लुम्बिनीविरुद्ध पोखराको १० विकेटको सानदार जित
काठमाडौँ : नेपाल प्रिमियर लिगको तेस्रो खेलमा दह्रो कम्ब्याक गर्दै पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई पराजित गर्यो। शुक्रवारको दोस्रो खेलमा दोस्रो ब्याटिङमा उत्रिएको पोखराले लुम्बिनीलाई १० विकेटले सानदार रूपमा जित्दै पहिलो र दोस्रो खेलमा खस्किएको रनरेट समेत रिकभर गरेको छ।
पहिलो ब्याटिङ गरेको लुम्बिनीले पोखरालाई पाँच विकेटको क्षतिमा एक सय ७० रनको चुनौती दिए पनि बलर पूर्ण रूपमा असफल हुँदा पोखराका दुई ओपनरले नै १० विकेटले खेल जिताए।
लुम्बिनीका क्याप्टेन रोहितले ९५ रन बनाए पनि जितका लागि काम लागेन। उनले ५९ बलमा १० चौका र चार छक्का हानेका थिए।
पोखराका लागि आन्द्रे गस एक्लैले एक सय चार रन हाने। उनले ५५ बलको सामना गर्दा १२ चौका र पाँच छक्का हानेका थिए। सागर दिनेश खरेलले समेत सहजै हाफ सेन्चुरी हान्न सफल भए। उनले ४६ बलमा चार छक्का र चार चौकासहित ६१ रन हाने।
पहिलो खेलमा पोखराले पाँच ओभरमा ६ विकेट गुमाएर सात रन बनाएको थियो। तेस्रो खेलमा उसले ६ ओभरमा कुनै विकेट नगुमाई ८० रन बनाएको थियो। ६ ओभरको समयमा टिमको रनरेट १३.३ थियो।
निरन्तर खेल हारिरहेको पोखरा शुक्रवारको जितसँगै अङ्क तालिकामा पाँचौँ नम्बरमा उक्लिएको छ। यस खेल अगाडिसम्म अन्तिम नम्बरमा थियो।
शुक्रवारको पहिलो खेलमा पनि निरन्तर दुई खेल गुमाएको कर्णाली याक्सले चितवनलाई हराएको थियो।
मंसिर २१, २०८१ शुक्रबार १६:०९:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।