उकेरा टप फाइभ : रविको ४७ दिने हिरासत बसाइको उपलब्धिदेखि लोक गायक बलबहादुरको हिजोको कुरासम्म
काठमाडौं : आज प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरेर स्वदेश फर्किएका छन्। चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा मङ्सिर १७ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन पुगेका उनी आज स्वदेश फर्किए।
स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा भारतको भ्रमण चाँडै एरेन्ज गर्ने बताए। सञ्चारकर्मीले उनलाई दक्षिणतिरबाट उत्तरतिर ढल्केको भन्ने आरोपबारे सोधेको प्रश्न पनि खण्डन गरे। उनले भ्रमणमा नेपाल-चीनको सम्बन्ध प्रगाढ बनाउने विषयमा चिनियाँ पक्षसँग सौहार्दपूर्ण कुराकानी भएको बताए।
आज नेपाल प्रिमियर लिग एनपिएलको पहिलो खेलमा जनकपुर बोल्ट्सले लगातार तेस्रो जित निकालेको छ। जनकपुरले पोखरा एभेन्जर्सलाई सात विकेटले पराजित गरेको हो। जारी प्रतियोगितामा पोखराको यो लगातार दोस्रो हार हो।
एनपिएलकै दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई ७३ रनले हराएको छ। सुदूरपश्चिम लगातार दोस्रो जितका साथ दोस्रो स्थानमा उक्लिएको छ। पराजित काठमाडौंको ३ खेलबाट २ अंक भएको छ।
आज विश्वको सबैभन्दा पुरानो, सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटकोइनको मूल्य पहिलोपटक एक लाख डलर नाघेको छ। १६ वर्षअघि सुरू भएको अभौतिक डिजिटल कारोबार एउटा बिटकोइनको मूल्य ६ अंकको पुगेको न्युयोर्क टाइम्सले जनाएको छ। क्रिप्टोकरेन्सीहरूमध्ये सबैभन्दा महंगो बिटकोइन बनेको छ। नेपाली मूल्यअनुसार एउटा बिटकोइनको मूल्य एक करोड ३५ लाख बढी पर्ने भएको हो।
भारतीय गुन्डा नाइके लेरेन्स विश्नोईको नाम लिएर व्यवसायीहरूलाई धम्क्याएको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुरोधमा काठमाडौं जिल्ला अदालतबाट प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी भएसँगै सीआईबीले प्रसाईंलाई बयानका लागि बोलाउने तयारी गरेको सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले बताए।
फ्रान्सका प्रधानमन्त्री मिचेल बार्नियरले संसदमा अविश्वासको प्रस्तावविरूद्ध बहुमत पुष्टि गर्न नसकेपछि राजीनामा दिएका छन्। उनी बिहीबार इमानुएल म्याक्रोँलाई भेटी राजीनामा दिएको भएपनि उनलाई अर्को व्यवस्था नभएसम्म कामचलाउ प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्न राष्ट्रपति म्याक्रोँले आग्रह गरे।
अब आज उकेरामा प्रकाशित टप पाँच समाचार:
उनी हरेक दिनजसो फलफूल र तरकारी किन्न पश्चिम सुर्खेतका लगाम, बेतान, बिजौरा, जामु, चउर, सालकोट लगायतका ठाउँमा जान्छन्। त्यहाँबाट सिधै कृषकसँग किन्छन्। सबै खर्च कटाएर उनलाई मासिक ६० देखि ७० हजारसम्म खुद नाफा हुन्छ। यो समाचार हो, पञ्चपुरी नगरपालिका-६ का प्रकाश कँडेलको।
पूरा समाचार: १३ वर्षदेखि स्थानीय उत्पादनलाई नै प्राथमिकता दिएका प्रकाश
बलबहादुर परियार पुराना लोक गायक तथा अवकाश प्राप्त नेपाल आर्मी हुन्। दरबार टेक्ने परिवारकै पहिलो व्यक्ति भएकाले उनी गौरवान्वित महसुस गर्छन् उनी। त्यतिबेला राज्यबाट पाइने सम्मानको साख नै धेरै ठूलो भएको महसुस गर्छन् उनी। जीवनको ५७औं बसन्त पार गरिसक्दा जीवनमा भोगेका व्यक्तिगत र पेशागत अनुभव उनले उकेराको कोलम ‘हिजोका कुरा’मा सुनाएका छन्।
पूरा समाचार: लोक गायक बलबहादुरको हिजोको कुरा : रेडियो नेपालमा गाएको गीत हिट भएपछि गाउँमा हेर्ने नजर बदलियो, तँ भन्नेहरू तपाईँ भन्न थाले
नेपाल प्रिमियर लिगको आयोजक क्रिकेट एशोसियन अफ नेपाल र तीन फ्रेन्चाइज टिमले त्रिवि क्रिकेट मैदानमा गरिरहेको अनलाइन जुवा र सट्टा खेलाउने कम्पनीको प्रचार रोक्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडौँ र युवा तथा खेलकुद मन्त्रालयलाई पत्र पठाएको छ।एनपिएलमा सहभागी आठ टिममध्ये लुम्बिनी लायन्स, विराटनगर र सुदूरपश्चिमले पनि जर्सीमा जुवा खेलाउने कम्पनीको सरोगेट ब्रान्डको लोगो राखेर प्रचार गरिरहेको छ।
पूरा समाचार: एनपिएलमा जुवाको प्रचार रोक्न गृहले काठमाडौँ सिडिओलाई पत्र काट्यो, राखेप भन्छ ‘क्यानलाई सोध्छौँ’
सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने अहिलेसम्म बयानका लागिमात्रै चार वटा जिल्ला पुगिसकेका छन्। कात्तिक २ मा काठमाडौंबाट पक्राउ परेका रविले यो ४७ दिनमा चार जिल्ला पुगेर बयान दिनेक्रम अझै सकिएको छैन। सबैजसो स्थानमा बयान दिँदा उनले आफूमाथि लगाइएका सबै आरोपहरू अस्विकार गर्दै आएका छन्। तर, यसबीचमा सूर्यदर्शन सहकारी र बुटवलको सुप्रिम सहकारीको अनुसन्धान गर्नेक्रममा ती दुबै सहकारीलाई रविको हस्ताक्षर रहेको चेक बुझाएको र त्यसको प्रतिलिपि फेला परेको कास्की प्रहरी स्रोतले उकेरालाई बतायो।
पूरा समाचार: रवि लामिछाने : ४७ दिनमा बयानका लागि ४ जिल्ला पुगे, हस्ताक्षरसहितको चेक भेटिँदा पनि अस्विकार गरिरहे
अहिले विपक्षी दलको सक्रिय भूमिकाबाट दक्षिण कोरियालाई अन्धकारबाट जोगाएको चर्चा भइरहेको छ। सांसद र आमजनताको चर्को दबाबपछि त्यहाँका राष्ट्रपति युन सुक येओलयुनले टेलिभिजनबाट मार्सल ल फिर्ता लिएको घोषणा गरे। उनको सैनिक शासन ६ घण्टा पनि टिकेन।
पूरा समाचार: दक्षिण कोरियामा संसद्को प्रतिपक्षले बचाइदिएको लोकतन्त्र
मंसिर २०, २०८१ बिहीबार २१:५७:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।