एनपिएल : दोस्रो खेलमा पनि लयमा फर्कन सकेन पोखरा, लङसट खेल्ने चक्करमा काठमाडौँले पुरा ओभर खेल्न पाएन

एनपिएल : दोस्रो खेलमा पनि लयमा फर्कन सकेन पोखरा, लङसट खेल्ने चक्करमा काठमाडौँले पुरा ओभर खेल्न पाएन
तस्बिर : नेपाल प्रिमियर लिग।

काठमाडौँ : सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग(एनपिएल) को पहिलो खेलमा टिमै कोल्याप्स भएको पोखरा एभेन्जर्सका लागि बिहीबार जनकपुर बोल्ट्सलाई हराउन जरुरी थियो। पाँच ओवरमा छ विकेट गुमाएर जम्मा सात रन मात्र बनाएको जस्तो निरीह अवस्था बिहीबार भएन।

पोखरा एभेन्जर्सले १ सय ३९ रनको लक्ष्य दियो। तर जनकपुरका ब्याटरलाई रोक्न सकेनन् पोखराका बलरले। अनि जनकपुरका ब्याटरले १७.१ ओभरमा ३ विकेट गुमाएर सहजै जितको लक्ष्य पुरा गर्यो।

बिहीबारको खेलमा पोखराका न ब्याटर चल्न सके, न बलर नै। फिल्डिङमा समेत निकै कमजोर देखियो टिम। पहिलो ब्याटिङबाट मध्यम चुनौती दिएको टिमले कसिलो बलिङ र फिल्डिङबाट टिमलाई दबाबमा राख्न सकेको भए नतिजा फरक आउन पनि सक्थ्यो। तर सकेनन्। हातैमा आएको बल समेत समात्न सकेनन्। विकेट किपर निकै कमजोर देखिए।

उता जनकपुरको टोली बलिङ, ब्याटिङ अनि फिल्डिङ तीनै पक्षमा पोखराभन्दा बलियो देखियो। बलिङमा उत्रिएको उसले प्रारम्भमा पोखराका ब्याटरलाई खुलेर खेल्ने मौका दिएनन्। जसको नतिजा पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रन बनायो।

पोखराका म्याट क्रिचलेले सर्वाधिक ३५ रन बनाएका थिए। उनले ३० बलको सामना गर्दै ३ चौका र १ छक्का प्रहार गरेका थिए। ओपनर आन्द्रस गौसले १६ बलमा ३ चौका र १ छक्काको सहयोगमा २० रन बनाए।

माइकल लिस्कले १३ बलमा ३ छक्काको सहयोगमा २५ रन जोडेका थिए। राइमन राइफरले २० बलमा १७ रन बनाए। यी सबै खेलाडी क्याच आउट भएका थिए।

कप्तान कुशल ब्याटिङमा जम्न सकेनन्। उनले ६ बलमा १ चौकासहित ६ रन मात्र जोडे। दिलीप नाथ १४ बलमा ११ रन जोड्दै आउट भए।

जनकपुरका लागि ललितले ३, जिमी निशमले २ तथा मोहम्मद मोहसिन र किशोर महतोले समान १-१ विकेट लिएका थिए।

तेस्रो जितका लागि ब्याटिङ गर्न मैदानमा उत्रिएको जनकपुरका खेलाडी प्रेसरमा देखिएनन्। जनकपुरका लाहिरु मिलन्थाले ३२ बलमा ८ चौकाको सहायतामा सर्वाधिक ४५ रन बनाएर टिमलाई तेस्रो जितका लागि निकै सहज बनाए।

अर्का ब्याटर जिमी निशमले २० बलमा ५ छक्का हान्दै ४० रन जोडेर नट आउट रहे। हर्ष ठाकरले १४ बलमा १ चौकासहित १३ रन बनाएर नट आउट रहे।

