बिहेको खबरले हैरान पल भन्छन्, ‘म आफैँ चकित छु’
काठमाडौं : केही दिनयता अभिनेता पल शाहको विवाहको चर्चा चुलिएको छ।
एमालेकी विद्यार्थी नेतृसँग माघमा लगनगाँठो कस्न लागेको खबरले अहिले सामाजिक सञ्जालदेखि टिकटकसम्म उनी चर्चामा छन्।
यसैबीच पलले आफ्नो विवाहको खबर मिडियाबाट थाहा पाएर आफैँ चकित परेको बताएका छन्।
बिहेको अग्रिम शुभकामना खाइरहेका पललाई अहिले दैनिक सयौं फोन आइरहेका छन्, विवाहबारे सोध्नका लागि। उनी मात्र हैन, उनका सहयोगी जुरी ठाकुर समेत फोन आएर हैरान रैछन्।
उनी भन्छन्, ‘पल दादाको बिहेको बारेमा सय भन्दा बढी कल आइसक्या छ। उहाँको बिहेको हल्ला भ्युज बढाउनका लागि हो। यसमा केही सत्यता छैन।’
बिहेबारे हल्ला फैलिएपछि उनले शुक्रबार यसबारेमा स्पष्ट पारेका छन्। पलले आफ्नो बिहेको कुराले आफै चकित भएको उल्लेख गरेका छन्।
पलले स्टाटस लेख्दै भनेका छन्, ‘मेरो बिहेको खबरले म आफैँ चकित छु। साथी भाइहरुले गर्नुभएको चिन्ता र चासोको कदर गर्दछु। तर यहाँहरूलाई स्पष्ट होस्, यो खबरमा कुनै सत्यता छैन।’
स्मरण रहोस्, नाबालिका बलात्कार आरोपमा १ वर्ष जेल बसेका पल अघिल्लो वर्ष छुटेका हुन्।
मंसिर २१, २०८१ शुक्रबार १२:५७:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।