एनपीएलमा कर्णालीको पहिलो जित
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले पहिलो जित निकालेको छ। शुक्रबार विहान भएको खेलमा कर्णालीले चितवन राइनोजविरुद्ध छ विकेटको जित निकालेको हो।
१३१ रनको लक्ष्य पछ्याएको कर्णालीले १९.५ ओभरमा चार विकेट गुमाएर लक्ष्य भेट्टायो। अन्तिम १२ बलम ११ रन चाहिएको अवस्थामा १९औं ओभर बलिङ गर्न आएका सोहेल नतवीरले छ बलमा मात्र दुई रन दिए।
त्यसपछि अन्तिम ओभरमा कर्णालीलाई ६ बलमा नौ रन आवश्यक भयो। पहिलो तीन बलमा अर्जुन बिटालुले दौडिएर दुई-दुई रन गर्दै छ रन जोडे। चौथो बलमा बिटालु रनआउट हुन पुगे।
पाँचौं बलमा स्ट्राइकमा आएका जीसान मक्सुदले रिजन ढकालको बलमा चौका प्रहार गर्दै टोलीलाई पहिलो जित दिलाए।
उसका लागि शिखर धवनले सर्वाधिक ४५ रन बनाउँदा चाडविक वाल्टनले ३०, देव खनालले २५ र अर्जुन बिटालुले १० रन जोडे।
त्यसका अलावा जीसान मक्सुदले अविजित रहँदै १२ रन जोडे। चितवनका लागि रवि बोपारा, लफ्टी इटन र कुशल मल्लले समान एक-एक विकेट लिए।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको चितवनले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३० रन बनायो।
उसका लागि रवि बोपाराले अर्धशतकीय पारी खेले। ४० बलको सामना गरेका उनले सात चौका र एक छक्काको मद्दतमा अविजित रहँदै ५९ रन जोडे।
त्यस अलावा कप्तान कुशल मल्ल २३ र विपिन रावल ११ रन बनाए। बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
कर्णालीका विपिन शर्माले तीन विकेट लिँदा जिसान मक्सुदले दुई विकेट तथा नन्दन यादव र सोमपाल कामीले समान एक-एक विकेट लिए।
जितसँगै कर्णालीले तीन खेलमा दुई अंक जोड्दै अंकतालिकाको चौथो स्थानमा चढ्दा पराजित चितवनले तीन खेलमा चार अंकसहित तेस्रो स्थानमा छ।
मंसिर २१, २०८१ शुक्रबार १२:३६:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।