आसिफ शेखले ३३, कप्तान अनिलकुमार शाहले ३ बलमा १ रन मात्र बनाए। पोखराका माइकल लिस्क, कुशल भुर्तेल र विपिन खत्रीले समान १-१ विकेट लिएका थिए।

सुदूरपश्चिम रोयल्सको गति रोक्न असफल भयो काठमाडौँ

बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सलाई हराएर लिगमा दोस्रो जित निकाल्न मैदानमा उत्रिएको काठमाडौँ गुर्खाजका खेलाडी सफल भएनन्। सुदूरपश्चिमले काठमाडौँलाई प्रतिस्पर्धात्मक पनि हैन, सहजै ७३ रनको फराकिलो अन्तरले हरायो।

प्रारम्भमा ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १ सय ६८ रनको चुनौती दिएको थियो। काठमाडौँको ब्याटरहरुले पुरै ओभर पनि खेल्न पाएनन्। १५.५ ओभरमै सबै खेलाडी गुमाएर जम्मा ९४ रन मात्र बनाउन सके।

काठमाडौँलाई दोस्रो जित दिलाउन मैदानमा उत्रिएका स्टेफन स्किनाजीले सर्वाधिक ३७ रन बनाएका थिए। उनले ३३ बलको सामना गर्दा ५ चौका र १ छक्का हानेका थिए।

सुमित महर्जनले १४, भीम सार्की १०, जेहार्ड एरास्मस १०, रन बनाए। दबाबमा रहेको टिमका कप्तान करण केसी सम्हालिनुको साटो ठुलो सट खेल्ने प्रयासमा नरेन साउदको बलमा आउट भएका थिए।

सुदूरपश्चिमका नरेन साउदले ४ ओभरमा १९ रन खर्चिएर ५ विकेट लिनु नै काठमाडौँको हारको महत्त्वपूर्ण कारक बन्यो। अभिनास बोहोराले २ विकेट लिए। ब्रन्डन म्याकमुलन र सेफ जैबले समान १-१ विकेट लिएका थिए।

टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो।

सुदूरपश्चिमका लागि ब्रेन्डन मक्मेलनले सर्वाधिक ५३ रन बनाएका थिए। उनले जमेमा ३६ बलको सामना गर्दा ३ चौका र ४ छक्का प्रहार गरेका थिए।

विनोद भण्डारी ३५ रन बनाएर आउट भएका थिए। दीपेन्द्रसिंह ऐरीले २५ बलमा ३ चौका र २ छक्कासहित ४३ रन बनाए। सेफ जैबले ९ बलमा ११ रन जोडे। रोहन मुस्ताफले ७ बलमा ४ रन जोडे। आरिफ शेख ३ रन बनाउँदै आउट भएका थिए।

काठमाडौँका राशिद खानले २ तथा करण केसी, जेहार्ड एरास्मस र साहब आलमले समान १-१ विकेट लिएका थिए।

जनकपुर शीर्ष स्थानमासुदूरपश्चिम दोस्रोमा

बिहीबारको खेल जितेसँगै जनकपुर अङ्क तालिकामा ६ अङ्कसहित पहिलो नम्बरमा पुगेको छ। जनकपुरले विराटनगर किंग्स र कर्णाली याक्सलाई पराजित गरेको थियो। सुदूरपश्चिम पनि लगातार दोस्रो जित निकाल्दै अङ्क तालिकामा दोस्रो स्थानमा उक्लियो।

काठमाडौँको ३ खेलमा जम्मा एक खेल मात्र जितेर २ अङ्क पाएको छ। पोखरा एभेन्जर्सले चितवन राइनोजसँगको पहिलो खेल ८७ रनको अन्तरले गुमाएको थियो। दोस्रो खेल सात विकेटले गुमायो। यसले पोखरा र काठमाडौँका लागि प्लेअफमा पुग्न आगामी खेलहरू जित्नुपर्ने दबाब बढेको छ।

मंसिर २०, २०८१ बिहीबार २१:३७:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।