालय खोले अनि मात्रै अनुमति लिन गए  प्रेमबहादुर।

एउटा चिठी तत्कालीन श्री ३ महाराज पद्म शमशेरलाई लेखेका थिए। अनुमति लिएर पुस्तकालय खोल्नुपर्नेमा पुस्तकालय खोलेर अझ तीर्थराज तुलाधरबाट उद्घाटन समेत गराएपछि राणा प्रधानमन्त्री रिसाउने नै भए। पद्य शमशेरले उनलाई दरबारमा बोलाएर छलफल गरे। अनुमति पाए।

पद्म शमशेरले चर्को आलोचनालाई मत्थर पार्न केही विद्यालयहरू खोलेका थिए। मुखले उनी शिक्षा नै महत्वपूर्ण कुरा हो भन्थे।  त्यसैको फाइदा उठाएर पुस्तकालय खोलेका थिए प्रेमबहादुरले। प्रेमबहादुर पुस्तकालय खोल्ने, पढाउनेका अतिरिक्त भित्र भित्रै राजनीतिमा पनि सक्रिय थिए। पछि उनी कम्युनिस्ट पार्टीहरूबाट प्रभावित भए।

प्रजातन्त्र आएपछि तत्कालीन सरकारसँग उनको मतभेद थियो। नेपाल जनवादी सङ्घ खोलेका थिए उनले। उनले सबै किसिमका विदेशी हस्तक्षेपलाई एकै लातमा थचक्क पारी देश  सरकार र ग्रैहसरकारी एकै बारमा खत्तम गर भन्ने नारा लेखे राँको पत्रिकामा। यही निहुँमा उनलाई गिरफ्तार गरियो। २०१८ देखि २०२२ सम्म चलेको भाषा आन्दोलनमा उनी सक्रिय भएर लागे।

अन्वेशणात्मक लेखन र क्रान्तिकारी राजनीतिक चेतले उनलाई पञ्चायतकालमा पनि छाडेन। त्यसैले त उनले विदेशीले महँगो मूल्य तिरेर लगेपछि बाँकी रहेका दस्ताबेज जोगाउनु पर्छ भनेर लागे।

अनि स्थापना भयो आशा सफूकुथि

२०३० साल भन्दा अघि देखि नै कंसाकारले दस्ताबेज सङ्कलन गर्न थालेका थिए। यस बिचमा उनले विश्व भाषा क्याम्पसमा पढाउँथे पनि। त्यही एक जना अमेरिकन विद्यार्थी थिए। इयान अल्सप नेपालमा बौद्ध धर्मको अनुसन्धान गर्न आएका थिए।

इयान कहिलेकाहीँ प्रेमबहादुर कंसकारको घरमा गइरहन्थे।  प्रेमबहादुरको घर गएको बेला इयानले पुराना दस्ताबेज हेर्न खोजे। दस्ताबेज बाकसमा हालेर राखिएको थियो।

इयानले खोजेको दस्ताबेज बडो दुख गरेर खोजेर दिए कंसाकारले। त्यति नै बेला इयानले कंसाकारलाई एउटा आइडिया दिए ‘जापानको टोयोटा फाउन्डेसनले पुराना सामानको सुरक्षामा काम गर्छ। त्योसँग सम्पर्क गर्नु।’

उनले सम्पर्क गरे। विक्रम संवत् २०४४ मंसिर २१ मा आशा सफूकुथि अर्थात् आशा ज्ञान भण्डार स्थापना भयो। प्राचीन वस्तु सङ्कलन गरेबापत गिरफ्तारीमा नै परेका कंसाकारको सपना पूरा भयो। जापानको टोयोटा फाउन्डेसनका कार्यकारी अध्यक्ष प्राध्यापक युजिरो हायासिबाट उद्घाटन गराइयो ।

अभिलेखालयलाई घरजग्गा किन्न, आवश्यक अन्य सामाग्री र पाण्डुलिपिहरूको अभिलेख राख्न तथा सुरुवाती काम सञ्चालन गर्न रकम पनि जुट्यो। त्यसको ३ वर्ष पछि प्रेमबहादुरको निधन भयो।

तर उनले स्थापना गरेको पुस्तकालय पनि अझै जीवित छ। यो संस्था नेवारी परम्परा अनुसार नै चलाइएको छ अहिलेसम्म। गुथी मार्फत संस्था चलेको  र तीन जना कर्मचारी रहेको शरद्ले बताए। 

पुरस्तकालयमा संरक्षित महत्वपूर्ण दस्तावेजहरु।जनस्तरबाट सङ्कलन गरेर चाहिएको बेला राज्यलाई अथवा व्यक्तिहरूलाई सामाग्री उपलब्ध गराउनु पर्ने प्रेम बहादुर कंसकारको योजना अनुसार नै संस्था चलेको शरदविक्रमको भनाइ छ।

उनले केही समय अघि भएको एउटा घटना सम्झिए :

स्वयम्भूमा रहेको स्तूप नजिकै रहेको प्रतापपुर र अनन्तपुर मन्दिर भत्किरहन्थ्यो। केही समय अघि चट्याङ लागेर त्यो भत्कियो। त्यो पुरानै संरचनामा बनाउनुपर्ने थियो। तर पुरातत्त्व विभागमा त्यसको नक्सा भेटिएन।

खोज्दै जाँदा कुथिमा भेटियो त्यसको पुरानो नक्सा। नक्सा फोटोकपी गरेर बुझाए उनले। जनस्तरमा छरिरहे रहने यस्ता दस्ताबेज जोगाउन सके त्यसले राज्यलाई नै सहयोग हुने कंसाकारको बुझाइ थियो। त्यसैले त उनले चुनौती स्विकारेरै भए पनि पुस्तकालय बनाए। स्थानीयको घरमा असुरक्षित रूपमा रहेका दस्ताबेजहरू सङ्कलन गरेर पुस्तकालयमा सुरक्षित राखे। र, प्रतापपुरको र अनन्तपुरको पुनर्निर्माणमा काम लाग्यो।

नेपालको कला, संस्कृति लगायतका पक्षमा अनुसन्धान गर्न चाहनेहरुका लागि अहिले कुथि महत्वपूर्ण स्रोत भइसकेको छ।

मंसिर २१, २०८१ शुक्रबार १६:५०:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।