७० लाखमा बनेको फिल्म ‘सानो संसार’को कमाई तीन लाख, निर्माताको हातमा एक लाख
काठमाडौं : नेपाली फिल्मका निर्माताहरू आफ्नो फिल्मको व्यापार सधैं डबल देखाउँछन्। उनीहरू आफूलाई आफ्नो फिल्मले जति व्यापार गरेको हो त्यति भन्न चाहँदैनन्। थोरै पैसा भनौं भने लाज पो हुन्छ कि भन्ने पनि होला। त्यसैले त चलचित्र विकास बोर्डले बक्स अफिस रिपोर्ट सार्वजनिक गर्दा लाजले मुख छोप्नु परेको अवस्थासम्म आइपर्छ कहिलेकाहीं।
तर, २ वर्षदेखि चलचित्र विकास बोर्डले फिल्मको व्यापार कलेक्सन सार्वजनिक गर्न सकेको छैन। फिल्मका निर्माता संघ र वितरकको डरले बोर्डका अध्यक्ष थरथर छन्।
अहिले फिल्मको व्यापारबारे बुझ्नका लागि उही फिल्मका निर्माता र वितरकलाई सोध्नुपर्ने बाध्यता छ। उनीहरुले फिल्मको व्यापार कति भयो भन्ने कुरामा ठ्याक्कै भन्दैनन्। तर फिल्म ‘सानो संसार’ निर्मातामध्ये एक माधव वाग्लेले आफ्नो फिल्मको कमाई एक लाख भएको बताएका छन्।
७० लाखमा निर्माण गरेको यो फिल्मको व्यापारबाट आफ्नो खातामा एक लाख आएको र भन्न पनि लाजमर्दो भएको तर्क गरेका छन्।
न्युज फिल्मीसँगको अन्तवार्तामा उनले आफ्नो फिल्म ‘सानो संसार’ले तीन लाख जतिको व्यापार गरेको र एक लाख खातामा आइसकेको बताए।
उनी भन्छन्, ‘मेरो फिल्मले तीन लाख जतिको व्यापार गरेको छ। एक लाख रुपैया खातामा जम्मा भएको छ। सत्तरी लाखको लगानी हो।’
तीन लाख न पत्याउने भो नी भन्ने प्रश्नमा उनी भन्छन्, ‘हो, ३ लाखको व्यापार गरेको हो। जे हो हो।’
फिल्म हलमा चल्नु भन्दाअघि उनले फिल्मको प्रिमियरमा सर्वाधिक कमाई गर्ने दाबी गरेका थिए। तर, फिल्मले ६७ लाख घाटा लगाएको उनले स्वीकार गरेका छन्।
फिल्म ‘सानो संसार’मा अर्जुन कुमारको र उनको लगानी रहेको छ। समीक्षात्मक हिसाबले राम्रो मानिएको यो फिल्मको पटक-पटक प्रदर्शन मिति सार्दै रिलिज गरिएको थियो। गत कात्तिक ९ देखि पुनःप्रदर्शनमा आएको यो फिल्मलाई असोज १२ मा पनि प्रदर्शन रोकिएको थियो।
सिद्धार्थ पुडासैनीको निर्देशन रहेको ’सानो संसार’ मध्यमवर्गीय परिवारको कथामा निर्माण भएको थियो। फिल्ममा सीतादेवी तिमल्सेना, राज पंगेनी शर्मा, अनु दाहाल, अञ्जसा रिजाल, शिशिर शिवाकोटी लगायतका कलाकारहरूको अभिनय रहेको छ।
मंसिर २०, २०८१ बिहीबार २२:०७:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।